३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हालसम्म धेरै गोल गर्ने खेलाडीको सूचीमा यस्ता खेलाडी छन्, जो स्ट्राइकर होइनन् । तीन खेलमा एक-एक गोल गरेका उनी खेल आफ्नो पक्षमा पार्न निर्णायकसमेत बनेका छन् । उनी हुन् संकटा क्लबका निरज बस्नेत ।
खेलमा प्राय स्ट्राइकरले गोल गर्छन् वा गोल गर्न सक्ने खेलाडीलाई अग्रपंक्तिमा खेलाइन्छ । तर निरज डिफेण्डर हुन् । हुनत उनको मुख्य काम विपक्षीको प्रहार रोक्नु र गोल गर्न नदिनु हो । तर निरज अवसर पाउँदा अगाडि बढेर गोल गर्न माहिर छन् ।
संकटाले दुई खेल जित्दा निरजले गोल गरे । फ्रेण्ड्सविरुद्ध एक गोलले पछि पर्दा निरजकै गोलबाट संकटाले खेल बराबरी गर्यो । पछि फोडे फोफानाले गोल गर्दै संकटालाई २-१ को पुनरागमन जित दिलाए । यस्तै मनाङ मर्स्याङ्दीविरुद्ध २-२ को बराबरी भएको खेलमा निरजले नै पहिले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।
चौथो खेलमा संकटाले नेपाल पुलिस क्लबको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै १-० को नतिजा निकाल्यो । त्यसमा पनि निरजले नै निर्णायक गोल गरे । निरजलाई तीनवटै गोलका लागि मिडफिल्डर लक्ष्मण रुचालले सहयोग गरे ।
संकटाले लिगको पहिलो खेलमा हिमालयन शेर्पासंग १-१ को बराबरी खेल्दा गोल गर्ने उनै लक्ष्मण थिए । उनी जारी शहीद स्मारक ए डिभिजन लिगमा गोल गर्ने पहिलो खेलाडी पनि हुन् । अनि निरजले पुलिसविरुद्ध गरेको गोल लिगको ५० औं गोल हो ।
चार खेल सकिँदा निरजको उपलब्धी हो, ३ गोल अनि २ म्यान अफ दि म्याच अवार्ड । क्लबका पूर्व खेलाडी विष्णु गुरुङको प्रशिक्षणमा लिग खेलिरहेको संकटाका लागि निरज संकटमोचकको रुपमा समेत देखिदै आएका छन् । संकटाले लिगमा ६ गोल गर्दा आधा गोल निरजकै नाममा छ । उनले यस्तो समयमा गोल गरेका छन् जसले क्लबलाई अंक दिलाउन नै भूमिका खेलेको छ ।
क्लबको संकट टार्न मद्दत गर्न सकेकामा निरज खुशी छन् । ‘कहिलेकाहीँ फरवार्डहरुको दिन लागेको हुँदैन फरवार्डहरुले गोल नगर्दाखेरि डिफेण्डरले गोल गर्छ भने टीम नै मोटिभेट हुन्छ’ निरजले अनलाइनखबरसंग भने, ‘कदम राम्रो भइराछ । सबै जना मोटिभेट भएका छन् ।’
पुलिसविरुद्ध उत्कृष्ट गोल
चौथो चरणमा खेल्नुअघि संकटा र पुलिस एउटै स्थितिमा थिए । दुवैले एक जित र दुई बराबरीबाट समान ५ अंक जोडेका थिए । यस्तोमा हार्ने क्लबको अपराजित यात्रा सकिने थियो । त्यसमा संकटा सफल भयो र लगातार चार खेलमा अपराजित रहने चार क्लबभित्र पर्यो । मछिन्द्रसँगको खेल गोलरहित बराबरीमा रोकेपछि संकटा पाँचौं खेलसम्म अपराजित छ ।
संकटालाई लिगमा दोस्रो जित दिलाउन एकमात्र गोल पुलिसविरुद्ध उनै निरजले गरे । खेलको १८ औं मिनेटमा प्राप्त कर्नरमा लक्ष्मण रुचालको प्रहारलाई पेनाल्टी बक्समा रहेका निरजले डाइभिङ हेड मार्फत पोष्टको दिशा दिए । त्यस गोलपछि उनको सेलेब्रेसन समेत हेर्नलायक थियो । त्यही गोलले संङ्कटाले ३ अंक जोड्न सफल भयो ।
