+
+

वीरगञ्जमा २४ नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि

२४ वटा स्वाब नमूना परीक्षण गर्दा ७ वटा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख सूक्ष्म जीव विज्ञ प्रभाकर पाण्डेले जानकारी दिए ।

सुरेश बिडारी सुरेश बिडारी
२०७८ पुष २३ गते २०:०६

२३ पुस, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ वटा स्वाब नमूना परीक्षण गर्दा ७ वटा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख सूक्ष्म जीव विज्ञ प्रभाकर पाण्डेले जानकारी दिए ।

‘संक्रमणको दर १२–१३ प्रतिशतबाट एकैपटक २९ प्रतिशत पुगेको छ’ उनले भने, ‘यो राम्रो संकेत होइन, सबै सतर्क भएर बस्नुपर्छ ।’

संक्रमित शून्य अवस्थामा पुगिसकेकोे वीरगञ्जमा क्रमशः संक्रमित देखिन थालेका छन् । पुस १६ गते २२ वटा स्वाब नमूना परीक्षण गर्दा ३ जना, १९ गते २४ वटामा ३, २१ गते ३३ वटामा ४ वटा पोजेटिभ देखिएको थियो ।

कोरोनाको ग्राफ अझै बढ्न सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले नयाँ वर्ष मनाउन वा अन्य कामको सिलसिलामा भारतका विभिन्न शहर पुगेर फर्केकाहरुमा कोरोना संक्रमण देखिएकोले संक्रमण अझै बढ्न सक्ने बताए ।

‘भारतका विभिन्न राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ, त्यसैको असर नेपालमा देखिन थालेको छ’ उनले भने, ‘संक्रमणको ग्राफ अझै बढ्न सक्छ ।’

कोरोना भाइरस विरुद्धको खोप लगाइसकेकाहरुमा कडा संक्रमण नदेखिएको बताउँदै उनले स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अवलम्बनमा लापरबाही घातक हुनसक्ने बताए ।

उनले जोखिम क्षेत्रबाट फर्केकालाई होल्डिङ सेन्टरमा राख्नुपर्ने, जनशक्ति तथा अन्य आवश्यक स्वास्थ्य उपकरण र अक्सिजन तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ ।

जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पछिल्लो अवस्थाको बारेमा आइतबार सर्वदलीय बैठक राखेर छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।

नाकामा १० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज इनर्वास्थित हेल्थ डेस्कमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नाका हुँदै नेपाल भित्रिन खोज्नेहरुको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेल्थ डेस्कमा भारत हुँदै नेपाल छिर्ने सर्वसाधारणहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । शुक्रबार २३७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १० जनामा पोजेटिभ देखिएको वीरगञ्ज महानगरपालिकाका हेल्थ असिस्टेन्ट सुमनचन्द्र ठाकुरले जानकारी दिए ।

विद्यालयमा फोकल पर्सन तोकिने

मौसम र कोरोना संक्रमणको पछिल्लो प्रतिकुल अवस्थाको बारेमा शैक्षिक वृत्तमा पनि छलफल शुरु भएको छ । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले महानगरका सामुदायिक, निजी तथा आवासीय विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको हो ।

बैठकले विद्यालयहरुमा कोभिड–१९ संक्रमण भित्रिन नदिन गेटमै थर्मल गनले तापक्रम नाप्ने, नो मास्क, नो इन्ट्री पालना गराउने, साबुनपानीले हात धुने व्यवस्था मिलाउने जस्ता स्वास्थ्य सुरक्षा सतर्कताका उपाय पालनामा कडाइ गर्ने निर्णय गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।

त्यसैगरी बैठकले प्रतिकूल मौसम वा कोभिड संक्रमणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गर्दै परीक्षाहरु लिइसक्ने, वैकल्पिक शिक्षण सिकाइ सहजीकरणका लागि आवश्यक पूर्व तयारी गर्ने निर्णय समेत गरेको छ ।

विद्यार्थीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा अन्य आपतकालीन अवस्था आइपरेमा समन्वय गर्नका लागि प्रत्येक विद्यालयमा फोकल पर्सन तोक्ने निर्णय पनि बैठकले गरेको प्रमुख कर्णले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?