२ पुष, काठमाडौं । बूढानीलकण्ठ हात्तीगौंडास्थित यूरो स्कुलमा विद्यार्थीलाई खुवाएको पाउरोटी लेबलिङ नगरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
यूरो स्कुलका ४० भन्दाबढी बालबालिकामा झाडाबान्ताको समस्या देखिएको समाचार र अभिभावकको गुनासो आएपछि अनुगमनमा जाँदा यस्तो पाइएको खाद्य निरीक्षक बिजन श्रेष्ठले जानकारी दिए । उनले भने ‘समाचार र अभिभावकको गुनासो आएपछि अनुगमनमा जाँदा लेबलिङ नगरेको पाउरोटी विद्यार्थीलाई खुवाएको पाइयो । पानीमा पनि शंका लागेर नमुना परीक्षणको लागि लिएर आएका छौं ।’
बालबालिकाले पिउने पानी विद्यालय आफैंले शुद्घिकरण गर्ने गरेको र शुद्घिकरण गर्ने प्रक्रियामा शंका लागेर नमुना परीक्षणको लागि ल्याइएको निरीक्षक श्रेष्ठले बताए । नमुना प्रयोगशालामा पठाइसकिएको र नतिजा आउन केही दिन लाग्ने बताए ।
विद्यालयलाई लेबल बिनाको खानेकुरा नपकाउन अथवा नदिनको लागि निर्देशन विभागले दिएको छ । अरु किचनको सरसफाई, पकाउने, दिने व्यक्तिहरुको सरसफाई भने ठिक रहेको पाइएको विभागले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले केही विद्यालयका विद्यार्थीमा झाडाबान्ताको समस्या देखा परेको गुनासो आएपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंबाट स्वास्थ्यकर्मी परिचलान भइसकेको जानकारी दिए ।
प्रतिक्रिया 4