२५ पुस, बुटवल । बुटवलमा हालसम्मकै धेरै राशि पुरस्कारको स्नुकर प्रतियोगिता हुने भएको छ । खस्यौली स्नुकर क्लबको आयोजनामा आगामी फागुन ९ गतेदेखि खुला राट्रिय सिंह कप स्नुकर प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सातवटै प्रदेशका प्रमुख शहरहरूबाट कम्तीमा १२८ खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक सुजन पुनले बताए । खस्यौली स्नुकर क्लबमा सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपैयाँ, दोस्रो हुनेले एक लाख ११ हजार १११, हाइएस्ट ब्रेकर (८० भन्दा माथि) ले ५५ हजार ५५५ र उदियमान खेलाडीले १० हजार रुपैया पुरस्कार पाउनेछन् ।
यस्तै, १४७ ब्रेक गर्ने खेलाडीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । हालसम्म नेपालमा १३१ ब्रेक गरेको इतिहास छ । प्रथम पुरस्कारको प्रायोजन सिंह कम्प्लेक्सले गरेको छ ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल बिलियार्ड स्नुकर संघका केन्द्रीय सदस्य हरि क्षत्री र मुख्य प्रायोजक सिंह कम्प्लेक्सका प्रबन्ध निर्देशक प्रत्युशमान सिंहले हालसम्मकै धेरै पुरस्कार राशिको प्रतियोगिता बुटवलमा हुनु बुटवलको मात्र नभई लुम्बिनी प्रदेशकै गौरब भएको बताए ।
क्षत्रीले हाइएस्ट ब्रेकरले पाउने नगद पुरस्कार ५५ हजार ५५५ रुपैयाँ आफूले प्रायोजन गर्ने घोषणा गरे । प्रतियोगितामा नाम दर्ताका लागि दुई हजार ५०० रुपैयाँ शुल्क तोकिएको र जिल्ला बाहिरका खेलाडीलाई आवास र खानाको व्यवस्था आयोजकले गरेको खस्यौली स्नुकर क्लबका सञ्चालक गणेश घिमिरेले बताए ।
प्रतिक्रिया 4