१९ पुस, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित आर्क ब्रिजनजिकै एक कुनामा त्रिपालले बारेर बस्ने ठाउँ बनाइएको छ । त्यहाँ तीन महीनादेखि बसिरहेका छन् मान गुप्ता ।
गत मंगलबार राति साढे नौ बजे पुलछेउमा पुग्दा उनी सुत्ने तरखरमा थिए, राति चिसोले नसताओस् भनेर त्रिपाल मिलाउँदै थिए उनी । भुईँमा पातलो गद्दा बिच्छ्याइएको छ । त्यसमाथि ओढ्ने कम्बल छ । बाटोमा फालिएका थोत्रा कपडालाई सिरानी बनाएका छन् । यो ओछ्यानबाहेक उनको सम्पत्तिमा एक जोर पुरानो जुत्तामात्रै छ ।
चिसो बढेको काठमडौंमा हिजोआज मान गुप्तालाई निद्रा लाग्दैन । न्यानोको खोजीमा कोल्टे फेरिरहन्छन्, कहिले उत्तानो र घोप्टो परिरहन्छन् ।
पाँच वर्षअघि कामको खोजीमा साथीहरूसँग सर्लाहीबाट काठमाडौं आएका थिए २८ वर्षे मान गुप्ता । काम गरेर पैसा कमाउने र सुखको जिन्दगी बाँच्ने आशा राखेर आएका उनी सुरुमा ललितपुरको झम्सीखेलमा साथीहरूसँग बसे । तर धेरै दिन अडिएनन् । दुई तीन दिनमै साथीहरूबाट अलग भएका उनले अर्को कोठा लिएनन्, सडक नै रोजे । कोठा लिए पैसा खर्च हुन्छ भन्ने सोचाइ छ उनको ।
गुप्ता कहिले बानेश्वरका चोक तथा गल्लीहरूमा रात बिताउँछन् भने कहिले शंखमुल, बिजुलीबजार तथा अनामनगरको खुला आकासमुनि । उनी पानी परेर ओछ्यान नभिजेसम्म एकै ठाउँमा बस्छन् । त्यसपछि भने ओत खोज्दै अर्को ठाउँ पुगिहाल्छन् ।
निद्राले नछोप्दासम्म गुप्ता तारा हेरिरहन्छन् । तारा हेर्दाहेर्दै बाल्यकालको स्मृतिमा पुग्छन् । त्यतिबेला आमाको काखमा बिताएका पलहरू सम्झिन्छन् । हुन त आमाका यादहरु पनि धुमिल हुँदै गइसकेका छन् । किनकि उनी सानै छँदा आमाले संसार छाडिसकेकी थिइन् । ‘आँखा बन्द नहुँदासम्म आकाशका तारा हेर्छु, सडकमा गुडिरहेका गाडी हेर्छु । आँखा बन्द हुन खोज्छन् तर जाडोले बन्द हुनै दिँदैन,’उनले पीडा सुनाए ।
मान गुप्ताले ढुक्कले सुत्न नपाएको त वर्षौं भइसक्यो । चिसो यामका महीनाहरू निकै पीडादायी हुने गर्छन् उनका लागि । गर्मी मौसममा सडक पेटीमै मस्त निदाउने उनको यो जाडोमा चैन हराएको छ।
काठमाडौंमा कवाडी सामान संकलन गर्ने उनी त्यसबाट हुने आम्दानी खानमै ठिक्क हुने बताउँछन् । उनी दिउँसोको समयमा बानेश्वर, अनामनगर, शंखमुल, बिजुली बजारमा फोहोर संकलन गर्छन् । ‘दिनभर संकलन गरेको कवाड बेच्दा दुई छाक खानमात्रै पुग्छ, कसरी कोठा लिने ?’ उनी भन्छन् ।
उनी काठमाडौंमा निश्चित ठाउँमा बस्दैनन् । ठाउँ फेरि फेरि बस्छन् । त्यसै क्रममा तीन महिनाअघि बिजुलीबजार आइपुगेका हुन् ।
काठमाडौंको कायल पार्ने चिसोले सताउँदा आमाको निकै याद आउँछ उनलाई । आमाको न्यानो काख अनि मायाले मन कुडिन्छ, तर अब त आमा अनि न्यानो काख स्मृतिमा मात्रै बाँकी छ । ‘अब त आमा सम्झनामा मात्रै हुनुहुन्छ आकासका तारा हेरेर चित्त बुझाउँछु’ उनी भन्छन, ‘चाहेर पनि राम्ररी गरिखान सकेको छैन ।’
पुर्ख्यौली घर भारतको बनारस भएको बताउने मान गुप्ताको जन्म भने सर्लाहीमा भएको हो । सानैमा आमाको मृत्यु भयो । कमजोर आर्थिक अवस्थाका कारण उनले चार कक्षासम्म मात्र पढ्न पाए ।
उनका बाबु सप्तरीतिरै एक बेकरीमा काम गर्छन् । काठमाडौं आएदेखि बाबुसँग उनको भेट भएको छैन । परिवारमा एक जना दाइ पनि छन् । तर उनी कहाँ छन् भन्ने उनलाई थाहा छैन ।
जाडो भन्दा गर्मी समय ठीक लाग्ने मान गुप्ता बताउँछन् । ‘पुसको चिसोमा खुला पुलमा काप्दै बस्न कहा रहर हो र यो त बाध्यताले बसेको हुँ,’ उनी भन्छन् ।
अलि धेरै पढ्न पाएको भए अहिलेजस्तो दुख भोग्नुपर्दैनथ्यो भन्ने लाग्छ उनलाई । तर त्यतिबेला आफूलाई पढाउन सक्ने अवस्था बाबुको थिएन भनेर चित्त बुझाउँछन् । मान गुप्ता भाग्यलाई दोष दिँदै चित्त बुझाउँछन् ।
प्रतिक्रिया 4