+
+

युथ क्याम्पसका प्रमुखको दाबी : घुस दिन नसक्दा सम्बन्धन खारेज भयो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १४:०२

६ माघ, काठमाडौं । युथ क्याम्पस, जनकपुरले २०७५ भदौमा मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन्स) कार्यक्रम सञ्चालनको त्रिभुवन विश्वविद्यालयबाट अनुमति पायो ।

२०७६ बाट पढाइ शुरु गर्‍यो । विद्यार्थीको परीक्षा फारम स्वीकृत गर्नुभन्दा पहिले कलेजले शुल्क बुझाएर २०७७ साल पुस २८ गते सम्बन्धन पत्र बुझेको थियो ।

तर फागुन २०७७ मा त्रिविले सम्बन्धन खारेज गरिदियो । ‘रजिष्ट्रारको कार्यलयमा परेको उजुरीको आधारमा छानविन गर्दा त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय र योजना निर्देशनालयबाट त्रिविको नियम, विनियमलाई अनुशरण नगरी युथ कलेजलाई बीसीए कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको देखिएको, त्रिविको कार्यकारी परिषदबाट भएको २०७५ साल भदौ १० को निर्णयलाई आधार मानी दुई वर्षपछि कार्यक्रम सञ्चालनको प्रकृया शुरु गरेको र त्रिवि अनुगमन निर्देशनालयबाट खटाइएका अनुगमनकर्ताहरुबाट स्थलगत निरीक्षण हुँदा कार्यक्रम सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारको समेत नभएको’ले सम्बन्धन खारेज गरिएको त्रिविले बताएको छ ।

युथ क्याम्पसका प्रमुख शिव नारायण झाको आरोप छ, ‘त्रिविको अनुगमन निर्देशनालयका केही व्यक्तिहरुले चौथो सेमेष्टरमा अध्ययनरत प्रति विद्यार्थी एक लाख रुपैयाँ मागेको र उक्त रकम दिन नसक्दा कलेजको सम्बन्धन खारेज भयो ।’

अनुगमन निर्देशनालयका तत्कालीन उप निर्देशक प्रा.डा. ओमप्रसाद बरालको अगुवाइमा तीन सदस्य टोलीको गलत नियतका कारण सम्बन्धन खारेज गरिएको उनको दाबी छ । भन्छन्, ‘अनुगमन समितिले गलत रिपोर्ट बुझाएको कारण विद्यार्थीलाई दुःख भइरहेको छ ।’

क्याम्पसले कार्यक्रम सञ्चालनका लागि समयमा सेवा शुल्क बुझाउन नसकेको झाले स्वीकार गरे । कति समयभित्र सम्बन्धन शुल्क बुझाउनुपर्ने भन्ने नतोकिएको भन्दै उनले सम्बन्धनसम्बन्धी विनियम, २०७३ अनुसार सफाइको मौका समेत नदिएको उनले बताए ।

सम्बन्धन खारेजविरुद्ध झा सर्वोच्च अदालत गएका थिए । ९ साउनमा पेशी समेत तोकिएको थियो । त्यही दिन भीसी कार्यलयले अनुगमन निर्देशनालय उप–प्रमुख विष्णु वाग्ले, आईटी प्रमुख प्रा.डा. सुवर्ण शाक्य र आईसीटी प्रमुख रोमकान्त पाण्डेको अनुगमन समिति बनायो ।

समितिले पहिलो व्याच सञ्चालनका लागि भौतिक पूर्वाधार ठिकै रहेको, तर थप सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन बुझाएको निर्देशनालय उप निर्देशक विष्णु वाग्लेले बताए । भन्छन्, ‘हामीले साउनमै पहिलो वर्षलाई आवश्यक पूर्वाधार ठिकै भएको र अर्को वर्ष सुधार गर्नुपर्ने सुझावसहित प्रतिवेदन बुझाएका थियौं । कहाँ थन्किएको छ, थाह छैन ।’

आवश्यक पूर्वाधार नहेरी सम्बन्धन दिनु र अहिले खारेज गर्नु डिन कार्यलयको कमजोरी रहेको उपनिर्देशक वाग्ले बताउँछन् ।

डिन कार्यलयको कमजोरीको कारण विद्यार्थीले समस्या भोग्नु परेको वाग्लेले बताए । सम्बन्धन पाएपछि भर्ना भएका चौथो सेमेष्टरमा ३२ जना र दोस्रो सेमेष्टरमा ३५ विद्यार्थीको परीक्षा व्यवस्थापनका लागि करिब ३५ किलोमिटर टाढा बर्दिवासस्थित नवक्षितिज कलेजमा गरिएको छ ।

त्रिविको सम्बन्धनसम्बन्धी विनियममा कुनै कारणवस सम्बन्धन स्थगन वा खारेजी भए क्याम्पसले भर्ना भएका विद्यार्थीहरुको अध्ययन पूरा गराउन नसकेमा नजिकैको पायक पर्ने अन्य क्याम्पसहरुमा अध्ययन पूरा गराउन निर्देशन दिन सक्नेछ । त्यस्ता विद्यार्थी अध्ययन पूरा गराउन लाग्ने खर्च स्थगन वा खारेजीमा परेको क्याम्पसले बेहोर्नुपर्नेछ ।

त्यहीअनुसार कलेजले विद्यार्थीलाई पढाइरहेको छ । तर यो वर्ष पनि नयाँ भर्ना दिन नपाए अघिल्लो दुई वर्षका विद्यार्थीको अध्यापन गराउन क्याम्पसलाई गाह्रो पर्ने क्याम्पस प्रमुख झा बताउँछन् । मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन प्रा.डा. कुसुम शाक्यले भने नबोल्ने बताइन् । उनले भनिन् ‘अहिले म यो विषयमा प्रतिकृया दिन चाहन्न ।’

त्रिविले बीसीए तर्फको यो वर्षको प्रवेश परीक्षा यही शनिबार लिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?