
३ माघ, पोखरा । पोखराका सरकारी तथा सार्वजनिक जग्गामा राजनीतिक दल, विभिन्न संघसंस्थादेखि गुण्डा नाइकेको रजगज छ । गुण्डागर्दी शैलीमा कानुन मिचेर भवन बनाएर ब्यापार गर्ने र राज्यलाई तिर्नुपर्ने भाडा समेत नतिर्ने पोखराको एउटा उदाहरण हो, पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार ।
गुण्डा नाइके राजु गोर्खालीको नामले परिचित राजेन्द्रबहादुर गोर्खालीको कम्पनीले पृथ्वीचोकमा रहेको वायु सेवा निगमको जग्गामा अवैध भवन बनाएर सस्तो बजार चलाइरहेको छ ।

पोखरा महानगरबाट १ तलाको स्वीकृत लिएर बहुतले भवन बनाएर व्यापार गरिरहेको गोर्खालीको सूर्यदिल ग्रुप इनभेस्टमेन्ट प्रालिले वायु सेवा निगमलाई भाडासमेत नतिरेको पाइएको छ ।
गुण्डा नाइके गोर्खालीले २०७४ असोज १ गते पोखरा–९ पृथ्वीचोकस्थित कित्ता नम्बर २ को २६३२ वर्ग मिटर जग्गा भाडा लिन वायुसेवा निगमसँग सम्झौता गरेका थिए ।
सुरुमा प्रतिमहिना १२ लाख रुपैयाँ बुझाउने र पछि प्रत्येक २ वर्षमा १० प्रतिशतका दरले बढ्ने गरी गोर्खालीको कम्पनीले ५ वर्षका लागि जग्गा भाडामा लिएको थियो । अहिले भाडा प्रतिमहिना १४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । तर गोर्खालीको कम्पनीले गत वर्षको फागुनदेखि भाडा नबुझाएपछि वायु सेवा निगम जिल्ला प्रशासनसम्म पुगेको छ । गोर्खालीको कम्पनीले पुसमसान्तसम्म मात्रै १ करोड ८१ लख ५९ हजार ५ सय १६ रुपैयाँ भाडा बक्यौता छ
माघ महिनाको पनि थपिँदा जग्गा भाडामात्रै बुझाउन झण्डै २ करोड पुगेको छ । ‘गत फागुनदेखि कम्पनीले भाडा बुझाएको छैन । पटक पटक ताकेता गरेका छौं, अहिले त सम्पर्कमै आउन छाडे,’ नेपाल वायु सेवा निगम पोखराका स्टेसन प्रमुख बन्धु न्यौपानेले भने, ‘बुझाउँछु, बुझाउँछु भन्छ, बुझाउँदैन ।’
निगमलाई भाडा मात्रै होइन, यो कम्पनीले अहिलेसम्म नेपाल खानेपानी संस्थानलाई पनि महसुल बुझाएको छैन ।
संस्थानलाई पुस मसान्तसम्म खानेपानी महसुलमात्र ६ लाख ३ हजार ८ सय ९० रुपैयाँ बुझाउन बाँकी छ । ‘गत असोज १० मा चिठी लेखेर सबै भुक्तानी गर्नुस्, १ महिनाको भाडा, कर सबै छुट हुन्छ भन्यौं । तर पूरा भाडा बुझाएन,’ न्यौपानेले भने, ‘के/के बाहाना बनाएर पैसा नै तिर्न मान्दैन ।’
निगमका कर्मचारी राजु गोर्खालीको काठमाडौं दरबारमार्गस्थित कार्यालयमा पनि पुगेका थिए । तर त्यहाँ गोर्खालीको कार्यालय नै नरहेको निगमको भनाइ छ ।
त्योभन्दा अगाडि पनि सोही ठाउँमा निगमले सस्तो बजारकै निम्ति भाडामा दिएको थियो । निगमले दोस्रो पटक डेन्टर खुलाउँदा गोर्खालीले त्यो जग्गा हात पारेका थिए । सम्झौता सकिँदा पनि बजार नउठेपछि सस्तो बजार डोजर लगाएरै भत्काइएको थियो । व्यवसायीले क्षतिपूर्ति मागेका थिए भने निगमले पाउनुपर्ने १ करोड ८० लाख प्राप्त गरेको थिएन । त्यतिबेला जग्गा ठेक्का लिएका कृष्णप्रसाद श्रेष्ठसँगको निगमको मुद्दा अहिले पनि अदालतमा छ ।
गोर्खालीको आडमा व्यापार गर्दै खतिवडा
गोर्खालीको कम्पनीबाट अख्तियारनामा लिएर अवैध भवन बनाउने र सस्तो बजार चलाउने व्यक्ति हुन्, धादिङका युवराज खतिवडा । केही वर्ष यता पोखराका विभिन्न ठाउँमा जग्गा भाडामा लिएर सटर र कोठाहरु बनाउँदै सस्तो बजार भन्दै भाडामा लगाउने र बिक्री गर्ने गर्दै आएका खतिवडाले शुरुदेखि कानुनकै बर्खिलापमा काम गर्दै आएका छन् पोखरा पृथ्वीचोकस्थित निगमको जग्गामा खतिवडाले नगरपालिकाको स्वीकृतिबेगर तला थपेर ब्यापार गरिरहेका छन् । नगरपालिकाले खतिवडालाई पटक पटक पत्रकाटे पनि बेवास्ता गरे ।
