
३ माघ, काठमाडौं । नेपाली सेनामा फौजदारी अभियोग लागेका व्यक्तिले जागिर खाइरहेको पाइएको छ । सेनाको कानूनी पाटो हेर्ने निकाय प्राड विवाकमा कार्यरत सेनानी राजकुमार रञ्जितकार डाँका मुद्दामा जिल्ला अदालत, काभ्रेबाट वारेन्ट जारी भएको व्यक्ति भएको खुलेको हो ।
जिल्ला अदालत, काभ्रेले रञ्जितकार प्रतिवादी रहेको मुद्दामा २०६३ सालमा फैसला गर्दा उनी फरार रहेकाले डाँका सम्बन्धी अभियोग मुल्तबीमा रहने भनिएको थियो । अदालतमा प्रहरीले बुझाएको प्रतिवेदन अनुसार ६ वैशाख २०५८ को राति काभ्रेको साबिक टुकुचा नाला गाविस–६ स्थित यदुराज गिरीको घरमा डकैती भएको थियो ।
त्यसवेला इलाका प्रहरी कार्यालय, बनेपामा बुझाइएको जाहेरीमा झण्डै ६०/७० जना सशस्त्र माओवादीसहित घर घेरेर ३२ लाख ५६ हजार ५ सय बराबरको धनमाल डाँका गरिएको भन्दै खोजतलास गरिदिन भनिएको छ ।
गिरीले दिएको हुलिया अनुसार डकैतीमा संलग्न शिवप्रसाद दाहाल पक्राउ पर्दा गाडीमा पुरानो हाँडीभित्र पुरानो नोट १० को २५१ वटासहित सुन र चाँदीका गरगहना बरामद भएको थियो । उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै भरत सापकोटा नामक व्यक्तिलाई पोलेका थिए ।
‘उनीसँग भैंसी किनबेचको कारोबार हुन्थ्यो, उनले २०५८ साल वैशाख १७ वा २२ गते राति साढे ८ बजे आएर सामान राख्नुपर्यो भनेका थिए’ दाहालको बयान छ, ‘त्यतिवेला मलाई पनि कुटपिट गरी सागबारीको खाल्टो खनेर सामान राखिएको थियो ।’
दाहालको बयान र अनुसन्धानमा खुलेका तथ्यका आधारमा पक्राउ परेका श्यामकृष्ण गिरी, विदुर गिरी, रामप्रसाद दाहाल लगायतले २३ असोज २०५८ मा रञ्जितकारसहितका फरार प्रतिवादीहरुले गिरीको घरमा बन्दुक र पेस्तोल देखाएर डाँका गरी लुटेको खुलाएका थिए ।
रञ्जितकारसहित १५ जना फरार रहेको भन्दै तत्कालीन काभ्रे जिल्ला न्यायाधीशले आदेशको ठहर खण्डमा भनेका छन्, ‘…मौकामा पक्राउ परेको नदेखिएको र निजहरुको नाममा जारी भएको वारेन्टसहितको म्यादी पूर्जीको म्यादमा समेत उपस्थित नभइ पक्राउ नपरी फरार रहेको देखिएकाले ती फरारी हाजिर भएमा वा पक्राउ भएका बखत कारबाही गर्ने गरी निजहरुको हकमा चोरीको १० नं. बमोजिम मुल्तबीमा राख्ने ठहर्छ ।’
जाहेरीमा रञ्जितकारको ठेगाना बनेपा नगरपालिका–४ भनिएको छ भने त्यतिवेला उनको उमेर २३ भनिएको छ । तर नेपाली सेनाको प्राड विवाकमा रञ्जितकारले २०६३ पुसमा नागरिकताको नयाँ प्रतिलिपि निकालेर जागिर खाएको स्रोत बताउँछ ।
स्रोतका अनुसार उनले प्रतिलिपि निकाल्दा आफ्नो ठेगाना काभ्रेको टुकुचा–५ भनेर उल्लेख गरेका थिए । रञ्जितकारकी छोरीले राष्ट्रिय मानवअधिकार आयोगमा बुझाएको एक निवेदनमा पनि उनी ‘डाँका मुद्दा’को फरार अभियुक्त भएको उल्लेख गरिएको छ ।
‘माओवादीमा लागेर उनले बनेपामा १७ आना जग्गा जोडेका छन्’ छोरीले लेखेकी छन्, ‘उनले काभ्रेमा घिमिरे गिरी गाउँबाट डाँका गरी ल्याएको सुन आमालाई दिएका थिए ।’ छोरीले रञ्जितकार सेनामा भर्ना हुनुअघि माओवादीका लागि खानेपानीको पाइप काट्ने काम गर्ने गरेको भनेकी छन् ।
निवेदनमा उल्लेख भएअनुसार जागिर खानुअगावै विवाह गरेका रञ्जितकारले सेनामा जाँदा आफूलाई अविवाहित भनेर भर्ना गराएका थिए । श्रीमतीले जंगीअड्डामा उजुरी दिन जाँदा प्राड विवाकका अधिकारीले वास्ता नगरेको भन्दै छोरीले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएकी थिइन् ।
‘निजबाट मानाचामल भराइ पाउँ भन्दै धेरैपटक विवाकमा जाँदा सम्बन्ध विच्छेद गर्न भनियो, दुर्व्यवहार गरियो’ छोरीले भनेकी छन्, ‘उजुरी लिएर जाँदा प्राड विवाकका सबैले उनी जर्नेलका मान्छे हुन्, तपाईंको यहाँ कुनै सुनुवाई हुँदैन भनेपछि आयोगको शरणमा परेका हौं ।’
सैनिक प्रवक्ता नारायण सिलवालले रञ्जितकार नेपाली सेनाको प्राड विवाकमा कार्यरत व्यक्ति भएको पुष्टि गरेपनि उनीविरुद्ध कुनै उजुरी भएको थाहा नभएको अनलाइनखबरलाई बताए ।
‘उहाँ यहाँ कार्यरत हुनुहुन्छ, केही समस्या भए, नभएको थाहा भएन’ उनले भने, ‘कतैबाट उजुरी आए सैनिक ऐन वा अन्य प्रचलित कुनै कानून अनुसार सैनिक अदालत वा नागरिक अदालतबाट कारबाही हुन्छ ।’
प्रतिक्रिया 4