८ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई लक्षित गरी सञ्चालन हुने फाइजर खोप अभियान अनिश्चित बनेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १३ गतेदेखि ८ जिल्लाका १२–१७ वर्षका बालबालिकालाई लक्षित गरी फाइजर खोप अभियान सञ्चालन गर्ने सूचना जारी गरेको थियो ।
खोपमा प्रयोग हुने घोलक पदार्थ र सिरिन्ज आउनमा ढिलाइ हुँदा खोप अभियान अनिश्चित बनेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार फाइजर खोप शुक्रबार आउँदैछ भने घोलक पदार्थ पुस १४ गते आउने तय भएको छ । तर सिरिञ्ज आउने मिति भने अनिश्चित छ ।
थापाका अनुसार खोप हवाई मार्ग भएर आउने भएपनि सिरिन्ज लगायतका अन्य सामग्री सडकमार्ग भएर नेपाल आइपुग्छ ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्ण पनि खोप आउने सुनिश्चित भएपनि सिरिन्ज आउने मिति सुनिश्चित नभएको स्वीकार गर्छन् ।
सरकारले कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख २० हजार डोज फाइजर खोप प्राप्त हुने सुनिश्चित भएपछि बालबालिकालाई खोप लगाउने योजना बनाएको थियो ।
स्वास्थ्य मन्त्रालयले पुस १३ गतेदेखि काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन गर्ने कार्यतालिका बनाएको थियो । ती जिल्लामा पुस १३ देखि २२ गतेसम्म फाइजर खोपको पहिलो डोज र माघ ४ देखि १३ गतेसम्म दोस्रो डोज दिने सरकारको तालिका थियो ।
सरकारले बालबालिकालाई विद्यालयमा केन्द्र राखेर खोप दिने योजना बनाएको छ । त्यसैगरी बालबालिका लागि सरकारले थप ६० लाख ९०० डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्य मन्त्रायले पुस ३ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया 4