+
+

पुँजीगत खर्च कम हुनुमा अर्थले औंल्यायो दुई कारण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते २१:४२

३ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो ६ महिनामा १३ दशमलव ४४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । यसो हुनुमा प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा जानु मूख्य कारण रहेको अर्थ मन्त्रालयले बताएको छ ।

पहिलो ६ महिनाको सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक केलाउँदै अर्थ मन्त्रालयले यस्तो स्पष्टीकरण दिएको हो । अर्थले भनेको छ, ‘सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ,सोही अवधिको समग्र खर्चमा भने उतार चढाव देखिएको छ ।’

आर्थिक वर्ष २०७६÷७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७\७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्ष २०७८÷८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजश्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो ।

अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको अर्थले जनाएको छ । आर्थिक वर्ष २०७६\७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७\७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो । चालु आर्थिक वर्ष २०७८\८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ९६ प्रतिशत कम हो ।

समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आर्थिक वर्ष २०७६\७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आर्थिक वर्ष २०७७\७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो । चालु आर्थिक वर्ष २०७८\८९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?