२९ मंसिर, विराटनगर । पार्टीको प्रदेश १ समितिको अध्यक्ष टुंग्याउन नेकपा माओवादी केन्द्रले कार्यदल गठन गरेको छ ।
अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँगीले दाबी नछाडेपछि बुधबार बसेको प्रदेश समितिको बैठकले केन्द्रीय सदस्य तथा प्रदेश-१ का सहइन्चार्ज अजम्बर काङमाङ राईको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी छन् ।
मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले पदाधिकारी टुंगो नलगाई प्रदेश समितिका सदस्य मात्र चयन गरेको थियो । यसअघि प्रदेश १ समितिको अध्यक्षमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दावी गरेका थिए । बुधबार बसेको प्रदेश समितिको बैठकमा तीन जनाले नै अध्यक्षको दावी छाडेका माओवादी केन्द्रका एक नेताले बताए ।
तर नेम्वाङ, मेन्याङ्बो र डाँगीले दावी नछाडेपछि कार्यदल बनाइएको हो । सहमतिमा नाम टुङ्गो लगाउने जिम्मा पाएको कार्यदलले पुस ७ गते बस्ने बैठकमा प्रस्ताव पेश गर्नेछ ।
प्रतिक्रिया 4