
२३ पुस, पोखरा । तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोट डाँडा ५० वर्षको लागि बतास समूहलाई लिजमा दिने तयारी भएको छ । बतास समूहको व्यास हिल्स प्रालिलाई मानहुँकोटको सार्वजनिक जग्गा ५० वर्षका लागि लिजमा दिन व्यास नगरपालिकाको बोर्ड बैठकले स्वीकृतिसमेत दिइसकेको छ ।
बतास समूहको ब्यास हिल्सले मानहुँकोटको करिब ४० रोपनी सार्वजनिक जग्गा र बाँकी निजी जग्गासमेत लिजमा लिएर केबलकार, रिसोर्ट लगायतको संरचना बनाउने प्रस्ताव गत वर्षमात्रै ब्यास नगरपालिकामा पेस गरेको थियो ।
ब्यास–५ पाटनदेखि मानहुँकोट डाँडासम्म जिपलाइन, केबलकार बनाउने र रिसोर्ट चलाउने गरी बतासले चार अर्ब रुपैयाँको परियोजनाको प्रस्ताव नगरपालिकामा गरेको थियो । तर, त्यो प्रस्ताव अगाडि बढ्न सकेको थिएन । बिहीबार बसेको ब्यास नगरपालिकाको बोर्ड बैठकले भने परियोजनाका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
प्रदेश नीति तथा योजना आयोगसँग छलफल गर्ने, प्रदेश सरकारबाट सिफारिस गराएर संघीय मन्त्रिपरिषदबाट जग्गा लिजमा दिने निर्णय गर्ने गरी प्रक्रिया अगाडि बढेको मानहुँकोट रहेकै वडाका वडाध्यक्ष तथा नगरका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
‘एक वर्षअघि नै प्रस्ताव आएको थियो । विभिन्न कारणले रोकिएको थियो । त्यति लामो समयका लागि लिजमा दिने कि नदिने भन्ने पनि थियो । बिहीबारको बोर्ड बैठकमा मेयर साबले प्रस्ताव राख्नुभयो र प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘बतासले केही सार्वजनिक र केही निजी जग्गामा परियोजनाको प्रस्ताव गरेको छ ।’
मेयर बैकुण्ठ न्यौपानेले डाँडो पाखोको विकास हुन्छ हुने किन नदिने भनेर प्रक्रिया अगाडि बढाइएको बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रदेशमा पठाएका छौं । हामी अहिले छलफलकै प्रक्रियामा छौं । नगर र गाउँको विकास तथा फाइदा हेरेरमात्र निर्णय हुन्छ,’ मेयर न्यौपानेले भने, ‘नगरलाई वार्षिक कति आम्दानी हुन्छ भनेर छलफलकै क्रममा छ । ऐनअनुसारै सम्झौता गरिन्छ ।’
सिसाको पुल बनाउने प्रस्ताव
गत साल कात्तिकमा कोरोनाले उकुसमुकुस युवा पहिलो लहर कम भएसँगै तनहुँँको मानहुँकोटमा ओइरिएपछि यो स्थान धेरैको नजरमा परेको छ । एकै दिन दशौं हजार मानिसले टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा मानहुँकोट डाँडाको रमणीय दृष्य पोष्ट गरेपछि बतास समूहले पनि यसमा आँखा लगाएको हो ।
मनहुँकोटको करिब ४० रोपनी जग्गा सस्तोमा लिजमा दिने गरी ब्यास नगर र बतास समूहबीच सम्झौताको ड्राफ्टसमेत भइरहेको छ । पहिले व्यास नगरबाटै लिजमा दिने तयारी थियो । तर, त्यसो गर्दा नियमविपरीत पनि हुन जाने र अन्य सरकारबाट पनि निर्णय गराउँदा ब्यास नगरलाई सजिलो पनि हुने भएपछि प्रदेश हुँदै संघीय सरकारबाट पनि सिफारिस गराउने जिम्मा उनै बतासले नै लिएको स्रोतले बतायो ।
बतास समूहले मानहुँकोटबाट मुख्य दृश्यावलोकन गर्ने ठाउँ लिजमा लिन लागेको हो । स्रोतका अनुसार बतासले चन्द्रागिरिको जस्तै परियोजना अगाडि सारेको हो । मानहुँकोटमा बतासले दृश्यावलोकनका लागि सिसाको पुल बनाउनेसमेत प्रस्ताव गरेको छ ।
बतासको प्रस्तावपछि बल्ल ऐन
