+

प्रिम्याच कन्फ्रेन्समा किन आएनन् अलमुताइरी ?

२०७८ माघ  १४ गते २१:०७ २०७८ माघ १४ गते २१:०७
प्रिम्याच कन्फ्रेन्समा किन आएनन् अलमुताइरी ?

१४ माघ, काठमाडौं । नेपालले मोरिससंग शनिबार र मंगलबार दुई अन्तर्रष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ र त्यसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमै प्रि म्याच कन्फ्रेन्स आयोजना गरेको थियो ।

त्यसका दुवै टिमका प्रशिक्षक र कप्तान उपस्थित हुनुपर्ने हो । तर नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने प्रिम्याच कन्फ्रेन्समा आएनन् । उनको स्थानमा प्रशिक्षक किरण श्रेष्ठ सहित कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) उपस्थित भएका थिए ।

घरेलु मैदानमा हुने खेलका लागि आफ्नै टिमको मुख्य प्रशिक्षक कन्फ्रेन्समा उपस्थित नहुँदा सञ्चारकर्मी पनि अचम्मा परे ।

प्रशिक्षक किरण श्रेष्ठलाई उनको अनुपस्थितिबारे सोध्दा उनी अलि थाकेको र अस्वस्थ भएको भन्ने प्रतिक्रिया दिए । ‘कोच चाहिँ अलिकति थाकेको हुनाले स्वास्थ्यमा अलिकति… भएकोले नआएको हो,’ प्रशिक्षक श्रेष्ठले भने ।

बिहीबार मात्रै पमुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मोरिसस विरुद्ध जित हात पारे खेलाडीलाई श्रेय जाने र हार बेहोरे त्यसको सबै श्रेय आफूले नै लिने बताएका थिए ।

मोरिसस विरुद्ध हुने दुवै खेलका लागि अलमुताइरीले यअसघि नै दुई फरक टिम नै घोषणा गरेका छन् । जसमा ९ नयाँ खेलाडी छन् । कप्तान किरण लिम्बुसहित १२ जना खेलाडी दुवै खेलका लागि घोषित टिममा छन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेका ९ मध्ये ४ खेलाडी पहिलो खेलका लागि टिममा परेका छन् भने बाँकी ५ खेलाडी दोस्रो खेलका लागि टिममा छन् ।

यस्तै जगजित श्रेष्ठ, विमल घर्ती मगरले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । टोली घोषणापछि अलमुताइरीले आफूले नयाँ र युवा खेलाडीको लागि एक्पोजर दिने र त्यस अनुभवले भविष्यमा काम लाग्ने बताएका थिए ।

प्रि म्याच कन्फ्रेन्समा उपस्थित भएका प्रशिक्षक किरण श्रेष्ठले पनि एसियन कप छनोटको तयारीका रुपमा यो मैत्रीपूर्ण खेल रहेकोले त्यसै अनुसार प्रशिक्षकले टिम बनाएको बताए ।

उनले पहिलो मैत्रीपूर्ण खेलको लागि तयार रहेको र यसअघिका गल्तीलाई सुधार गरेर राम्रो प्रदर्शन गर्ने बताए । ‘पहिलो खेलका लागि सबै तयारी गरिसकेका छौँ । पहिला गरेको गल्तीहरुलाई सुधार गरेर भोली राम्रो प्रदर्शन दिने योजना छ’ प्रशिक्षक श्रेष्ठले भने ।

नेपालले आगामी जुनमा एसियन कप छनोटको तेस्रो चरणका छनोट खेल्ने छ । त्यसका लागि युवा खेलाडीहरुलाई अहिले प्रयोग गर्ने रणनीतिमा प्रशिक्षकहरु छन् ।

यस्तै दुई दिनअघि मात्र बन्द प्रशिक्षणमा सामेल भएका कप्तान किरण लिम्बुले मोरिससविरुद्ध खेल अफ्रिकन राष्ट्रसंग पहिलो भएकोले यो फरक अनुभव हुने बताए । ‘मोरिसससंगको गेम इतिहासमै अफ्रिकन राष्ट्र विरुद्ध पहिलो हुँदैछ । टिमसंग ट्रेनिङ गरेर दुई दिन भयो । सबै खेलाडी मेन्टल्ली र फिजिकल्ली फिट देखेको छु,’ कप्तान किरणले भने ‘मैत्रीपूर्ण म्याच हो तर मैत्रीपूर्ण भन्दैमा जे पनि गर्न मिल्दैन । निश्चय नै हामीले रिजल्ट अपेक्षा गर्नुपर्छ । यो गेमबाट केही सिक्ने र गेमबाट अनुभव बटुल्ने अवसर छ । भोलीको खेलका लागि तयार छौँ ।’

प्रशिक्षक किरण श्रेष्ठले मोरिसस विरुद्ध खेल्न टिममा सुधार गरेर आएको बताए । ‘टिममा सुधार गरेर आएका छौँ भन्न खोजेको हो । सबैभन्दा ठूलो कुरो यो खेल एसिया कप छनोटको तयारीका लागि हो । नयाँ खेलाडीलाई विकास गर्नका लागि पछि हामीलाई सजिलो हुन्छ । राष्ट्रिय टिम बलियो हुन्छ कि भनेर हो ।’

कप्तान किरणले भने खेलाडी छनोटको विषय प्रशिक्षकको कुरा भएकोले आफूले यसमा केही बोल्न नमिल्ने बताए । ‘खेलाडी छनोटबारे मैले बोल्ने भन्दा पनि कोचको कुरा हो जस्तो लागेको छ । कति खेलाडीलाई कोभिड पोजेटिभ पनि भइरहेको हुन्छ त्यो भएर टिममा धेरै राखेको जस्तो लाग्छ । खेलाडी सेलेक्सनको पाटो कोचको हो, मेरो काम खेल्ने हो’ कप्तान किरणले भने ।

प्रशिक्षक किरणले मोरिसस नेपालजस्तै टिम भएकाले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘मोरिसस वरियता हेर्दा हाम्रै दाँजोको टिम हो । अफ्रिकन टिम भएकोले शारीरिक रुपमा टफ खेल्छ । अरु त एउटै स्तरको टिम हो ।’

टिम समावेश सबै खेलाडीले हरेक पोजिसनमा खेल्न सक्ने गरी राखिएको प्रशिक्षक किरणले बताए । ‘ हेर्दा डिफेन्सको स्पेसल पोजिसन कम देखिन्छ । तर हामीले खेलाडीलाई हरेक खेलाडीले जुन पोजिसनमा पनि खेल्नुपर्छ भनेर मोटिभेट गरिरहेका छौँ । त्यही अनुसार तयारी  गरेका छौँ । छानेको खेलाडी सबै हरेक पोजिसनमा क्यापेबल छन् जस्तो लाग्छ ।’

यस्तै मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको बताए । ‘हामी साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछौँ । यसका लागि डिसेम्बरयता हामीले ४५ दिन मात्र प्रशिक्षण गरेका छौँ । नेपाल विरुद्ध खेल्न सहज छैन । तर हामी भोलिको खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ ।’

यस्तै मोरिससका कप्तान केभिन ओब्रायनले नेपाल राम्रो टिम रहेको र राम्रो खेलको अपेक्षा राखेको बताए ।

अब्दुल्लाह अल्मुताइरी फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय