+
+

होटल रेष्टुरेण्टले मेनुको मूल्यमा भ्याट भनेर थप रकम लिन पाउँछन् ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ माघ १३ गते १८:५६
फाइल तस्वीर

१३ माघ, काठमाडौं । गत पुस १२ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा एक जना उपभोक्ताले आफू रेष्टुरेण्टको मेनुमा ठगिएको भन्दै कारबाही माग गरेर उजुरी दिए ।

झण्डै पाँच महिना अघि काठमाडौंको बुढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टको मेनुबाट आफू ठगिएको भन्दै उनी विभागमा आएका थिए ।

उनले खाजा नास्ता खाएको (पाँच बोत्तल बियरसहित)को बिल भनेर ग्रिन भ्याली रिसोर्टले १५ हजार ७४७ रुपैयाँको बिल थमाएको थियो । उनले बिलसहित दिएको उजुरीमा रिसोर्टले आफूलाई करको गलत ब्याख्या गरेर १ हजार ८११ रुपैयाँ ठगेको र उपभोक्ता माथि अपराध गरेको उल्लेख छ । उनले ‘रिसोर्टलाई कारबाही र ठगिएको रकमको क्षतिपूर्ति माग गर्दै निवेदन दिएका थिए ।

पाँच महिनाको अवधिमा विभिन्न सरकारी निकायमा कानुनी उपचार खोज्दै हिंडेका ती निवेदक अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जिल्ला अदालत पुगेका छन् ।

रिसोर्टका ग्राहकले भ्याट छुट्टै जोड्न नपाइने भन्दै बिलमा आफू ठगिएको भन्दै क्षतिपूर्ति दाबी गरे । रिसोर्ट सन्चालकले भने मेनुको तल लेखिएअनुसार १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट अतिरिक्त ग्राहकले तिर्नैपर्ने तर्क गरे । यो विवाद अहिले जिल्ला अदालत पुगेको छ ।

‘झट्ट हेर्दा पाँच बोत्तल बियर खाएको उजुरी जस्तो लाग्ने यो घटनाले होटल, रेष्टुरेण्ट गएर खर्च गर्ने तर मेनु र बिलमा खासै चासो नराख्ने उपभोक्ता कसरी ठगीमा परेका छन् भन्ने रहस्य खुल्छ’ विभागका एकजना अनुसन्धान अधिकारीले अनलाइनखबरसँग भने ।

उपभोक्ताले खासै चासो नदिएको यस्तो प्रकरणले एकातर्फ सरकारलाई होटल रेष्टुरेण्टले छल्ने करको पाटो देखिन्छ भने अर्कोतर्फ थाहै नपाई उपभोक्ता दोहोरो करको मारमा कसरी पर्छन् भन्ने कुरा उदाङ्गो पार्छ । तर, यसलाई केही समय अदालतको निर्णय भने पर्खनु पर्ने विभागका अधिकारीहरु बताउँछन् ।

भएको के थियो ?

गत साउन १० गते उजुरीकर्तासहितको दुई परिवार रिसोर्टमा खानपिनका लागि पुगेका थिए । अनलाइनखबरलाई प्राप्त बिल विवरणअनुसार उनीहरुले पाँच बोत्तल बियरसहित १४ फरक परिकार खाएका थिए । मेनुमा लेखिएअनुसारको मूल्य जोड्दा त्यसको एकमुष्ट रकम १४ हजार ९०५ रुपैयाँ हुन्थ्यो ।

उक्त मूल्यमा रिसोर्टले १५ प्रतिशत अर्थात २ हजार २३५ रुपैयाँ ७५ पैसा छुट ग्राहकलाई दियो । छुट हुँदा कायम मूल्यमा १० प्रतिशत सेवा शुल्क भनेर १ हजार २६६ रुपैयाँ ९३ पैसा र १३ प्रतिशत भ्याट भनेर १ हजार ८११ रुपैयाँ जोड्यो । यसरी रिसोर्टले कूल जम्मा १५ हजार ७४७ रुपैयाँ ८८ पैसाको बिल ग्राहकलाई थमायो । १३ प्रतिशत भ्याट जोडिएको यही बिल विवादको कारण बन्यो ।

