८ पुस, डोटी । सिलगढी–झिग्राना सडकको छेउमा रहेको बग्लेकको चौरमा करीव एक सय जना स्थानीयबासी जम्मा भएका छन् । पुस्तौंदेखिको निराशाभित्र थोरै आश बोकेर उपस्थित भएका छन् कपाल सेताम्यै भएका पाका, युवा अनि बालबालिका ।
चौरमा टुसुक्क बसेका ती अनुहारका अगाडि एउटा सोफा र केही प्लाष्टिकका कुर्ची राखिएका छन् । सोफामा बसेका छन् सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट । उनीसँगै प्लाष्टिकको कुर्चीमा छिन् प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, प्रदेश सभा सामाजिक विकास समितिका सभापति कुन्ती जोशी र केही माओवादी केन्द्रका नेताहरु ।
कालोपत्रे हुँदै गरेको सिलगढी–झिग्राना सडकको अनुगमनका लागि मुख्यमन्त्री भट्टको टोली बग्लेक पुगेको थियो । स्थानीयबासीले फूलमाला पहिराएर मुख्यमन्त्रीको स्वागत गरे । भिडको बीचमा एक पाको अनुहार उभियो । त्यो अनुहारमा थिए, साविकको बग्लेक गाविसका अध्यक्ष चामा साउद । उनले मुख्यमन्त्री नजिकै पुगेर वेदना सुनाए, ‘पुस्तौंदेखि हामीले चलनभोग गर्दै आएको जमिनको हामीसंग लालपुर्जा छैन, मुख्यमन्त्रीज्यूले हामीलाई लालपुर्जा दिलाइदिनु पर्यो ।’
उनको मागलाई समर्थन गर्दै अरु सहभागीले ताली बजाए । स्थानीयबासीको तर्फबाट भन्दै माओवादीको स्थानीय कमिटीले पनि मुख्यमन्त्रीलाई ज्ञापन पत्र पनि बुझायो ।
मुख्यमन्त्री भट्टले स्थानीयबासीहरुलाई लालपूर्जा पाउने आश्वासन दिए । ‘यहाँको समस्या (लालपुर्जा सम्वन्धी) विगतमा पनि थाहा नपाएको, नसुनेको, नबुझेको हैन, तर विविध कारणले तपाईंहरुको समस्या समाधान गर्न सकिएन’ मुख्यमन्त्री भट्टले भने ‘अब यो समस्या समाधानका लागि हामी छलफल चलाइरहेका छौं, प्रदेश सरकार तपाईहरुको साथमा छ ।’
उनले भूमि सम्बन्धी अधिकार केन्द्र सरकारलाई भएको र केन्द्रमा पनि माओवादी केन्द्र सरकारमा रहेको भन्दै समस्या समाधान हुने आशा देखाए । ‘जग्गाको चलनभोग मात्रै होइन, तपाईंहरुको हातहातमा लालपुर्जा हुनुपर्छ ।’ केही दिनअघि काठमाडौं जाँदा मन्त्रीसँग कुरा गरेको र फेरि काठमाडौं गएर काम पूरा गर्ने उनले आश्वासन दिए ।
२०३४ सालमा तत्कालीन राजा वीरेन्द्रबाट समेत आश्वासन पाएका पाका अनुहारमा भने मुख्यमन्त्रीको आश्वासनले कुनै परिवर्तन आएन । ‘यही चौरमा राजाको हेलिकप्टर बसेको थियो’ चामा साउद भन्छन् ‘राजाबाट यिनीहरुको जग्गासम्वन्धी मुद्धा दोहोर्याएर हेर्नु भनेर आदेश बक्सेको हो, तर हामीले जग्गा पाएनौं ।’ मुख्यमन्त्री भट्टले चुनावी भाषण शैलीमा दिएको आश्वासन सजिलै पूरा हुनेमा उनीहरु विश्वस्त छैनन् ।
के हो खास समस्या ?
पूर्वीचौकी गाउँपालिका–२ (साविकको बग्लेक गाविस–६ र ७) रिखडाका करीव तीन सय परिवारसंग आफ्नै घर र जमिन छ । जमिनमा अन्नबाली, तरकारी खेती, फलफुल लगाएर उनीहरु दैनिक गुजरा गरिरहेका छन् तर उनीहरुसंग त्यो घर र जमिन आफ्नो हो भन्ने कुनै कानुनी आधार छैन ।
पुर्ख्यौली पेशा कृषिमै रहेका उनीहरु जमिनको मालिक भने होइनन् । साविकको खातिवाडा गाबिसको मछुन्तोलाबाट बसाई सरी बग्लेक आएका उनीहरु यहाँ बसोवास गरेको सात पुस्ता भयो ।
‘हाम्रा पुर्खाहरुले फुलौटी खड्कालाई रिखडा र पौंठेगडाको बाँझो जमिन मागे । उनीहरुको घरमा काम गरिदनुपर्ने सर्तमा हाम्रा पुर्खाहरुले उक्त जमिन पाएका थिए’ एक स्थानीयले भने ‘उहिलेदेखि नै हामीहरु जग्गाविहीन बन्न पुगेका छौं ।’ पुर्खाहरुले यहाँको जग्गा पाएपछि मछुन्तोलाको जग्गा छोडिदिएकाले आफूहरु यता न उताको भएको उनीहरुको भनाइ छ ।
पञ्चायत कालमा आफूहरुले जग्गाको पोत बुझाएको तर २०२२ सालमा भुमिसुधार लागु भइसकेपछि फुलौटका प्रेम सिं खड्काले स्थानीयसँग रसिद फिर्ता लगेकाले केही प्रमाण बाँकी नरहेको स्थानीयको भनाइ छ ।
जग्गासम्बन्धी विवादमा मुद्दा हारेपछि २०३४ माघ १४ गते तत्कालीन राजा वीरेन्द्र सुदूरपश्चिम आउँदा जमिन दिलाइदिन स्थानीयले बिन्ती पत्रसमेत चढाएका थिए । स्थानीयका अनुसार राजाबाट मुद्धा दोहोर्याइ हेर्नू भन्ने आदेश दिएका थिए ।
उनीहरुका अनुसार २०४३ सालमा सो जग्गा रिखडावासीका नाममा नापनक्सा पनि भइसकेको छ । तर मालपोत कार्यालयले उनीहरुलाई लालपुर्जा उपलव्ध गराइरहेको छैन । स्थानीयको माग छ ‘कि लालपुर्जा दिनुपर्यो, नभए अर्को ठाउँमा जग्गा दिनुपर्यो ।’ फुलौटी खड्कालाई लालपुर्जा दिलाइदिनु पर्यो भनेर आग्रह गर्दा नमानेको र मालपोत कार्यालयले फुलौटी खड्कासंग सहमति गरेर आउन भनेको स्थानीयको भनाइ छ ।
त्यस जग्गाको नापी रिखाडी साउदका नाममा भएपनि साविक मोठ फुलौटी खड्काका नाममा भएका कारण दर्ता गर्न कठिनाइ भएको मालपोत कार्यालय डोटीले जानकारी दिएको छ । २०४३ सालको नापी अनुसार फिल्डबुकमा साउद, ठकुल्ला, कामी, कोली दमाइ र सिर्मालको नाममा नापनक्सा भएको नापी कार्यालय डोटीले बताएको छ ।
प्रतिक्रिया 4