+
+

डोटीमा इन्जिनियरिङ क्याम्पसका लागि जग्गा हस्तान्तरण

रामहरि ओझा रामहरि ओझा
२०७८ माघ ११ गते ९:०३

११ माघ, डोटी । डोटी जिल्लामा इन्जिनियरिङ विषय पढाइ हुने क्याम्पसका लागि जग्गा हस्तान्तरण भएको छ ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगत खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले एक सय २० रोपनी जग्गा खरीद गरी विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । विश्वविद्यालयले क्याम्पसका लागि स्थानीय तहले जग्गा उपलव्ध गराउनु पर्ने भनेपछि दिपायल सिलगढी नगरपालिकाले जग्गा खरीद गरी हस्तान्तरण गरेको हो ।

‘इन्जिनियरिङ क्याम्पसलाई आवश्यक पर्ने जग्गा नगरपालिकाले खरीद गरी हस्तान्तरण गरेको छ’ नगर प्रमुख मन्जु मलासीले भनिन्, ‘अब क्याम्पसको भौतिक पूर्वाधार निर्माणको कार्य औपचारिक रुपमा अगाडि बढेको छ ।’ उनले दिपायल सिलगढी नगरपालिका-६ मा जग्गा खरीद गरिएको बताइन् । स्थानीयवासीसग एक सय २० रोपनी जग्गा खरीद गरी खप्तड इन्जिनियरिङ क्याम्पसका नाममा नामसारी समेत भइसकेको नगर प्रमुख मलासीले बताइन् ।

अब उक्त जग्गासम्म जाने सडक, खानेपानी र विद्युतका लागि नगरपालिकाले लगानी गर्ने मलासीले जानकारी दिइन् । ‘प्रदेश राजधानी डोटीमै हुनु पर्ने डोटेलीको माग पूरा हुन सकेन’ मलासीले भनिन् ‘अब डोटीलाई शैक्षिक हबका रुपमा विकास गर्नु पर्छ भन्ने हाम्रो जोड हो ।’ यसका लागि आफूले सक्दो प्रयास गरिरहेको मलासीको भनाइ छ ।

क्याम्पसको जग्गाको जग्गाधनी प्रमाणपूर्जा बुझ्दै त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि तथा डोटी बहुमुखी क्याम्पसका प्रमुख डिलानन्द जोशीले विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना हुन लागेको बताए । उनले जग्गा खरीद गर्नका लागि नगर प्रमुखले गरेको प्रयासको प्रशंसा गर्दै स्थानीय सरकारको सक्रियताले डोटीमा प्रदेशस्तरको इन्जिनियरिङ क्याम्पस बन्न लागेको बताए ।

‘स्थानीयवासीहरु, नागरिक समाज र राजनीतिक दलहरुले पनि सकारात्मक भूमिका खेल्नु भएको छ’ क्याम्पस प्रमुख जोशीले भने, ‘अब छिट्टै क्याम्पस सञ्चालन हुने वातावरण बनेको छ ।’ उनले अर्को शैक्षिक सत्रबाट अध्ययन/अध्यापन हुने गरी काम अगाडि बढाउनु पर्ने बताए । जग्गा प्राप्त भइसकेपछि क्याम्पसको भौतिक संरचनाको डीपीआरको कार्य अगाडि बढ्ने जोशीले जानकारी दिए ।

‘पोखराभन्दा यता त्रिभुवन विश्वविद्यालयको आंगिक इन्जिनियरिङ क्याम्पस थिएन,’ उनले भने, ‘हाल दाङ र डोटीमा क्याम्पस स्थापना गर्ने गरी काम अगाडि बढेको हो ।’ उनले संरचना निर्माण नभएसम्म हाल उपलव्ध संरचनाहरु प्रयोग गरेरै भएपनि अध्यापन सुरु गर्नु पर्ने विचार व्यक्त गरे ।

जग्गा हस्तान्तरण कार्यक्रममा मालपोत कार्यालय डोटीका नायब सुब्बा सिद्धराज श्रेष्ठले एक सय २० रोपनी जग्गा क्याम्पसको नाममा नामसारी भइसकेको र थप १० रोपनी प्रक्रियामा रहेको बताए । उनले कानूनी प्रक्रिया पूरा गर्दा केही समय लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?