+
+
मुगु डायरी-१ :

ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?

हाँसो थामिएपछि चित्रसरले भन्नुभयो, ‘अहिले फर्किंदा भनौंला किन हाँसेको भनेर।’ अन्ततः त्यता अर्थात् कर्णालीतिर ‘गुदी’ भनेको स्त्री जनेन्द्रिय भन्ने अर्थ हुँदोरहेछ भन्ने व्यहोरा ओरालो झर्दा साथीबाट थाहा लाग्यो।

तिलक पौडेल तिलक पौडेल
२०७८ माघ १५ गते १३:२९

समस्यामा भाषिका !

म मुगु जिल्लास्थित रोवा निम्न माध्यमिक विद्यालयमा शिक्षक थिएँ। दाङका मुक्तिप्रसाद श्रेष्ठ प्रधानाध्यापक हुनुहुन्थ्यो। एकदिन एउटा विद्यार्थीले अंग्रेजी शब्दलाई नेपालीमा उल्था गरिदिन अनुरोध गरे। तिनताका त्यस्तोलाई ‘माने लेख्ने’ भनिन्थ्यो। हेडसरले लेख्दै गर्दा मपनि उहाँसामु पुगें। उहाँले Yesterday = एस्टर्डे = हिजो, बेली लेखिदिनुभयो। हिजो भन्ने त मलाई पनि थाहा थियो, तर बेली पनि लेख्नु हुँदा मनमा कुराहरू खेल्न थाले। शायद Mustard = मुस्टार्ड = तोरी जस्तै Yesterday माने बेली अर्थात् फूल विशेष हुँदोरहेछ, जसरी Lotus = कमल, Rose = गुलाफ भने जस्तै; एउटा नयाँ शब्दार्थ थपिएको महसूस भएथ्यो।

हरेक दिन बेलुका म बस्ने गाँडापानी मुखियाको घर वरिपरिका स-साना नानीहरूलाई पढ्न आओ भनेर खाना खाएपछि पढाइदिने गर्दथें। भोलिपल्ट खाना खाएर तिनीहरूसँगै स्कूलमा जान्थें। एकदिन अघिल्लो साँझ/बेलुका पढ्न नआएको सानो बाबुलाई स्कूल जाँदै गर्दा प्यारसँग सोध्दो भएँ- तिमी हिजो बेली किन पढ्न आएनौ ? त्यतिबेला मेरो बुझाइमा बेलुकालाई बेली भनिंदो रहेछ जस्तो लागेको थियो र पढ्नुलाई अध्ययन गर्नु भन्ने नै थियो। तर मुगेली (मुगुको) भाषामा बेलीको अर्थ हिजो र पढ्नुको अर्थ पल्टनु/सुत्नु रहेछ अनि विचरा रनलालले मलाई हेर्‍यो मात्रै केही उत्तर दिएन। हुन पनि ‘तिमी हिजो किन पल्टन आएनौ ?’ को प्रस्तुत सन्दर्भमा खासै अर्थ रहेन नै।

भाषिकामा असमानता !

२०३७/३८ सालतिर १३ रुपैयाँ माना घ्यू, ११ रुपैयाँ मानु मह, १ रुपैयाँका १० दाना स्याउ (यति ठूला कि कोपर्नै नमिल्ने) पाइने जमाना थियो- मुगुको रोवामा। तिनताका कुखुराको रोज्जा भाले (पह्री) लाई २० रुपैयाँ र रोजा पोथी (माउ) लाई १७ रुपैयाँ पर्दथ्यो। भन्नाले २० रुपैयाँ दिएपछि कुखुराको हूलबाट रोजेर भाले र १७ रुपैयाँ तिरेपछि रोजेर पोथी किन्न पाइन्थ्यो।

मलाई गाँडापानी मुखियाको घरमा खाने बस्ने व्यवस्था मिलाइदिएकाले त्यहीं बस्ने खाने गर्दथें। छकाल (बिहान) उसिनेको सिमी (कोल) र कोदाको रोटी अनि बास (बेलुका) लोकल चामल (काली मार्सी (रातो) को भात खान पाइने व्यवस्था थियो। मुखियाको सहयोगमा घ्यू र मह किनिराखेको थिएँ भने गाईको दूध मुखियाले दिने गर्दथे।

