+
+

तेस्रो शक्तिशाली पार्टी बन्ने आपको सपना कति नजिक ?

सरोज गौतम सरोज गौतम
२०७८ माघ १४ गते १२:५८

‘एकै खालको उद्देश्यमा राजनीति गरेका पार्टीहरूको प्रभावले प्रदेश र देशको सीमा नाघेर प्रभाव पार्छ। संसारभरि उदारवादी राजनीतिक शक्तिको उदयको समयमा पनि यस्तो देखिन्थ्यो। भारतमा भएको आजादी आन्दोलनको प्रभावले नेपालमा नेपाली कांग्रेसको गठन र सशक्तीकरणमा काम गर्‍यो।

संसारभरि साम्यवादी आन्दोलनको प्रभाव रहँदा नेपालमा समेत कम्युनिष्ट पार्टीहरूको प्रभाव र वर्चस्व रह्यो जुन अहिले पनि छ। नेपालमा वैकल्पिक राजनीति बलियो बन्नलाई भारतमा आम आदमी पार्टी थप बलियो बन्नुपर्छ र त्यसको बहुआयामिक प्रभाव यता पनि पर्छ।’

कुनैबेला विवेकशील साझा पार्टीका प्रवक्ता रहेका डा. सूर्यराज आचार्यले यो पंक्तिकारसँग माथिको निष्कर्ष सुनाएका थिए। अहिले डा. आचार्य विवेकशील साझा पार्टीमा छैनन्। उक्त पार्टीले आफ्नो आधारभूत उद्देश्य वैकल्पिक राजनीतिबाट आफ्नो मार्ग परिवर्तन गरेको छ। पत्रकार बसन्त बस्नेतको शब्दमा भन्ने हो भने नेपालमा वैकल्पिक राजनीतिले लामो विश्रामको बाटो लिएको छ।

नेपालमा विश्रामको बाटो लिए पनि भारतमा भने ठूला ठूला चुनौतीका बावजूद राष्ट्रिय पार्टी मात्र नभई कांग्रेस र बीजेपीको विकल्प बन्ने बाटोमा आम आदमी पार्टी (आप) अघि बढिरहेको छ।

२०२४ को लोकसभा चुनाव हुनुअगावै नै खासगरी हिन्दी भाषी प्रदेशमा आम आदमी पार्टीको मतदाता बीच जुन ‘अफेन्सिभ पेनिट्रेसन’ देखिएको छ। त्यसले आम आदमी पार्टीले छिट्टै राष्ट्रियस्तरमा नै दुई ठूला पार्टीको विकल्पको रूपमा देखिने संकेत देखाएको हो।

आप २०१३ मा भएको अन्ना हजारेको स्वराज आन्दोलन तथा भ्रष्टाचार विरोधी जनलोकपाल बिलको आन्दोलनको जगमा जन्मेको राजनीतिक दल हो। जनतालाई शक्तिशाली बनाउने तथा हर तरहले जनताका मुद्दाहरू जनताकै तहबाट समाधान गर्नको निम्ति जनताका सामान्य मुद्दाहरू बोक्ने दलको रूपमा भारतीय राजनीतिमा उदाएको पार्टी हो। जनजीविकाका मुद्दालाई राजनीति मार्फत उठाएर शिक्षा, स्वास्थ्य लगायतका डेलिभरी सहितको सरकारको अभ्यास आपले गरिरहेको छ।

यही अवधारणाको सफल कार्यान्वयन गरेको ‘दिल्ली मोडेल’लाई उसले दिल्लीका जनतामाझ मन जित्ने रूपमा मात्रै सीमित गराएन। त्यसैलाई आफ्नो मुख्य राजनीतिक मुद्दा बनाएर उसले दिल्ली बाहेकका अन्य राज्यका मतदाताबीच पनि त्यसको राम्रै ध्यान तान्न र आवश्यकता बोध गराउन सफल भएको छ।

आपले दिल्लीमा के गर्‍यो ?