जारी लिगमा लक्ष्मण र निरजको कम्बिनेसन पनि गज्जब मिलेको देखिन्छ । निरज भन्छन्, ‘दुई जना सँगै खेलेको लिगमा यही पटक हो । गोल्ड कपहरुमा धेरैपटक संगै खेलेका छौं ।’
संकटा टु संकटा
२६ वर्षीय निरज यसै सिजन हिमालयन शेर्पाबाट संकटामा आएका हुन् । उनले दुई वर्षअघिको ए डिभिजन लिग हिमालयन शेर्पा क्लबबाट खेलेका थिए ।
खासमा निरजले ०६९ सालमा संकटा क्लबबाटै ए डिभिजन लिगमा डेब्यु गरेका थिए । ७ वर्षपछि क्लब फर्किएका उनी भन्छन्, ‘यहाँकाे व्यवस्थापन चिनेकै छन्, उहाँहरुले सहयोग पनि गर्नुभएको छ ।’
उनले २०७१ को राष्ट्रिय लिग मोरङबाट खेलेका थिए । त्यसपछि उनले २०७५ र ०७६ को दुई सिजन हिमालयन शेर्पाबाट लिग खेले । यसअवधिमा थ्रीस्टार र अन्य क्लबहरुबाट पनि गोल्डकपहरु खेले ।
निरजले गत वैशाख-जेठमा भएको नेपाल सुपर लिग (एनएसएल) ललितपुर सिटी एफसीबाट खेलेका थिए । त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा परेका उनी अन्तिम टोलीमा भने पर्न सकेनन् ।
निरजले उमेर समूहमा यू-१९ र यू-२३ राष्ट्रिय टिमबाट भने खेलेका छन् । सन् २०१८ को एएफसी यू-२३ एसियन कप छनोटमा उनले उज्वेकिस्तानविरुद्ध एक खेल खेलेका थिए । ‘यू-१९ र यू-२३ राष्ट्रिय टिममा थिएँ । तर चोटले गर्दा धेरै खेल खेल्न भने पाइनँ’ निरजले राष्ट्रिय टीमबाट खेल्ने लक्ष्य राखेका छन् ।
मोरङ उर्लाबारीका निरज दबावबिना खेल्छन् र खेलमा सक्दो राम्रो गर्छन् । ‘म जुन टीममा भएपनि मेरो शतप्रतिशत दिने प्रयास गर्छु’ उनले भने । खेलकुदमा परिवारको पनि साथ र समर्थन पाएको निरज बताउँछन् ।
नयाँ प्रशिक्षक र लिगमा लक्ष्य
जारी लिगमा साविक विजेता मछिन्द्र, मनाङ, आर्मीसँगै संकटा पनि अपराजित छ । संकटालाई अपराजित राख्न मास्टरमाइन्डको काम प्रशिक्षक विष्णु गुरुङले गरिरहेका छन् । उनले यही सिजनबाटै लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरेका हुन् ।
स्टार खेलाडी नभएपनि संकटाले राम्रो प्रदर्शन गरिरहेको छ । निरज पनि नयाँ प्रशिक्षकको शैलीबाट प्रभावित छन् । ‘उहाँ एकदमै मोटिभेटेड हुनुहुन्छ । उहाँको खेलाउने शैली नै फरक पाएको छु । उहाँको एउटा स्ट्यान्डर्ड सेट गर्ने बानी छ । खेल हार जित हुन्छ । तर लिगको दौरान कहिले पनि हार्दा डिमोरलाइज्ड नहुने र जित्दा ओभर कन्फिडेन्स नहुने भन्ने छ’ उनले भने ।
प्रशिक्षक, खेलाडी र व्यवस्थापनबीचको आपसी समझदारीले नै संकटाको प्रदर्शन राम्रो हुँदै गएको छ । यसवर्ष शीर्ष तीन टोलीभित्र पर्ने संकटाको लक्ष्य छ । ‘हाम्रो मुख्य टार्गेट टपथ्री मा पुग्ने हो । गेम हो तल माथि हुन सक्छ’ निरजले भने ।
प्रतिक्रिया 4