एकदिन बेलुका भात खान लाग्दा मुखिनीले – माड्सा’प भात छोड्नुहोस् पो ! भनिन्। त्यहाँ नून र गोरस (दूधविशेष) मिसेर खान नपाइने, यदि मिसेर खाएमा गोसाइ्य (भगवान) रिसाउने भन्ने चलन रहेछ, जुन स्वास्थ्यका दृष्टिले पनि फाइदाजनकै रहेछ। त्यसैले पहिला सिमीको दालसँग खाई पछिल्लोपल्ट दूध, घ्यू, मह हालेर मुछी मीठो मुखले खाँदैथिएँ, मुखिनीको उपर्युक्तानुसारको भनाइ सुस्पष्ट ढङ्गले कर्णपटमा गुञ्ज्यो।

बाहुन मान्छे, जहाँ गुलियो, त्यहाँ बाहुन भुलियो, भनेझैं गुलियाको लोभ पनि लाग्यो। फेरि दूध, घ्यू र महसँग मुछेको लोकल चामलको भात वास्तवमै मीठो पनि भएको थियो। पहिलो भनाइमा सुन्या नसुन्यै गरें। फेरि पनि भात छोड्नोस् ! भनेपछि म धर्मसङ्कटमा परें। मुखको गाँससँगै मैले पनि निरर्थक आवाज निकालें, जसमा उनीले मेरो भनाइ नबुझून् र मैले मीठो बनाई खाइरहेको भात छाड्नु पनि नपरोस् भन्ने आशय सन्निहित थियो।

यसो ढोकातिर आँखा पुगेछन्, अगाडिका खुट्टामा मुन्टो अड्याएर दैलेठेलोमा कुकुर बसी मैले खाएको नियालिरहेको रहेछ। अब भने मलाई वास्तवमा साम्यवादी मुलुकमा पुगेछु कि भन्ने भान पर्‍यो, किनभने मैले खपाखप खाएर भात नछाडे त विचरा कुकुरले फेरि के खाला ? भन्ठानेर भात छाड्न भनिएको रहेछ भन्ने लाग्यो।

मानिसको मन पनि साह्रै पातलो र छिटो ! हत्तेरी कुकुरलाई घ्यू नपच्ने भन्छन्, यो घ्यू, मह हालेको भात किन छाड्ने हो र ? भोलिदेखि दाल र भात मुछेर दिने गर्नुपर्ला सोच्दै खाना खाइरहें। दूध धेरै भएर भात माइत गएर छोरीले खाने जस्तै सल्लबल्ल थियो। करीब एक गाँस र चाटचुट बाँकी रहँदा मुखिनी साहेबले पनियोमै भातको चोइलो सहित आ ऽऽऽ ना’पा छाड्नोस् रे ! भनेपछि मलाई त भात पुग्यो भनेर उठें।

भोलिपल्ट स्कूलमा मुक्तिसरसँग व्यहोरा जनाउँदा ए ऽऽऽ अरू सबै सरहरूले त पहिला दिन पूरै भाग खाएको अभिलेखै थिएन, भात छाड्नु भनेपछि खुरक्क उठेर हिंड्थे रे, तपार्इंले भने पूरै खानु भएछ, यहाँ त भात छाड्नुहोस् भनेको भात थप्नुहोस् भनेको हो, गाड्नु भनेको झिक्नु हो, मकैलाई घोगा, घोगालाई कोस्हा, भाँच्नुलाई चुहाउनु भन्छन् त … भन्नुभयो।

मानवीय प्राकृतिक कमजोरी !

एकदिन स्कूल समयपछि भोक लाग्यो र अग्रज साथी चित्रराज सरको साथ लागेर झाकोटतिर गयौं। एक रुपैयाँका २० दानाका दरले ५ रुपैयाँका १०० दाना दाँते ओखर किनी घरको छत (माटाको – थाडो) मा बसेर खान थाल्यौं। एकै छतमुनि धेरै घरहरू हुने भएकाले छत ठूलो थियो। हामीहरूलाई ओखर दिएर आइमाई मान्छे कतै गइन्।

अलि पर एकजना लोग्नेमान्छे राडी बुन्दैथिए। हामीले ओखर खान थाल्यौं। अफशोच भन्नुपर्ला ! मैले दुइटा फोर्दा पनि भित्रको खानेचिज – गुदी, जसलाई त्यतातिर पुला, दिउला, मिजुला भनिंदोरहेछ, नभएका – काना परे। अरू साथीहरूले मजासँग खाएको हुँदा मैले भनें, ‘हैन ए साथी हो ! मेरो त भाग्य पनि कस्तो ? दुई/दुई वटा फोड्दा पनि गुदी नै छैन यार !’

