+
+

गोरखामा प्रहरीले पायो नयाँ भवन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते २०:३३

१६ माघ, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन उद्घाटन भएको छ । आठ करोड एक लाख ३७ हजार रुपैयाँमा निर्माण भएको भवनको आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन् ।

करिव साढे १२ रोपनी क्षेत्रफलमा कार्यालय भवन, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीका लागि व्यारेक र मेस भवन निर्माण भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।

त्यस्तै कार्यालय परिसरमा एक करोड २४ लाख ५६ हजार रुपैयाँ लागतमा सिनियर अधिकृतहरुको आवास भवन पनि निर्माण भएको छ ।

तीन तले कार्यालय भवन, महिला, पुरुष र विशेष प्रकृतिका थुनुवा कक्षसहितको ४० जना क्षमता रहेको दुई तले हिरासत भवन, कार्यालय प्रमुख निवास भवन, १ सय ८ जना क्षमताको प्रहरी कर्मचारी बस्ने तीन तले व्यारेक भवन, तीन तले सिनियर अधिकृत आवास र दुई तले मेस भवन रहेका छन् ।

कार्यालयको नवनिर्मित भवनमा मिटिङ हल, कन्ट्रोल रुम र संचार व्यारेकको व्यवस्थापन गरिएको छ । हिरासत भवनमा महिला र पुरुषका लागी चार वटा छुट्टाछुट्टै कक्ष रहेका छन् । नयाँ भवनमा नागरिकमैत्री तथा मानवअधिकार मैत्री विभिन्न शाखाहरु समेत स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भवनको उद्घाटनपछि महानिरीक्षक क्षेत्रीले पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी कार्यालयका संरचनाहरुलाई प्रविधी मैत्री एवं सुविधा सम्पन्न बनाउँदै लैजाने र तल्लो तहका प्रहरी कर्मचारीको वृत्ति विकास र सुविधालाई प्राथमिकता दिइने उनले प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?