२० पुस, काठमाडौं । ७७ लाख रुपैयाँ खर्चेर ९ जनाको टोली अमेरिका पठाउन लागेकोबारे अनलाइनखबरमा समाचर प्रकाशित भएपछि संखुवासभाको चिचिला गाउँपालिकाले आइतबार आफ्नो निर्णयको बचाउ गर्दै विज्ञप्ति जारी गर्यो । भ्रमणमा जाने टोलीको खर्च गाउँपालिका सम्बन्धित व्यक्तिले ब्यहोर्ने गरी पुस १५मा अर्को निर्णय भएको दावी प्रेश विज्ञप्ति गरिएको छ ।
विज्ञप्तिमा गाउँपालिकाले भनेको छ,’…उक्त कार्यक्रममा लाग्ने सबै खर्च सहभागी व्यक्तिहरुले नै ब्यहोर्ने शर्तमा निर्णय गरिएको छ, यससम्बन्धी मिति २०७८/०९/१५ गते गाउँपालिका कार्यपालिकाको निर्णय स्पष्ट छ ।’
तर, गाउँपालिका कार्यालयका कर्मचारीहरु नै किर्ते गरेर ‘नयाँ निर्णय’को माइन्युट तयार गरिएको बताउँछन् ।
वडाध्यक्षहरुले पनि पुस १५ गते बसेको बैठकमा अमेरिका भ्रमणबारे कुनै छलफल नै नभएको बताएका छन् । मंसिर २४ पछि बसेका कुबै पनि बैठकमा यसबारे कुनै निर्णय नभएको वडाध्यक्षहरू बताउँछन् । खर्च कसले कसरी बेहोर्ने भन्ने निर्णय नभएको भन्दै गाउँपालिकाका कर्मचारीसँग मिलेर अध्यक्ष पासाङ नुर्बु शेर्पाले किर्ते निर्णय गराएको र त्यसमा केही कर्मचारी मतियार बनेको उनीहरुले बताएका छन् ।
गाउँपालिकाका एक कर्मचारीका अनुसार पुस १५को ‘ब्याक डेट’ राखेर व्यक्तिगत खर्चमा जाने गरी हिजो पुस १९ गते फर्जी माइन्युट तयार गरिएको छ । ‘गाउँपालिका अध्यक्षज्यु कर्मचारीहरु लिएर आफैं वडा-वडामा सोमबार (पुस १९ गते) पुस १५मा निर्णय भएको देखाउने फर्जी माइन्युट बनाएर वडाध्यक्षहरुकोमा हस्ताक्षर लिन पुग्नुभएको थियो,’ ती कर्मचारीले भने,’माओवादीबाट निर्वाचित वडा नम्बर २का मिरबहादुर राईले हस्ताक्षर गर्न सक्दिन भनेर माइन्युट फर्काउभएको छ ।’
आइतबार प्रेश विज्ञप्ति जारी गर्नुअघि नै सबै वडाध्यक्षको हस्ताक्षर लिन अध्यक्षले प्रयत्न गरेका थिए । केही वडाध्यक्षले भने कीर्ते काममा सहभागी नहुने जावाफ दिएर फर्काएका हुन् । गाउँपालिकका ५ नम्बरका वडाध्यक्ष मनबहादुर राई भने बिरामी छन् ।
मिरबहादुर राईबाहेक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ४ जना वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन् । त्यसैले किर्ते निर्णय गर्दा पनि बहुमत पुर्याउन कठीन छैन ।
अध्यक्ष शेर्पाले भने कुनै किर्ते माइन्युट तयार नगरिएको र पुस १५को बैठकले नै त्यसबारे निर्णय गरेको दावी गरे । ‘नियमअनुसार नै प्रक्रिया अघि बढाएका छौं, अमेरिका जाँदा गाउँपालिकाको एक रुपैयाँ पनि खर्च गर्दैनौं,’ उनले भने ।
गत मंसिर २४ गते गाउँपालिकाले १८-१९ जनवरी २०२२ (माघ ४ र ५ गते) अमेरिकामा हुने ‘छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसन’ मा सहभागी हुने टोलीको खर्च व्यहोर्ने निर्णय गरेको थियो । कार्यक्रमका लागि अमेरिकाको ‘स्मार्ट ग्रिड अब्जर्बर’ले गाउँपालिकालाई निमन्त्रणा गरेको छ । संस्थाको निमन्त्रणा स्वीकार्दै गाउँपालिकाले ९ जनाको टोली अमेरिका पठाउने र उनीहरुका लागि लाग्ने ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पनि पास गरेको थियो ।
गाउँपालिकाको खर्चमा अमेरिका जान लागेकाहरुमा गाउँपालिका अध्यक्ष शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल छन् । गाउँपालिकाको निर्णयअनुसार टोलीले १० दिन अमेरिकामा बिताउनेछ ।
गाउँपालिकाको खर्चमा अमेरिका जानेलाई गाउँपालिकाका वडाध्यक्षहरुले समेत चिन्दैनन् ।थिलेन शेर्पा अध्यक्ष शेर्पाका छोरा हुन् । ‘अंग्रेजी भाषा अली कमजोर छ। छोरालाई भाषा सहयोगीका रुपमा लैजान लागेका हौं,’ अध्यक्ष शेर्पाले भने,’सबै मिल्यो भने जान्छौं ।’
प्रतिक्रिया 4