पर राडी बुन्दै गरेका व्यक्तिले पनि सुनेछन्। वास्तवमा छुचो कुरा सानो आवाजमा पनि सुनिन्छ। उनले प्रतिक्रिया दिंदै भने, ‘हैन माइटर बौलिन (बौलाउन) त बौलिएनौ ?’ त्यो सुनेपछि अग्रज साथीहरू अट्टहाससँग हाँस्न थाले। म असरल्ल भएँ।

पुनः साथीहरूतिर मुखारित हुँदै भनें ‘मलाई पनि हँसाओन !’ साथीहरू झन् मुखको समेत खस्ने गरी मूर्छा पर्ने गरी हाँस्नुभयो। हाँसो थामिएपछि चित्रसरले भन्नुभयो, ‘अहिले फर्किंदा भनौंला किन हाँसेको भनेर।’

अन्ततः त्यता अर्थात् कर्णालीतिर गुदी भनेको स्त्री जनेन्द्रिय भन्ने अर्थ हुँदोरहेछ भन्ने व्यहोरा ओह्रालो झर्दा साथीबाट थाहा लाग्यो।

यही व्यहोरा जगतमाला मावि धैनकोट, मुगुमा पनि असावधानीवश दोहोरिएथ्यो। मैले गणित, विज्ञान विषयको अध्यापन गर्दथें। एक दिन कक्षा ७ मा बीजाङ्कुरण पढाउनुथियो। एक जना छात्रा पनि पढ्दथिन्। म अलि-अलि आर्टिष्ट पनि भएकाले श्यामपाटीमा पात सहितको राम्रो आँपको चित्र कोरी एरोले समदुरीमा नामाङ्कन गरें – बोक्रा, गुदी, बियो, बीज …! ब्ल्याकबोर्डमै एकाग्र हुँदै चित्र लेख्दै गर्दा कक्षामा विद्यार्थी खासखुस गर्न थाले, जबकि अरु दिन मेरो कक्षामा हल्ला पटक्कै हुँदैनथ्यो।

फेरि, ती छात्राले मे आइ गो आउट सर पनि नभनी बाहिरिइसकिछन्। म भाषिक संवेदनशीलताप्रति वास्ताहीन बन्दै पढाएर घण्टी बजेपछि अफिसमा फर्कें। सहकर्मी सरहरूबीचमा पनि आज तिलकले के पढाएर हो ! सम्झना त बाहिर बाहिरै छे त ? भनी चर्चाको विषय बनेछ। मलाई देख्ने बित्तिकै ७ कक्षामा आज के पढाइयो र सर ? सोधनी गर्नुभयो। मैले विज्ञान भनें। पाठ कुन थियो ? भनेर सोध्नुभयो। म वास्ताहीन बन्दै किन चाहियो र सरहरू ? जर्मिनेशन हो भनें। कसरी पढायौ त नि ! भनेर फेरि सोधेपछि मैले सविस्तार बताएँ। सबैजना हाँस्न थाले, अनि बल्ल मलाई ‘गुदी’ शब्दको प्रयोगप्रति र सम्झनाको बाहिर्‍याइप्रति हीनताबोध भएथ्यो।

झाकोटको व्यहोरा भोलिपल्ट स्कूलमा अवगत गराउँदा एकछिन हाँसो चलेथ्यो। मुक्तिसरले यहाँ त कसको घरमा पढेलेखेका व्यक्तिहरू छन् भनेर सर्वे गर्ने एउटा नयाँ तरिका छ। त्यो हो – एक कक्षाको नयाँ महेन्द्रमालाको पुस्तक केटाकेटीलाई दिएर पठाउने। यदि उसको घरमा पढेलेखेका व्यक्ति रहेछन् भने त्यो नयाँ किताबको भए पनि ‘काने काने पिच्चा …’ भन्ने पाठको पाना भोलिपल्ट हेर्दा च्यातिएको हुन्छ भन्नुभयो।