आम आदमी पार्टी दिल्लीमा पहिलो पटक सत्तामा पुगेको करीब ९ वर्ष हुन लाग्यो। यो बीचमा दिल्ली सरकारले जुन हिसाबले काम गरेको छ त्यसले भारतीय विकासको भाष्य नै परिवर्तन गरेको छ।

‘दिल्ली शिक्षा मोडेल’, ‘मोहल्ला क्लिनिक सहितको निशुल्क स्वास्थ्य मोडेल’, ‘हाउस होल्डलाई निःशुल्क बिजुली’, ‘प्रभावकारी सार्वजनिक सवारी’, ‘महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता’, भ्रष्टाचारको अन्त्य तथा रोजगारीका लागि औद्योगीकरणको लागि अर्थतन्त्रको उद्वेलन लगायतका मुख्य क्षेत्रमा प्रभावकारी काम गरेर कार्यान्वयन गरेको छ र तिनै कामहरूलाई राष्ट्रिय पार्टी बन्ने आफ्नो यात्रामा तिनै एजेण्डाको रूपमा प्रचार गर्न र जनताको विश्वास लिन सफल भएको छ।

कति सहज छ राष्ट्रिय पार्टी बन्न ?

अहिले आम आदमी पार्टीको पहिचान दिल्लीको ‘स्टेट दल’को रूपमा मात्र सीमित छ। यद्यपि अन्य स्टेट तथा नेशनल पार्टीको भन्दा यो पार्टीको फरकपन यो छ कि यसले हरेक राज्यका जनतालाई जोड्न सक्ने र छुन सक्ने विषयलाई आफ्नो प्रमुख राजनीतिको मुद्दा बनाएको छ।

हाल भारतमा राष्ट्रिय पार्टीको पहिचान बनाएका सात राजनीतिक दल छन्। सोनिया गान्धी नेतृत्वको इन्डियन कंग्रेस पार्टी, नरेन्द्र मोदीको भारतीय जनता पार्टी, शरद पावरको नेशनलिस्ट कंग्रेस पार्टी, ममता बनर्जीको त्रिणमूल कंग्रेस पार्टी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) सहित बहुजन समाजवादी पार्टी त्यहाँको राष्ट्रिय पार्टी हुन्।

यी सात पार्टीले राष्ट्रिय पार्टीको दर्जा पाए पनि इन्डियन कंग्रेस र बीजेपी बाहेक अन्य दल तेस्रो शक्तिशाली बनेर यी दुई पार्टीको विकल्पको रूपमा उदाएका छैनन्। अहिले ममता बनर्जीको त्रिणमूल कंग्रेस आफ्नो प्रदेश बाहिर पार्टी विस्तार गर्न अगाडि बढिरहेको छ। यी बाहेक अन्य पार्टीहरूको कानूनी हैसियत नेशनल पार्टीको रूपमा रहे पनि उनीहरू राजनीतिक हिसाबले प्रादेशिक दलकै हैसियतको रूपमा छन्।

बीजेपीको विकल्प बन्ने सम्भावना कति सहज ?

आम आदमी पार्टी कानूनी हैसियतमा अहिले भारतको स्टेट पार्टी नै हो तर यो पार्टीले जुन तहमा अन्य प्रदेशका मतदाताबीच आफ्नो प्रभावलाई बढाएको छ यसले उक्त पार्टी २०२२ को विधानसभा चुनावसम्ममा कानूनी हिसाबले राष्ट्रिय पार्टी र अन्य दुई ठूला दलको विकल्पको पार्टी बन्ने संकेत स्पष्ट देखिएको छ।

भारतमा पार्टीले कानूनी हिसाबले राष्ट्रिय पार्टीको मान्यता पाउन र राष्ट्रिय पार्टी बन्नको निम्ति पहिलो शर्त लोकसभा चुनावमा करीब २ प्रतिशत सिट (११ लोकसभा संसद) विभिन्न तीन फरकफरक राज्यबाट जित्नुपर्ने हुन्छ। या, कुनै पनि पार्टीले विधान या लोकसभा निर्वाचनमा ६ प्रतिशत भोट कटायो भने त्यो पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउनेछ वा विभिन्न चार राज्यमा राज्य पार्टीको मान्यता पायो भने त्यो पार्टीले राष्ट्रिय पार्टीको रूपमा मान्यता प्राप्त गर्दछ।

दिल्लीमा राजनीतिक हिसाबले सफल रहेको आम आदमी पार्टी अन्य राज्यमा समेत बलियो राजनीतिक दलको रूपमा विकसित भएको छ। यसले भारतीय राजनीतिमा आपलाई छिट्टै राष्ट्रिय पार्टी मात्र नभएर त्यहाँ भएका दुई ठूला दलको विकल्पको पार्टीको रूपमा खडा गर्ने सम्भावना देखिएको छ।