ब्यास नगरपालिकाले बतासलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार लिजमा दिने प्रक्रिया अगाडि बढाएको हो । गत कात्तिकमा मानहुँकोट भाइरल भइसकेपछि बतास समूहको ब्यास हिल्सले केबलकार, जिपलाइन, सीसाको पुल लगायतका पूर्वाधार निर्माण गर्ने प्रस्ताव गरेको थियो ।
पोखरामा पनि सेती नदी थुनेर रामघाटबाट ढुंगा गिटी बालुवा निकाल्ने बतासको प्रस्तावपछि उनैलाई सहज हुने गरी ऐन संशोधनसमेत भएको थियो । बतासलाई पोखराको रामघाट ३५ वर्षसम्म प्रयोग गर्न गरी सम्झौताको प्रक्रिया अगाडि बढेको छ ।
ब्यास नगरपालिकाले पनि बतासको प्रस्ताव आइसकेपछिमात्र सार्वजनिक निजी साझेदारी ऐन बनाएको खुलेको छ । मेयर न्यौपानेले गत पुसमा नगरले ऐन बनाएको बताए । ‘यस्तै प्रस्तावअनुसार भरतपुरमा योजना अगाडि बढिरहेको छ । पोखरामा पनि यस्तै योजना प्रक्रियामा छ,’ न्यौपानेले भने, ‘हामीले पनि गत पुसमा प्रस्ताव आइसकेपछि साझेदारी ऐन बनाएका हौं ।’
ऐन बनेसँगै मानहुँकोटसँगै अन्य ठाउँमा पनि यस्ता परियोजनाका लागि सम्भावना खुला भएको मेयरको भनाइ छ ।
नगरकै एक जनप्रतिनिधिका अनुसार ब्यास नगरपालिकाले बतासकै योजनालाई बल पुग्ने गरी ऐन बनाएको छ । ‘प्रस्ताव आइसकेपछि मात्र ऐन बन्नुको अन्तर्य नै के हो भन्ने बुझ्न सकिन्छ । प्रस्ताव आइसकेपछि स्वाभाविक हिसाबले ब्यापारीलाई फाइदा हुने गरी ऐन बन्ने भइहाल्यो,’ उनले भने, ‘विकास हुनु राम्रो हो तर त्यसका लागि के गरिँदैछ भन्ने हो ।’
मानहुँकोटको जग्गा व्यापारीको हातमा
केही वर्षअघिसम्ममात्रै मानहुँकोट सम्भावना भएर पनि छायामा थियो । वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार सुविधा खोज्दै बजार झर्नेहरुको लर्कोले मानहुँकोट रित्तो भइसकेको थियो ।
मानहुँकोटको सम्भावनालाई उजागर गर्ने अभियान चलाएका श्रेष्ठले भने, ‘मानहुँकोटको मगर गाउँको संस्कृति जोगाइरहनुपर्छ । मानहुँकोटले एक दिन धेरैको ध्यान खिच्छ भनेर विभिन्न गतिविधि गरिरहेका थियौं । नभन्दै मानहुँकोटमा सबैको नजर पर्यो ।’
मानहुँकोटमा सबैभन्दा बढी खानेपानीकै समस्या छ । खानेपानी र शिक्षादीक्षा खोज्दै मानहुँकोटबाट गाउँले झर्न थाले र जग्गा जमिनसमेत बेच्न थाले ।
‘गत वर्ष टिकटकमा भाइरल भएपछि पो एकाएक सबै झस्किए । कतिपयले बेचिसकेका थिए भने कतिपयले बेच्न हुँदैन रहेछ भनेर मानहुँकोट नै फर्किरहेका छन्,’ श्रेष्ठले भने, ‘तर, मानहुँकोटको धेरै जग्गा दमौली, पोखरा र नारायणघाटसम्मका व्यापारीको हातमा पुगिसकेको छ ।’
मानहुँकोटमा अहिले साना र मझौला होटलसमेत खुलिरहेका छन् भने दिनहुँ जग्गा खोज्दै व्यापारीहरु पुग्ने गरेको श्रेष्ठले बताए ।
मौलिकता मासिने चिन्ता
ब्यास नगरपालिकाले मानहुँकोटको जग्गा किनबेच गर्न नपाउने नियम बनाएको थियो । तर, स्थानीयको विरोधपछि ६ महिनामै त्यो नियम उल्टियो । ‘मानहुँकोटको मौलिकता जोगियोस् । जथाभावी जग्गा किनबेच नहोस् भन्ने हाम्रो मर्म थियो,’ श्रेष्ठले भने, ‘तर, स्थानीयले नै बिरोध गरेपछि नियम हटाइयो ।’
बतास समूहले पनि निजी जग्गासमेत हात पारिसकेको एक स्थानीयले बताए ।
२०/२५ हजारमा रोपनी नै आउने मानहुँकोटमा अहिले आनाको ५/६ लाख रुपैयाँमा किनबेच भइरहेको छ । मानहुँकोटलाई अहिले नै व्यवस्थित ढंगले प्रयोग गर्न नसक्ने हो भने त्यहाँको मौलिकता नै लोप हुने श्रेष्ठको चिन्ता छ ।
प्रतिक्रिया 4