
२६ पुस, काठमाडौं । कलाकार दीपकराज गिरीले एक दशकअघि गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्र ‘सुन्दर मेरो नाम’मा काम गरे । ‘तीतो सत्य’मा हिट भइरहेका बेला उनी ठूलो पर्दाको चलचित्रमा मुख्य भूमिकामा देखिएका थिए ।
तर यो चलचित्र बक्स अफिसमा सुपर फ्लप नै हुन पुग्यो । त्यसपछि दीपकले मुख्य कलाकारको रुपमा ठूलो पर्दामा फर्किन केही समय लगाए ।
‘सुन्दर मेरो नाम’मा लिड रोलमा काम गरेर आफूले ठीक गरेको दीपकले बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘१० वर्षअघि मैले ‘सुन्दर मेरो नाम’ नामक चलचित्रमा लिड रोलमा काम गर्दा धेरैले प्रश्न उठाउनुभएको थियो । यो चलचित्र मैले किन गरें भन्ने प्रश्न खुबै आयो । त्यो चलचित्र सुपर फ्लप पनि भयो । तर, मैले त्यो चलचित्रमा काम गरेर ठीक गरें भन्ने लाग्छ,’ उनले भने, ‘म त्यो बेलामा फेल भएँ र मलाई फेरि पास हुने भोक जाग्यो । त्यही भोकका कारण आज म यो स्थानमा छु ।’
दीपकले जिन्दगीमा मज्जाले गल्ती गर्नुपर्ने तर्क समेत गरेका छन् । उनले अगाडि भने, ‘गल्ती हाम्रो शिक्षक हो, यसैले मज्जैले गल्ती गरौं ।’ उनले ग्यालेक्सी टेलिभिजनबाट प्रसारण हुन लागेको ‘क्राइम पेट्रोल नेपाल’को होस्ट भएर आफूले गल्ती गर्न गइरहेको समेत बताए । तर, यो काम गर्दा रमाइलो महसुस भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4