+
+

सानोठिमीबाट राष्ट्रिय पुस्तकालयको सेवा पुन: सञ्‍चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १९:२६

२० पुस, काठमाडौं । राष्ट्रिय पुस्तकालयले सानोठिमी भक्तपुरबाट सेवा दिन थालेको छ । सोमबार पुस्तकालयको ६५औं स्थापना दिवसको अवसर पारेर पुस्तकालयले सेवा पुन:सञ्चालनमा ल्याएको पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताए ।

उनले भने ‘भूकम्पपछि सेवा बन्द भएको थियो । सेवा नै त बन्द गर्नुहुँदैन भनेर अस्थाई पुस्तकालयबाट सञ्चालन गरेका छौं ।’भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानवस्रोत विकास केन्द्रको परिसरमा रहेको टहरामा अस्थाई पुस्तकालय पुन:सञ्चालन गरेको छ । ललितपुरस्थित हरिहर भवनमा रहेको पुस्तकालयको भवन २०७२ साल बैसाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त बनेपछि पुस्तकालय सेवा बन्द भएको थियो ।

पुस्तकालय भएको भवन क्षतिग्रस्त भएपछि हरिहर भवनको बाल शाखाको गोदाममा, काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र माविको गोदाममा, सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाममा बोरामा पुस्तकहरू राखिएको थियो । पुस्तकालयमा विभिन्न भाषाका करिब डेढ लाख पुस्तकहरू उपलब्ध रहेको मिश्रले जानकारी दिए ।

पुस्तकालय भवन निर्माण प्रकृयाको अन्तिम चरणमा

राष्ट्रिय पुस्तकालयको भवन निर्माण प्रकृयाको अन्तिम चरणमा रहेको प्रमुख दशरथ मिश्रले जानकारी दिए । उनले भने ‘हामीले प्रकृया बढाएका छौं । अन्तिम चरणमा पुगेको छ । यो महिनाको अन्त्यतिर बोलपत्र आह्वान गर्छौं ।’ गत कार्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय पुस्तकालय जमलमा निर्णय गरेको थियो ।

सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको राष्ट्रिय पुस्तकालय भवन निर्माण गर्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार जमलस्थित ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गा राष्ट्रिय पुस्तकालयको नाममा पास भई डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) समेत तयार भई पुस्तकालय निर्माण प्रक्रिया अघि बढेपछि रोकिएको थियो ।

सरकारले विभिन्न व्यापारिक समूहको प्रभावमा भवन परेर पुस्तकालय निर्माण रोकेको आरोप लाग्दै आएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलेसमेत जमल, घण्टाघर, रानीपोखरी, टुँडिखेलदेखि दशरथ रंगशालासम्म एकीकृत योजना बनाउने प्रस्ताव अघि सारेपछि पुस्तकालय निर्माण कार्य अघि बढ्न सकेको थिएन।

सरकारले २०७७ साउन ५ मा ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण नगर्ने-नगराउने’ निर्णय गरेपछि प्रक्रिया अगाडी बढ्न सकेको थिएन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पुस्तकालय राजधानीको जमलमै बनाउन २०७७ चैत १८ मा पुनः प्रक्रिया अघि बढाएको थियो । मन्त्रालयले जमलस्थित कित्ता नं. १२७० मा राष्ट्रिय पुस्तकालय निर्माण अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग स्वीकृति मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?