आपको केसमा पछिल्लो शर्तले उसलाई राष्ट्रिय पार्टी बन्न सघाउनेछ। अहिलेको ओपिनियन पोललाई आधार मान्ने हो भने पञ्जाबमा आप सरकार बनाउने मत ल्याउन सक्षम रहनेछ भने गोवा र उत्तराखण्डमा आम आदमी पार्टी बलियो पार्टीको रूपमा उदाउने संकेत देखिएको छ।

अन्य प्रदेशमा आपको अवस्था

दिल्लीमा राजनीतिक हिसाबले सफल रहेको आम आदमी पार्टी अन्य राज्यमासमेत बलियो राजनीतिक दलको रूपमा विकसित भएको छ।

पञ्जाबमा आप

पञ्जाबमा २०१७ सालमै आप प्रमुख प्रतिपक्षी पार्टी बनेको थियो र अहिले ओपिनियन पोलको आकलन अनुसार त्यहाँ आम आदमी पार्टीले सरकार बनाउनेछ। आम आदमी पार्टीले आकलन गरे अनुसार नै सरकार बनाउन सक्यो भने आम आदमी पार्टी यस्तो स्टेट पार्टी हुनेछ जुन एउटा राज्यबाट उदाएर अर्को राज्यमा समेत सरकार निर्माण गर्ने हैसियतमा पुग्नेछ। पञ्जाबमा अन्य दलको स्थिति हेर्दा यो पटक आम आदमी पार्टीलाई थप सहज पनि छ।

अघिल्लो पटक इन्डियन कंग्रेसले क्याप्टेन अमरिन्द्रर सिंहलाई मुख्यमन्त्री बनाएको थियो। यसबीचमा कंग्रेसले अमरिन्द्रर सिंहलाई मुख्यमन्त्रीबाट हटाएर चर्नजित सिंह चन्नीलाई मुख्यमन्त्री बनाएको छ भने पूर्व मुख्यमन्त्री अमरिन्द्रर सिंहले पञ्जाब लोक कंग्रेस नामको अर्को पार्टी गठन गरेका छन्। ग्राण्ड वर्ल्ड पार्टी कंग्रेसले वर्तमान मुख्यमन्त्रीलाई नै आगामी मुख्यमन्त्री बनाउँछ या नाबोजित सिंहलाई मुख्यमन्त्री बनाउँछ, अझै टुंगिएको छैन।

यसबीचमा आपले भगवन्तमान सिंहलाई मुख्यमन्त्रीको चेहराको रूपमा अगाडि बढाएको छ। मेसेजिंग एप व्हाट्सएपबाट गरिएको आकलनमा करीब २२ लाख जनताले मुख्यमन्त्रीको रूपमा भगवन्तमान सिंहलाई हेर्न चाहेको भन्ने नतिजालाई आधार मान्दै आपले मुख्यमन्त्रीको उम्मेदवार चयन गरेको हो। ओपिनियन पोललाई आधार मान्ने हो भने आम आदमी पार्टीले करीब ४१ प्रतिशत भोट शेयर सहित ६० सिट ल्याउने प्रक्षेपण गरिएको छ।

सफल दिल्लीको शिक्षा मोडेल, मोहल्ला क्लिनिक सहितको दिल्लीको स्वास्थ्य मोडेल, हाउस होल्डलाई निशुल्क बिजुली तथा पानी, सामाजिक न्याय र महिलाहरूको सुरक्षाको निम्ति दिल्लीमा जुन मोडेलको आम आदमी पार्टीले विकास गरेको छ, यही मोडेलको प्रचार तथा यस्तै अन्य स्टेट बनाउने बाचाका साथ अन्य प्रदेशमा लागेको आपले त्यसअनुसार सफलता समेत हासिल गरेको छ।

गोवामा आप

गोवामा आप दोस्रोपटक विधानसभामा चुनाव लडिरहेको छ। २०१७ को चुनावमा उसले करीब ६ प्रतिशत मत ल्याएको थियो भने पाँच वर्षपछि अहिले जुन रफ्तारले आम आदमी पार्टीले गोवामा काम गरेको छ, उसले यसपटक प्रदेश पार्टीको रूपमा मात्र नभई त्यहाँको प्रमुख प्रतिपक्षी पार्टीको रूपमा उदाउने संकेत गरेको छ।
केही दिन अगाडि आम आदमी पार्टीले गोवामा आफ्नो मुख्यमन्त्रीको उम्मेदवारको रूपमा अमित पत्लेकरलाई उभ्याएको छ भने आफूले सरकार बनाउन सके कसरी काम गर्नेछ भन्ने भिजन पेपर नै सार्वजनिक गरेको थियो।