मेरो स्वाभाविक जिज्ञासा फुत्क्यो ‘किन नि सर ?’ मुक्तिसरले भने, ‘यतातिर कानु भनेको प्वाल हो अनि पिच्चा भनेको उही गुदी हो, भनेपछि काने-काने पिच्चा भनेको त प्वाल-प्वाल परेको स्त्री यौनाङ्ग भन्ने अर्थ लाग्ने भयो। त्यसैले, पढेलेखेका व्यक्ति भएको घरका पढालेखाद्वारा त्यो पाना च्यातेर फालिन्छ।’

उहाँले चिनेका दुईजना विद्यार्थीलाई डाकेर महेन्द्रमालाको पुस्तक निकाल्न भनेर देखाई प्रमाणित गर्नुभयो। हुन पनि कुन अभिभावकले पिंढीमा बसेर आफ्ना केटाकेटीले प्वाल-प्वाल परेको स्त्री जनेन्द्रिय नेपाली भाषामा भनेर पढेको सुन्न सक्छन् र ! अहिल्यै यो पढ्ने पाठक महानुभावहरूले पनि पङ्क्तिकारलाई कति अश्लील लेखाइ भनी सक्नुभएको होला ! यसको अर्थ आफूलाई सुब्ने शब्दावली अरूहरूलाई नसुब्ने हुन सक्दोरहेछ र अर्कोको मनमा अश्लीलताले पार्ने प्रभावप्रति अतिश्लील व्यक्ति पनि वास्ताहीन हुँदोरहेछ। मानवीय प्राकृतिक कमजोरी !

असमानताको अवशेष

जेहोस्, रोवामा शिक्षकको नियुक्ति लिइसकेपछि कास्की जिल्ला, हंसपुरका साथी चित्रराज न्यौपाने र म अनि मेरा भतिजा- अग्निले रोवा वरिपरि दिन बिताइरहेका थियौं। एकदिन हेडसरले मेरो नियुक्ति अनुमोदनका लागि विद्यालय सञ्चालक समितिको बैठक बोलाउनुभयो। त्यो बैठकमा मलाई पनि आमन्त्रण गर्नुभयो। बैठकमा मैला र थोत्रा दौरा, सुरुवाल, कोट सहितको खाटी नेपाली पोशाकमा सजिएका व्यक्तिहरू आउनुभयो। उहाँहरू सबै सञ्चालक समितिका पदाधिकारी हुनुहुँदोरहेछ।

बैठक बस्यो। तब एकजना सदस्यले चाइनिज पाण्डा जुत्ता देखाउँदै भने ‘यी जुत्ता फलाना माइटरले ल्याइदिया हुन्, भौति बलिया भ’हन्, उति फाट्या नाई !’ (यी जुत्ता फलाना मास्टरले ल्याइदिएका हुन्, साह्रै बलिया रहेछन् त्यति फाटेका छैनन्।)

अनि अर्को जनाले भन्नुभयो ‘एइ स्हाफा गियाली माइटरले ल्याइदिया छिया र बाइगया, स्हाफा भनेपइ स्हप्फा परेह, केइ भया नाई !” (यो गलबन्दी ज्ञवाली मास्टरले ल्याइदिएका थिए र गइसके, गलबन्दी भनेचाहिं राम्रो परेछ, केही भएको छैन।)

यस्तै अभिव्यक्तिहरू सनातनी पाराले हुन थालेपछि मुक्तिसरले उनीहरूको भनाइको संक्षेपीकरण मलाई गर्नुभयो र उनीहरूसँग मुखरित हुँदै भन्नुभयो,’यी स्हर न्याँ आउन्या मान्ठ हैनन्, आइएस्सी भनेपछि माध्यमिक विद्यालयहरूले त पाया नाई भनेपछि हामी निम्नमाध्यमिक विद्यालयले कसरी पाउँला ? तर चित्रजीका साथी भएका हुँदा साथै आया रहेछन्, यिनीकन अरूलाई जस्तो भन्नु/गर्नु नाई, संयोगले पायाछौं …।’

तब उनीहरूले मुक्तिसरलाई भने ‘नभए पै बाद्या खानु पड्यो हैन क्या ? वेइ पन नभयाले पह्री त काट्नु पड्न्या भयो त ! हैन क्या ?’ (हैन भने खसी खानु पर्ला हैन त ! त्यो पनि नभए कुखुराको भाले त खानै पर्यो हैन त !)

अनि मैले भनें, ‘अहिले ७ कक्षासम्म जम्मा ५२ जना पनि विद्यार्थीहरू छैनन्/रहेनछन्। अब सञ्चालक समितिका पदाधिकारीहरू, वडाध्यक्ष, प्रधानपञ्चहरुले घरदैलो कार्यक्रम गरौं र १०० जना विद्यार्थी संख्या पुगेपछि पह्री किन खसी नै काटौंला …!’

मेरो भनाइलाई हेडसरले उहाँहरूलाई अर्थ्याइदिनुभयो। त्यसपछि सबैले ठीक छ भनेपछि छात्रछात्रा जुटाउने अभियानै शुरु गरिएथ्यो।

कतिपय घरमा जाँदा राडी बुनेका वा ताकु कातेका (ऊनीको धागो बनाएका) व्यक्तिहरू भेटिन्थे। घर वरिपरि खेलिरहेका केटाकेटीहरूलाई देखाउँदै म सोध्थें, ‘यी तपाईंहरूकै बच्चाबच्ची हुन् ?’

जवाफ आउँथ्यो, ‘औज्यू (हजुर)।’

म भन्थें, ‘अँपै (अहँ) ! किन नपठाएको त !’

जवाफ आउँथ्यो, ‘आ ऽऽऽ यिनीकन स्कूल लाएर मु भेडी ग्वाला बाइजाऊँ, कि तुमी बाइजाउला त माइटर !’ (ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?)

म उनीहरूलाई सम्झाउन खोज्दै भन्थें, ‘त्यसो हैन, केटाकेटीलाई प्राथमिक शिक्षा निःशुल्क व्यवस्था गरेको छ सरकारले। अझ छोरी मान्छेका लागि त पाठ्यपुस्तक पनि निःशुल्क उपलब्ध गराएको छ, अनि किन घरमा राखेर भेडाबाख्रा हेर्न पठाउने त नि ?’

जवाफ सबैको उस्तै हुन्थ्यो, ‘आ ऽऽऽ अघि भुनिलियाँ त गोरु ग्वाला तुमी जाउला क्या ? अनमोलै ! (छिमेकतिर फर्केर) दै कैले भौति जातक खेड्याए पै माइटरको तलब भौति हुने त नाई कि ? अगेर त कोइ केइ आउँदा छिएनन् त जातक स्कूल लगाउ भुन्न आउन्या ! (ओहो ! अघि भनिसकें त ! गाईगोरु तिमी जान्छौ र ? बेकारमा ! (छिमेकतिर फर्केर) हैन कतै धेरै विद्यार्थी जम्मा गरेदेखि मास्टरको तलब बढ्ने त हैन ? पहिले त केटाकेटी स्कूल पठाऊ भन्न त कोही पनि आउँदैनथे त !)

यस्ता एक्काइसौं सदीको सङ्घारमा कल्पनै गर्न नसकिने खालका तर्कहरू राख्दथे। एकदिन मेरो टोली रोवा माथिको शोभा भन्ने गाउँमा गयो। हामी पुग्दा बाहिर खेलिरहेका केटाकेटी डराए जस्तै हतारिएर घरभित्र गए। म सानो छँदा गोराहरूलाई नमस्ते भनेपछि प्रेमपूर्वक नमस्ते फर्काई ललिपप/मिठाई दिन्थे, तर हामी भने घर बुवाआमाले ‘गोराहरू त गाईको मासु खान्छन्, हामीकहाँका सार्की जस्तै हुन्, तिनले दिएको केही पनि खानुहुँदैन नि !’ भनेको सम्झेर दिएका मिठाई पनि नलिई टाप कस्ने गरेको व्यहोरा सम्झन पुगें। जबकि अहिले तिनै बुवाआमाहरू आफ्नै छोरीको विवाह कुहिरेसँग गर्न पाए अथवा छोराले गोरेनी केटीसँग विवाह गरे विदेशको मुख देख्न पाइन्थ्यो भन्ठान्छन्।

त्यस्तै त्यहाँ शोभामा पनि तिनताका हामी (गोर्खाली) लाई देख्दा केटाकेटीहरू डराएर भागे जस्तै लाग्यो। हुन त मान्छेले जन्मँदै के जानेर जन्मेको हुन्छ र ! आखिर क्रमशःको अध्ययन र अनुभवबाट खारिंदै जाने त हो नि ! मान्छे-मान्छे बीचको असमानताको अवशेष !

क्रमशः …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?