२० पुस, पोखरा । गण्डकीमा सत्ता पक्षीय गठबन्धनका ३ उम्मेदवारले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमालेका एमालेका ३ जना उम्मेदवारले मंगलबार ११ बजे नै मनोनयन दर्ता गराएका थिए । एमालेबाट कास्कीका पुण्यप्रसाद पौडेल, महिलामा नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका एमालेका प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
पन्त यसअघि कांग्रेसको केन्द्रीय सदस्य थिइन् भने पूर्वसांसद पनि हुन् ।
माओवादी केन्द्रका उम्मेदवार सुरेश अहिलेको केन्द्रीय सदस्यमा छानिएका छन् भने २०६४ को पहिलो संविधान सभा चुनावमा करिब ७ हजार मतले कांग्रेसका गोविन्दराज जोशीलाई हराएका थिए । उनी माओवादी विभाजित हुँदा मोहन वैद्यको पार्टीमा आवद्ध भएका थिए । पछि रामबहादुर थापासँगै माओवादीमा फर्किएका हुन् । अर्का उम्मेवार भुवन सुनार दलित आन्दोलनमार्फत आएका हुन् । उनी माओवादीमा बाबुराम भट्टराई निकट थिए भने नयाँ शक्तिमा आवद्ध भएर पनि पछि माओवादीमै फर्किएका हुन् ।
गण्डकीमा सत्ताबन्धनका सबै दलका नेतासहित मनोनयन दर्ता गर्न पुगेका थिए । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ७ सय मतभारले अगाडि देखिन्छ ।
प्रतिक्रिया 4