ओपिनियन पोलले प्रक्षेपण गरे अनुसारकै नतिजा आयो भने यो पटक गोवामा करीब २० प्रतिशत भोट सहित ८ देखि ११ सिट आम आदमी पार्टीले जित्नेछ।

उत्तराखण्डमा आप

हिन्दी भाषी राज्य हिल स्टेटमा समेत आपले आफ्नो सांगठनिक संरचना र चुनावी अभियान जुन तीव्रताका साथ अगाडि बढाएको छ त्यसले बीजेपी र कंग्रेस बाहेकको शक्तिशाली तेस्रो पार्टीको रूपमा उदाउने संकेत देखिएको छ। आम आदमी पार्टीले त्यहाँ एक चिरपरिचित अनुहार पूर्व भारतीय सेना कर्नेल अजय कोठियाललाई मुख्यमन्त्रीको उम्मेदवारको रूपमा उठाएको छ।

शिक्षा, स्वास्थ्य, बिजुली, पानी बाहेक आपले उत्तराखण्डलाई आध्यात्मिक राजधानी बनाउने घोषणा समेत गरेको छ। स्वयम् आपका उम्मेदवार केदारनाथ क्षेत्रको रि-कन्स्ट्रक्सनको लागि परिचित छन्।

करीब १८ प्रतिशत भोट सहित आम आदमी पार्टीले ७ सिट जित्ने प्रक्षेपण गरिएको छ र त्यहाँ आम आदमी पार्टी तेस्रो पार्टीको रूपमा उदाउने प्रक्षेपण गरिएको छ।

यूपीमा आप

भारतको सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशमा समेत आपले आफ्नो संगठन विस्तार बलियो बनाउँदै लगेको छ। स्थानीय चुनावमा करीब ५५ लाख मत ल्याएको पार्टीले उत्तरप्रदेशमा यो पटक पोलिटिकल्ली भिजिबल बन्ने र त्यसकै दिशामा काम गरिरहेको छ।

पार्टीबाट राज्यसभामा रहेका संसद सञ्जय सिंहलाई ईन्चार्ज बनाएर त्यहाँ आपले काम गरिरहेको छ। बीजेपी, समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी तथा कांग्रेसको विभिन्न भोट बैंक रहेको तथा जातीय/धार्मिक/क्षेत्रगत हिसाबले भोट शेयर उच्च रहेको युपीमा अन्य प्रदेशमा जस्तै सहज छैन। तैपनि जुन स्प्रिटमा त्यहाँ आपले काम गरिरहेको छ त्यसले पार्टीलाई धेरै ठाउँमा फैलाउन मद्दत गरिरहेको छ।

गुजरातमा आप

महात्मा गान्धी, सरदार भाइ पटेल लगायत भारतका महान हस्तीहरूको जन्म भएको राज्य हो गुजरात। त्यहाँ अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटकसम्म राज्यका मुख्यमन्त्री समेत रहेका थिए। यसैगरी बीजेपीका शक्तिशाली नेता गृहमन्त्री अमित शाहको पनि गृह राज्य हो।

गुजरातमा अर्को वर्ष निर्वाचन हुँदैछ। गत स्थानीय तहको निर्वाचनलाई आकलन गर्ने हो भने गुजरातको मध्यम वर्गमा आम आदमी पार्टीप्रति आकर्षण बढ्दै गएको छ। म्युनिसिपल कर्पोरेसनको त्यहाँको चुनावमा आपले करीब १४ प्रतिशत भोट ल्याएर बलियो तेस्रो पार्टी बनेको छ भने खिइँदै गएको कांग्रेसको विकल्पको रूपमा प्रस्तुत हुनसक्ने दह्रो सम्भावना बोकेको छ।

करीब ६ ठूला शहरहरू तीमध्ये करीब ५ म्युनिसिपल कर्पोरेसनमा आम आदमी पार्टीले ५ प्रतिशत भोट कटाएको छ। सुरतमा करीब २८ प्रतिशत भोटसहित दोस्रो पार्टी बनेको छ भने राजकोटमा १७ प्रतिशत, भावनगरमा ८.४ प्रतिशत अहमदावादमा ७ प्रतिशत तथा जमानगरमा ६.१७ प्रतिशत भोट ल्याएको छ।

