
१८ पुस, काठमाडौं । एक वर्षको अवधिमा मात्र १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार अनुसार सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म सो संख्यामा पर्यटक आगमन भएको हो । यो संख्या सन् २०२० को तुलनामा ८० हजार कम हो । सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
सन् २०२० को शुरुवाती महिनाबाट कोरोना भाइरसको महामारी देखिन थालेको थियो । जसले गर्दा सो वर्ष पहिलो साढे एक महिनाको तथ्यांकका आधारमा पर्यटक संख्या बढी देखिएको थियो । सन् २०२० मा भने प्रारम्भबाटै पर्यटक आगमन प्रभावित भएको छ । यसले समग्र वर्षभर पर्यटक आगमन निकै खस्किएको देखिएको छ । कोरोना भाइरसको प्रभाव देखिनु अगाडी सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक आएका थिए ।
कोरोना महामारीको प्रभाव कम हुनु र यात्रा प्रतिवन्ध खुकुलो बन्दै जाँदा वर्षको अन्तिमतिरको महिनामा केही सुधार देखिएको छ । यद्यपी पर्यटकहरुमा पछिल्लो पटक फैलिएको ओमिक्रोनका त्रास स्पष्ट देखिएको छ । नोभेम्बरको तुलनामा डिसेम्बरमा आगमन कम हुनुबाट यस्तो संकेत देखिएको हो ।
कुल पर्यटक आगमन
- सन् २०१९ : ११ लाख ९७ हजार १ सय ९१
- सन् २०२० : २ लाख ३० हजार ८५
- सन् २०२१ : १ लाख ५० हजार ९ सय ६२
कुन महिनामा कति पर्यटक भित्रिए ?
- जनवरी : ८८७४
- फेब्रुअरी : ९१४६
- मार्च : १४९७७
- अपि्रल : २२४५०
- मे : १४६८
- जुन : ११४३
- जुलाई : २९९१
- अगष्ट : ५९१७
- सेप्टेम्बर : ९८९८
- अक्टोवर : २३२८४
- नोभेम्बर : २६१३५
- डिसेम्बर : २४६७९
४३ प्रतिशत हिस्सा भारतीयको, दोस्रो स्थानमा अमेरिकी
नेपालमा हवाई जहाज चढेर आउने सबै भारतीय नागरिकलाई पर्यटक मानिन्छन् । अर्थातः कोरोना कालमा केही दिन नेपालमा रोकिएर तेस्रो मुलुक जान आएका भारतीय कामदार समेत यो सूचीमा समावेश छन् । जसले गर्दा पर्यटकको हिस्सामा भारतीय नागरिकको संख्या ४३ प्रतिशत देखिएको छ ।
सन् २०२१ मा कुल ६४ हजार ६ सय ७३ जना भारतीय पर्यटक नेपाल आएको तथ्यांक छ । यो वर्ष दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । अमेरिकाबाट कुल २२ हजार ८ सय ५३ जना पर्यटक नेपाल आएका चन् । यो कुल पर्यटक आगमनको १५.१४ प्रतिशत हिस्सा हो ।
तेस्रो स्थानमा रहेको बेलायातबाट ८ हजार ६ सय ८० जना नेपाल आए । चीनबाट ६ हजार १ सय ९६ र बंगलादेशबाट ५ हजार ४४ जना पर्यटक नेपाल आएका छन् ।
कुन मुलुकबाट कति पर्यटक आए ? (प्रमुख पाँच)
- भारत : ६४६७३
- अमेरिका : २२८५३
- बेलायत : ८६८०
- चीन : ६१९६
- बंगलादेश : ५०४४
दक्षिण एसियाली मुलुकबाट कति ?
तथ्यांक अनुसार दक्षिण एसियाली मुलुकमा भारत र बंगलादेशबाट आएको उच्च आगमन संख्याले समग्र पर्यटक आगमनमा यस भेगको हिस्सा बढी देखिएको छ । सन् २०२१ मा दक्षिण एसियाली मुलुकबाट ७१ हजार ६ सय १० जना पर्यटक नेपाल आए । यो कुल आगमनको ४७.४४ प्रतिशत हो ।
दक्षिण एसियाभन्दा बाहेकका एसियाली मुलुकबाट एक वर्षमा मात्र ९ हजार ८ सय २५ जना पर्यटक नेपाल आए । यो कुल संख्याको ६.५१ प्रतिशत मात्र हो । यूरोपबाट यस अवधिमा २५ हजार ३ सय ५ जना पर्यटक आएकोमा यो हिस्सा १६.७६ प्रतिशत देखिएको छ । ओसियाना मुलुकबाट २ हजार ५ सय ७१ जना नेपाल आए । यो कुल आगमनको १.७० प्रतिशत हो ।
अमेरिका र क्यानडाबाट २५ हजार २ सय ९१ जना नेपाल आए । यो कुल आगमनको १६.७५ प्रतिशत हो ।
प्रतिक्रिया 4