+
+

कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओले बोलाए छुट्टै बैठक

ललितपुरका सीडीओ भन्छन्- मानिसहरुको चहलपहल घटाउनुपर्ने महसुस भएको छ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १०:३०

२५ पुस, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ ।

स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो ।

जिल्लामा आ-आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन् । छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सकेसम्म आजै, नसके भोलि संयुक्त बैठक बस्न सक्ने बताइन् । संयुक्त बैठक बस्नुअघि आज आफूले जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग परामर्श लिन लागेको उनले जानकारी दिइन् । त्यसका लागि आज दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बोलाइएको छ ।

शर्माले अनलाइनखबरसँग भनिन्, ‘स्वास्थ्य मापदण्डमा कडाइ गर्ने, स्वास्थ्य पूर्वाधारहरु तयारी अवस्थामा राख्ने लगायतका विषयमा आज हामी जिल्लामा छलफल गर्छौं त्यसपछि सकेसम्म आजै वा भोलिसम्ममा संयुक्त बैठक बस्छौं ।’ प्रजिअ शर्माले कोरोना संक्रमणको अवस्थाका साथै विपद र भूकम्प सुरक्षा दिवससम्बन्धी एजेण्डासहित बैठक बस्न लागेको जानकारी दिइन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि दुई दिनअघि सीसीएमसीको बैठक बसेको थियो । यद्यपि उक्त बैठकका निर्णय सार्वजनिक भएका छैनन् । बैठकपछि स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म कुनै नयाँ निर्णय वा निर्देशन जारी गरेका छैनन् । तै पनि जिल्लाभित्र आ-आफ्नो ढंगले काम गर्ने गरी जिल्ला प्रशासन कार्यालयहरुले तयारी अघि बढाएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि कोरोना संक्रमणको अवस्था र खोप कार्यक्रमलाई लक्षित गरी आज दिउँसो साढे २ बजे बैठक बोलाएको जानकारी दिए ।

कोरोना संक्रमणको ग्राफ बढ्दै गएको बताउँदै उनले मानिसहरुको चहलपहललाई घटाउनुपर्ने महसुस गरिएको बताए । यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग अनौपचारिक छलफल जारी रहेको जानकारी गराउँदै प्रजिअ उपाध्यायले भने, ‘स्वास्थ्य मन्त्रालयले प्राविधिक रुपमा गर्ने मार्गदर्शन र सीसीएमसीले गर्ने निर्देशन बमोजिम स्थानीय परिस्थिति अनुसार हामीले जिल्लाभित्र गर्नुपर्ने र काठमाडौं उपत्यकाभित्र एकीकृत रुपमा समन्वयात्मक विधिबाट काम गर्ने मनस्थिति बनाएका छौं, सीसीएमसीको निर्देशनपछि त्यसलाई औपचारिकता दिन्छौं ।’

उनले भने, ‘अब पब्लिक मोबिलिटीलाई घटाउने, स्वास्थ्य मापदण्डलाई परिपालन गराउने र खोपलाई म्यासिभली अघि बढाउनु पर्ने देखिएको छ ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने उपत्यकाका प्रजिअहरुको संयुक्त बैठकको मिति र समय तय नभइसकेको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयलमा ललितपुर र भक्तपुरको जस्तो छुट्टै बैठक बोलाइएको छैन । यद्यपि अनौपचारिक छलफल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउने र अन्य तयारीका सम्बन्धमा तयारी अघि बढाउने लगायतका काम गरिएको प्रजिअ रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?