उसले भडोरामा मात्रै ५ प्रतिशत मुनि (२.८१) प्रतिशत भोट ल्याएको हो। यसको प्रभाव आउने विधानसभाको निर्वाचनमा स्वतः पर्ने देखिएको छ, यसले गुजरातमा समेत आप बलियो पार्टीको रूपमा उदाएको छ।

चण्डीगढमा आप

चण्डीगढ पञ्जाब डिभाइड नभइञ्जेल पञ्जाब राज्यको क्यापिटल सिटीको रूपमा रहेको थियो। सन् १९६६ मा पञ्जावबाट हरियाणा नयाँ राज्य बनेपछि दुवैले यसलाई आफ्नो सिटीको रूपमा दावी गरिरहेका थिए। त्यो समयमा चण्डीगढलाई युनियन टेरोटरीको रूपमा राख्दै दुवै राज्यको क्यापिटल सिटीको रूपमा रहेको छ।

चण्डीगढ म्युनिसिपल कर्पोरेसनको अहिले भएको निर्वाचनमा आम आदमी पार्टीले पहिलो पटक निर्वाचनमा भाग लिएको थियो। बीजेपीको दवदवा रहेको उक्त शहरमा यो पटक आम आदमी पार्टीले ३५ सिटमा करीब १४ सिट जित्दै पहिलो पार्टी बनेको छ। योभन्दा अगाडि हुने गरेको कांग्रेस भर्सेस बीजेपी चुनावी प्रतिस्पर्धालाई आपको पहिलो पटकको इन्ट्रीमा नै धक्का दिएको हो।

हिमाञ्चलमा आप

अर्को वर्ष निर्वाचन हुने हिमाञ्चल प्रदेशको ६८ वटै सिटमा आपले निर्वाचन लड्ने संकेत गरेको छ। योसँगै दिल्ली, पञ्जाब, गोवा, उत्तराखण्ड र उत्तरप्रदेशपछि निर्वाचन लड्ने यो छैटौं प्रदेश हुनेछ।

आपले भारतमा यो स्तरको प्रभाव विस्तारित गर्नुको मुख्यतः निम्न कारण छन्-

१. धर्मको द्वन्द्वबाट आजित मध्यमवर्ग

भारत पाकिस्तानको रूपमा दुई देश बनेदेखि नै भारतमा धर्मको राजनीति चर्कोसँग झ्याङ्गिएको छ, बीजेपी सत्तामा आएदेखि नै साम्प्रदायिक घृणाको राजनीति संस्थागत भएको छ।

कट्टरतावादी समुदाय बाहेकको भारतको ठूलो शहरी माध्यम वर्ग यो परम्परागत धर्मको विभाजनबाट बाहिर निस्किन खोजेको छ र यसबाट मुक्त गर्न सक्ने राजनीतिक दलको खोजीमा रहेको मध्यम वर्गीय भारतीयहरूको लागि आप एउटा गतिलो विकल्प बनेर प्रस्तुत भएको छ।

अन्य विभिन्न पार्टीहरूमध्ये आप मात्रै त्यस्तो पार्टी हुनसक्छ। यसले आम भारतीयलाई धर्मको द्वन्द्वबाट विमुख गराएर अन्यत्र यसको बहस सहभागी गराउन सक्छ। त्यो मनोविज्ञानले पनि यो पार्टीप्रति निम्न मध्यम वर्गीय र मध्यमार्गी भारतीयहरूको आकर्षण बढेको छ।

२. जनजीविकाको सवाल मुखरित भएको राजनीति

भारतीय राजनीति हिन्दू मुस्लिम, जाति क्षेत्र, भाषा संस्कृति लगायतका विभिन्न भेरिएबलहरूमा जकडिएर बसेको छ। यसले गर्दा जनताका दिन दिनका सवालहरू राजनीतिबाट विमुख भएका छन्।

उनीहरू यसलाई जनताको सवालतिरै मुखरित भएको देख्न चाहन्छन्। यसकै मुख्य कारण पनि मुख्य गरी भारतीय मध्यमवर्गको मनोविज्ञानले आम आदमी पार्टीप्रति सद्भाव र शुभेच्छा राखेको छ।

