+
+
कोभिड-१९ :

अस्पताल भर्ना हुने अधिकांश संक्रमित दीर्घरोगी

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७८ माघ ६ गते २१:१०

६ माघ, काठमाडौं । कोभिड–१९ युनिफाइड अस्पतालमा बिहिबार दिउँसो दुई एम्बुलेन्स एकैसाथ आकस्मिक कक्ष बाहिर रोकिए । अस्पतालको आकस्मिक सेवाको ढोकामै आइपुगेको एम्बुलेन्सलाई स्वास्थ्यकर्मी तथा सुरक्षागार्डले रोके । बिरामीका आफन्त सोधे, कहाँबाट ल्याउनु भएको हो ? श्वास फेर्न गाह्रो भएको छ ?’

बिरामीलाई तुरुन्तै आकस्मिक कक्षमा पुर्‍याए । अक्सिजन लेबल जाँच गर्दा ८५ प्रतिशतभन्दा तल झरिसकेको थियो । चिकित्सकहरुले अक्सिजन सपोर्टसहित उपचार थाले । चिकित्सकहरुका अनुसार दुवै जना दिर्घरोगी भएको पाइएको छ ।

आकस्मिक कक्षका चिकित्सक डा. आशिष बस्नेतका अनुसार पछिल्लो दिनमा अस्पतालमा चाप बढ्दो छ र भर्ना हुने ७० प्रतिशतभन्दा बढी कोरोना संक्रिमित दिर्घरोगीहरु छन् । अस्पताल आइपुग्दा अक्सिजनको लेबल तल झरिसकेको हुन्छ ।

पछिल्लो २४ घण्टामा मात्र ४१ जना संक्रमित अस्पतालको आकस्मिक कक्षमा आइपुगेका थिए, जसमध्ये ३१ जनालाई भर्ना गरिएको छ । ११ जना आईसीयू तथा भेन्टिलेटरमा छन् । बाँकी एचडीयूका साथै जनरल बेडमा उपचार भइरहेको छ ।

अस्पतालमा अहिले १२० जना कोरोना संक्रमितले उपचार भइरहेको छ, जसमध्ये १९ जना आईसीयूमा छन् । युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार हाल सामान्य संक्रमितलाई भर्ना लिइएको छैन । ‘सामान्य संक्रमित छैनन् । अधिकांश दीर्घरोगी संक्रमित भएकाले पनि अस्पतालमा चिकित्सकहरु २४ घण्टा स्टाण्डबाई राखेका छौं,’ डा. बस्नेतले भने ।

चिकित्सकहरुका अनुसार संक्रमण समुदाय स्तरमा फैलिसकेकाले भर्ना हुने दर बढिरहेको छ ।

अस्पतालका कोभिड कोअडिनेटर डा. उमेश बोगटी ओमिक्रोन भेरियन्टले बढी दिर्घरोगीलाई समस्या भएको बताउँछन् । अबको दुईहप्ता अस्पतालमा भर्ना हुने चाप बढ्ने भन्दै भन्छन्, ‘समुदायमा संक्रमणले व्यापकता पाएको छ, जसका कारण दिर्घरोगी तथा जेष्ठनागरिकलाई गम्भीर बनाउने निश्चित छ । दिर्गरोगीलाई कोरोनाको समस्या देखिएको खण्डमा तुरुन्तै अस्पताल ल्याउनुहोस् ।’

दम, क्यान्सर, मृगौला तथा कलेजोसम्बन्धी रोग भएका विरामीहरुलाई कोरोना संक्रमणपछि आईसीयूमा राखेर उपचार गर्नुपरेको छ । भन्छन्, ‘कतिपय जटिल भएपछि अस्पताल आइपुग्छन् । जसलाई बचाउन एकदमै कठिन हुन्छ ।’

अस्पतालको तथ्यांकले पनि पछिल्लो दिनमा कोरोना संक्रमितको मृत्युको संख्या पनि उकालो लागेको देखाएको छ ।

डा. बस्नेतका अनुसार एकहप्तासम्म कुनै दिन शून्य त कुनै दिन एक जनाको मृत्यु हुने गरेको थियो । तर, हिजोआज दैनिक मृत्यु हुनेको संख्या तीनमा पुग्ने गरेको छ ।

जनशक्तिको चर्को अभाव

युनिफाइड अस्पतालको सजिर्कल भवनबाट ५०० विरामीलाई राखेर उपचार गर्ने क्षमता छ । आईसीयू तथा भेन्टिलेटर १००, एचडीयू २०० र जनरल बेड ३०० गरी सर्जिकल भवनमा हाल ५ सय बेड सञ्चालन गर्न सकिने छ ।

अस्पतालमा भएको लिक्विड अक्सिजन प्लान्टले करिब पाँचसय बिरामीलाई अक्सिजन पुग्ने अनुमान गरिएको छ । ‘आवश्यक पर्दा सर्जिकल भवनसँगै वीरको पुरानो भवन पनि लिएर संक्रमितको उपचार गर्ने गरी व्यवस्थापनमा जुटेका छौं,’ डा. बस्नेत भन्छन् ।

तर, स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेकाले समस्या बढेको छ । बिहीबारसम्म वीरमा १७० भन्दाबढी संक्रमित भएका छन्, जसमध्ये ५० जना डाक्टर, नर्स लगायत छन् । जनशक्ति अभावकै कारण अतिआवश्यक सेवा, आकस्मिक र कोभिड उपचार सेवालाई मात्र निरन्तरता दिइएको डा. बस्नेत बताउँछन् ।

जर्नरल बेडको दृश्यले पनि त्यही भन्छ । संक्रमितकै हेरचाहमा आफन्तहरु नै खटिनु परेको छ ।
‘जनशक्ति अभावले संक्रमितको बेड–बेडमा पुगेर औषधि, खाना खुवाउन भ्याउँदैननौं । कुरुवालाई सुरक्षाका मापदण्ड पालना गरेर खाना खुवाउन तथा प्रत्यक्ष निगरानीमा सामान्य औषधि खुवाउन आग्रह गरेका छौं,’ बार्डमा कार्यरत एक नर्सले भनिन् ।

ओमिक्रोन भेरियन्टले संक्रामक भएपनि धेरै घातक नभएकाले अस्पतालमा विरामीहरुको व्यवस्थापनमा केही सहज भएको डा. बस्नेत बताउँछन् । तर अबका केही हप्ता अस्पतालमा विरामीहरुको व्यवस्थापन चूनौतिपूर्ण हुने उनको आंकलन छ । अन्य अस्पतालबाट रेफर भएर आउने बिरामीलाई पनि लिइरहेको भन्दै उनले आग्रह गरे, ‘साधारण बिरामी अहिले अस्पताल नआइदिनुहोस् ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?