तर खतिवडालाई कुनै कारबाही नगर्नुले जनप्रतिनिधिकै स्वार्थ बाझिएको स्थानीयको आरोप छ ।
खतिवडाले अहिले पोखरा–१८ स्थित सेदीमा अर्को सस्तो बजार बनाइरहेका छन् । त्यहाँ पनि उनले कानुन विपरितका संरचना बनाएका छन् । खतिवडासँग पटकपटक निर्माण स्वीकृति लिएको कागज देखाउन आग्रह गरेको भए पनि अटेरी गरेको पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले बताउँछन् ।
खतिवडाले सेदीमा वाईयुके कन्ट्रक्सन कम्पनीमार्फत वाइयुके सुपरमार्केट बनाइरहेका छन् । महानगरकै स्वीकृतिबेगर भवन बनाइरहँदा जनप्रतिनिधि भने निरीह बनेका छन् । छोटो समयमै आर्थिक छलाङ मारेका खतिवडाको धन्दा गुण नाइके तथा राजनीतिक नेताहरुको आडमा सस्तो बजार बनाउने बेच्ने, जग्गाको कारोबार गर्ने र ढुंगागिटीकोसमेत काम गर्ने गर्दै आएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
उनले सिद्धार्थचोकमा पनि यस्तै सस्तो बजार चलाएका छन् । मालेपाटनमा पनि यस्तै प्रकृतिको सस्तो बजार छ भने अहिले नागढुंगा र सेदीमा सस्तो बजारका लागि भन्दै टहरा बनाइरेका छन् । सिर्जनाचोकमा पनि खतिवडाले यस्तै बजार खालेका थिए ।
खतिवडाकै दाबीअनुसार अहिले १० ठाउँमा यस्ता बजार छन् । खतिवडाले खोलेको बजारमा व्यवसाय गरिरहेका एक जनाले भने, ‘सटर तथा कोठामा भाडा लिनुअघि नै १ देखि १० लाख रुपैयाँसम्म धरौटी लिएर सम्झौता गराउँछन्, त्यो प्रत्येक वर्ष कटिँदै जान्छ र पसल छोड्ने भएपछि मात्रै सबै काटेर फिर्ता गर्ने गर्छन् ।’ १ सय सटरबाट औसतमा ३ लाख रुपैयाँ धरौटी लिए भने पनि ३ करोड रुपैयाँ उठ्छ । धरौटी रकमबाटै सबै निर्माण खर्च कटाएर पनि अन्यत्र लगानी गर्न पाउने र महिनावारी भाडा पनि सुरु भइहाल्ने भएपछि छिट्टै आर्थिक हैसियत उकासिएको उनी नजिकका मान्छेहरु बताउँछन् ।
ख्तिवडाले पोखरा–५ पस्र्याङमा पनि सार्वजनिक जग्गा मिचेर घर बनाएका छन् । प्रहरी र वडा नम्बर ५ का जनप्रतिनिधिले त्यो संरचना भत्काउन खोज्दा अभद्र व्यवहार गरेको भन्दै उनी पक्राउ परेका थिए । केही समयअघि फेवाताल किनारमा माटो हाल्दै गर्दा पनि पक्राउ गरेको थियो, तर केही दिनै छुटेका थिए ।
महानगरलाई खतिवडाको चुनौती
रकमकै विषयमा अदालतमा परेको मुद्धा कायमै रहेका बेला फेरि अर्को झमेला पर्ने भएपछि वायुसेवा निगमले जिल्ला प्रशासन कार्यालय, कास्की गुहारेको हो ।
कास्कीका सीडीओ जयनारायण आचार्यले निगमले चिठी पठाएको, तर के गर्ने भन्ने निर्णय भइनसकेको बताए । पैसा नबुझाए सम्झौता रद्ध हुने भएकाले गोर्खाली र निगमले आपसमा मिलाउनुपर्ने उनको भनाइ छ ।
गोर्खालीबाट अख्तियारनामा लिएर सटर भाडामा लगाइरहेका खतिवडाले भने आफ्नो संरचना भत्काएर देखाउन पोखरा महानगरलाई चुनौती दिएका छन् ।
केही ढिला भए गरेर भए पनि रकम तिर्ने भन्दै उनले अघि भने, ‘फेवाताल किनारमा घर नै बिना स्वीकृति बनिहेका छन् । अरुलाई छुट र युवराज खतिवडालाई कानुन लाग्ने हुँदैन होला । महानगरले अरुको भत्काउँछ भने मेरो पनि भत्काओस् ।’
प्रतिक्रिया 4