
२४ पुस, जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ ।
पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली ल्याएर रेलको परीक्षण गरिएको हो ।
२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल असोज ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको थियो । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको महाप्रबन्धक झाले बताए ।
परीक्षणका क्रममा रेलको इन्जिनसहित सबै पार्टपूर्जा ठीकै रहेको पाइएको उनले जानकारी दिए । रेललाई सञ्चालन गर्नकै निम्ति शनिबार परीक्षण गरिएको उनले बताए । ‘अब रेल ठीक भएको पाइएपछि रेल संचालनको तयारी गरेका छौं’ उनले भने ।
इनर्वाबाट जनकपुरधाम हुँदै कुर्थासम्म र कुर्थादेखि जयनगरसम्म रेल गुडाएर परीक्षण गरी पुनः इनर्वा स्टेशनमै पार्किङ गरी राखिएको छ । भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो । तर पछिल्लो समयमा त्रिपाल पनि च्यातिइसकेको थियो ।
बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्न थालेको अवस्थामा रेल गुडाएर परीक्षण गरिएको छ ।
जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरीद गरेर ल्याएको थियो ।
भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
महाप्रबन्धक झाले चाँडोभन्दा चाँडो रेल सञ्चालन गरिने बताए । उनले दुबै देशका प्रधानमन्त्रीस्तरमा समन्वय गरेर रेल सञ्चालन गरिने जानकारी दिए ।
नेपाल रेल्वे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ ।
एउटा रेलमा ५ वटा डिब्बा रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ ।
एउटा रेल सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्ने क्षमता रहेको छ । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा गुड्न सक्ने क्षमताको छ ।
भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म सञ्चालनका लागि रेल खरिद गरिएको भएपनि ट्रयाक तयार भएको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा पनि रेल सञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया 4