६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित रुपा महर्जनले आफूहरूले पार्टी नेतृत्व चयनमा टीके प्रथा तोडेको बताएकी छन् ।
सोमबार राति सम्पन्न निर्वाचनमा लोकप्रिय मत ल्याएर उपाध्यक्षमा निर्वाचित महर्जनले नेतृत्व चयन गर्दा आन्तरिक निर्वाचन पनि आवश्यक छ भन्ने पुष्टि गर्न सकेको बताइन् ।
‘टीका लगाउने प्रथाबाट हामी अगाडि बढ्यौं भने समस्या कहिल्यै हल हुन सक्दैन । नेताहरूले आफ्नो खल्तीबाट मान्छे ल्याउने र अगाडि सार्ने भएपछि सधैंभर पार्टी पेण्डुलममा बस्ने, बन्धक बन्ने अवस्था थियो । त्यसलाई क्रस गर्नकै लागि भए पनि निर्वाचन जरुरी छ भन्ने पुष्टि भयो’ उनले अनलाइनखबरसँग भनिन् ।
माओवादी केन्द्रको बागमती प्रदेश अधिवेशनबाट प्रदेश समितिका सदस्यहरु चयन भए पनि पदाधिकारी चयनमा सहमति नजुटेपछि सोमबार राति निर्वाचन गरिएको थियो । महर्जनले लोकप्रिय मतसहित उपाध्यक्षमा निर्वाचित भएकी हुन् । निर्वाचनमा २७५ मतदातामध्ये २६१ मत खसेको थियो । महर्जन १७८ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनी भन्छिन्, ‘स्वतन्त्र रुपमा कार्यकर्ताले पनि सक्षम नेतृत्व चुन्दा रहेछन् भन्ने यो उदाहरण हो । यो एउटा परिणाम हो ।’
चुनाव नभएको भए आफू उपाध्यक्ष हुनेमा उनी ढुक्क थिइनन् । महर्जनले थपिन्, ‘मेरै सवालमा मैलै कहीँ कतै लबिङ गरेको थिइन । तर, आखिरमा मतदाताले सबैको मुल्याङ्कन गर्ने रहेछन् । त्यसको उचित परिणाम आयो ।’
अब पार्टीभित्र निर्वाचन विधि कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिनुपर्ने उनी बताउँछिन् । सबैको समान सहभागिताका लागि प्रत्यक्ष र समानुपातिक वा मनोनितको अंश ६०-४० बनाउने विषयमा छलफल गर्ने महर्जन बताउँछिन् ।
‘हामी अधिकारका कुरा गर्ने गर्छौं, सबैका समानुपातिक सहभागिताको कुरा गर्छौं तर, आफैंमा जब कार्यान्वयनमा पुग्छौं त्यतिबेला चुक्ने रहेछौं’ उनी भन्छिन् ।
आफूसँग जोडिएका नेता कार्यकर्तालाई कहाँ सेटिङ गर्न सक्छु भन्ने सोचका कारण पार्टी बिग्रेको भन्दै उनले भनिन् ‘तर, आन्तरिक चुनावी अभ्यास सुरू भएपछि अब पार्टी बन्छ कि हेरौं ।’
प्रतिक्रिया 4