३. विकासको आफ्नै ‘मोडेल’ देख्न चाहने भारतीय चाहना

आपप्रति विकासको आफ्नो मोडेल देख्न चाहनु पनि हो। खासगरी शिक्षा, स्वास्थ्यको सवाल उठ्दा अमेरिकन या सिंगापुरको मोडेललाई आफ्नो विकासको मोडेल मान्नुपर्ने बाध्यताबाट दिल्ली मोडेल नै विकासको नयाँ मोडेलको रूपमा विकास भएको देख्न चाहने मनोविज्ञान छ।

४. कल्याणकारी राज्यको व्यावहारिक कार्यान्वयन

भारत समृद्धिको यात्रामा अगाडि बढे पनि त्यहाँ ठूलो सङ्ख्यामा गरीब, अल्पसङ्ख्यक तथा पिछडिएको क्षेत्र छ। यसलाई सही तरिकाले विकासको बाटोमा हिंडाउनको निम्ति त्यहाँ कल्याणकारी राज्यलाई राम्रो हिसाबले कार्यान्वयन गर्नसक्ने सरकारको जरुरी छ।

आम आदमी पार्टीले जुन तरहको विकासमा कल्याणकारी राज्यलाई ध्यान दिंदै तल्लो तहका जनताको शासनमा सहभागिता तथा प्रत्यक्ष लाभ प्राप्त गर्ने हिसाबले काम गरिरहेको छ। त्यसले कल्याणकारी राज्यलाई थप व्यावहारिक हिसाबले कार्यान्वयन भैरहेको छ। त्यो एउटा कारण पनि त्यहाँ आम आदमी पार्टीको लोकप्रियता बढिरहेको छ।

५. भ्रष्टाचार विरुद्धको आम मनोविज्ञान

आपप्रति भारतीयको रुचि बढ्नुमा त्यहाँ देखिएको भ्रष्टाचार विरुद्धको आम मनोविज्ञान हो। स्वयम् अन्ना हजारेको आन्दोलनले भारतमा भारतीय कति आजित छन्। भ्रष्टाचारबाट आजित देखिएका छन् भन्ने सङ्केत देखिएको छ। दिल्लीमा गरेको कामले र आपको अन्सेट छविले गर्दा आप भारतीय मतदाताबीच उनीहरू कम्तीमा भ्रष्टाचार गर्दैनन् भन्ने मनोविज्ञानले काम गरेको छ।

६. भारतीय राजनीतिमा अपराधीहरूको कब्जा हुन नदिने मनोविज्ञान

भारतीय राजनीति र अपराध सदैव जोडिएर आउँछ। पछिल्लो डाटा अनुसार करीब पछिल्लो लोकसभामा निर्वाचित लोकसभा सदस्यमध्ये ५० प्रतिशत सदस्य आपराधिक रेकर्डसँग जोडिएका छन्। करीब ४०० भन्दा धेरै एमएलए सिरियस अपराधसँग जोडिएका छन्।

यसमा ४ युनियन मन्त्रीहरू सहित ३५ स्टेट मिनिस्टर समेत जोडिएका छन्। यो रेकर्डले भारतीय राजनीति र अपराधको जालो कुन हदसम्म जोडिएका छन् भन्ने बुझ्न काफी हुन्छ। योदेखि भारतीयहरू आजित समेत छन् जसबाट मुक्त हुन चाहन्छन् र यसलाई निर्मूल पार्न सहयोगी पार्टी आप विकल्पको राजनीतिक पार्टी हुनसक्छ भन्ने मनोविज्ञानले काम गरिरहेको छ।

यी भिन्न मनोविज्ञानका कारण दिल्ली बाहिरको खासगरी हिन्दी भाषी बाहुल्य भएको प्रदेशमा आम आदमी पार्टीले प्रभाव बढाउँदै लगेको छ। यसले भारतीय राजनीतिमा आपलाई छिट्टै राष्ट्रिय पार्टी मात्र नभएर त्यहाँ भएका दुई ठूला दलको विकल्पको पार्टीको रूपमा खडा गर्ने सम्भावना देखिएको छ।

लेखकको बारेमा
सरोज गौतम

वैकल्पिक राजनीतिको पैरवीमा सक्रिय युवा पुस्ताका लेखक साझा युवा संगठनका महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?