रिसोर्टका ग्राहकले भ्याट छुट्टै जोड्न नपाइने भन्दै बिलमा आफू ठगिएको दाबी गरे । रिसोर्ट सन्चालकले भने मेनुको तल लेखिएअनुसार १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट अतिरिक्त ग्राहकले तिर्नैपर्ने तर्क गरे । ग्राहकले होटल वा रिसोर्टले वस्तुको मूल्य तय गर्दा नै करसहितको मूल्य तोक्नु पर्ने र अतिरिक्त भ्याट त्यसमा जोड्न नपाइने भनेपछि केही समय विवाद भयो ।

ग्राहकको दाबी रिसोर्टले मानेन विवादका बीच बिल मागेर आफू रिसोर्टबाट बाहिरिएको र कानुनी उपचार खोजेको ती पीडितले अनलाइनखबरलाई बताए । ‘खासमा रिसोर्टमा एक दिन रमाइलो गर्न गरेको खर्चमा यत्रो कानुनी लडाइँ भन्ने प्रश्न उठ्न सक्छ तर म पात्र माथि भएको अन्यायले यस क्षेत्रमा भइरहेको ठगीको लहरो उद्घाटन गर्छ,’ ती पीडित भन्छन् ।

कानुनले भन्छ– भ्याट जोडेर थप रकम लिन पाइँदैन

मेनुमा लेखिएको खाद्य वस्तुको मूल्यबाहेक थप १३ प्रतिशत भ्याट जोडेर लिन कानून अनुसार पाइँदैन । मूल्य अभिवृद्धि नियमावली २०५३ ले यसलाई निषेध गरेको छ ।

नियमावलीको भाग १४ ‘ख’ मा करसहितको मूल्य उल्लेख गर्नु पर्ने शीर्षकमा यस सम्बन्धी व्यवस्था स्पष्ट पार्दै भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने बस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा करसहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’

आन्तरिक राजश्व कार्यालय लाजिम्पाटले पनि ग्रीन भ्याली रिसोर्टको मेनुमा छुट्टै मूल्य र त्यसमा थप कर लगाउने कार्य गर्नु कानुन विपरीतको काम भएको बताएको छ ।

पीडित निवेदकले आन्तरिक राजश्व कार्यालयमा २०७८ साउन १२ मा गरेको उजुरीको आधारमा गरिएको स्थलगत निरीक्षणमा मेनुमा कर लाग्ने मूल्य उल्लेख गरी त्यसमा लाग्ने सेवा शुल्क र भ्याट थप गरेर उपभोक्ताबाट असुल गर्ने गरेकोे पाइएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजश्व कार्यालयले निवेदकको उजुरी पछि २०७८ पुस २० को पत्रमार्फत दिएको जवाफमा ग्रिन भ्याली रिसोर्टलाई जरिवाना गरिएको र ठगी सम्बन्धी कारबाही तथा रकम फिर्ताको माग भने कार्यालयबाट सम्बोधन नहुने बताएको थियो ।

वाणिज्यबाट अदालत पुग्यो मुद्दा

पीडितको उजुरीपछि ग्रिन भ्याली रिसोर्टलाई आन्तरिक राजश्व कार्यालय लाजिम्पाटले एक हजार रुपैयाँ जरिवाना गरेको छ ।

सो प्रकरणमा आन्तरिकले गरेको कारबाही फितलो भएको भन्दै उजुरीकर्ताले वाणिज्य विभागमा क्षतिपूर्ति दाबीसहित उजुरी गरे । तर, क्षतिपूर्तिको दाबी अदालतबाट मात्रै हुने भन्दै वाणिज्यले पुस १६ गते अदालत जान निवेदकलाई भन्यो ।

वाणिज्यको निर्णयपछि अहिले रिसोर्ट र मेनुको दोहोरो भ्याटको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएको छ । केही दिन अघि मुद्दा दायर गरिएको पीडित ग्राहकले अनलाइनखबरलाई बताए ।

मेनुको मूल्यमा पनि भ्याटसहितको रकम राखिनु र त्यसमा अतिरिक्त १३ प्रतिशत भ्याटले उपभोक्तालाई थप मार पारेको दाबी निवेदकको छ । ‘भ्याट शीर्षकमा गैरकानुनी ढंगबाट २६ प्रतिशत रकम उठाइनु तर सरकारलाई १३ प्रतिशत मात्रै दाखिला गर्नु अपराध हो,’ पीडितले भनेका छन् ।

यस्तो थियो ग्रिन भ्याली रिसोर्टको बिल

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?