+
+

सजिलै छुट्ने आशामा काठमाडौं आउन थाले सुनकाण्डका आरोपी

इन्टरपोलले फिर्ता ल्याउन नसकेका गोरेका भाइ आफैं नेपाल आए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १९:०२

२० पुस, काठमाडौं । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या सम्बन्धी मुद्दामा फरार रहेका आरोपी धमाधम काठमाडौं आउन थालेका छन् ।

साढे ३३ किलो सुनका मालिम मोहनकुमार अग्रवाल समेत धरौटीमा छुटेपछि फरार रहेका अन्य आरोपी पनि काठमाडौं आउन थालेका हुन् ।

मंगलबार यो प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती पनि काठमाडौं आएका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले पनि उप्रेतीविरुद्ध नेट नोटिस जारी गरेको थियो । तर उनलाई काठमाडौं ल्याउन सकेको थिएन । एक अनुसन्धान अधिकृत भन्छन्, ‘अहिले सुन प्रकरणका सबै आरोपी छुट्न थालेपछि उनी आफैं काठमाडौं आएका छन् ।’

प्रहरीले उनलाई जिल्ला अदालत, मोरङमा बुझाउनेछ । गोरेले ल्याउने सुनमा रमेशको पनि लगानी हुने गरेको थियो । रमेशसँगै गोरेकी पत्नी नर्वदा खरेल २०६९ सालदेखि सुन तस्करीको गिरोहमा संलग्न भएको उच्चस्तरीय छानविन समितिको निष्कर्ष थियो ।

तस्कर समूहका भरिया सनम शाक्य १८ फागुन २०७४ मा मारिएलगत्तै गोरेले भाइ रमेश र उनकी पत्नी नर्वदालाई फोन गरेर जानकारी गराएका थिए । त्यसपछि ‘घटनालाई मिलाउने’ काममा पनि उनी संलग्न भएका थिए ।

भरिया शाक्यको उर्लाबारी–१, मोरङमा करेन्ट लगाएर हत्यापछि सुरु भएको अनुसन्धानले सुन तस्करीको ठूलो र्‍याकेटसम्म डोर्‍याएपछि सरकारले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्च स्तरीय छानविन समिति बनाएको थियो ।

समितिले गरेको अनुसन्धानका क्रममा एउटै समूहले चार वर्षको अवधिमा नेपालमा झण्डै ३८ क्वीन्टल सुन भित्र्याएको खुलेको थियो । यसमा विमानस्थलका कर्मचारी, प्रहरीदेखि व्यवसायीसम्मको मिलेमतो देखिएको थियो ।

तर जिल्ला अदालत, मोरङले ‘सुन बरामद नभएको’ भन्दै ५६ जनालाई सफाइ दिइसकेको छ । गोरेसहित सनम शाक्यको हत्यामा संलग्नलाई चाहिँ जन्मकैदको सजाय फैसला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?