
आफूलाई गान्धीवादी भन्ने सिके राउत हिंसातर्फ उन्मुख हुँदै गएको हो ?
हिंसा कतै पनि छैन । किसानको शान्तिपूर्ण आन्दोलन चलिरहेछ । उल्टै किसान उपर हिंसा भइरहेको छ । किसानको नरसंहारको योजना बनाइएको छ । लाठीचार्ज गराइएको छ । सप्तरीको भारदहमा किसानको घरैमा गएर बल प्रयोग गरिएको छ । किसान माथि ठाउँ–ठाउँमा आक्रमण गरिएको छ ।
राष्ट्रिय सभाको निर्वाचनका दिन पूर्व सूचना विना एक्कासी बाँसका भाटा सहित प्रदर्शन गर्दै जनप्रतिनिधि र चिकित्सक समेतको गाडी तोडफोड गरिएको छ नि ?
सबैभन्दा पहिला त जानकारी सबैले राख्नैपर्छ । हामीले आन्दोलन घोषणा गरेका थियौं । माघ १२ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने र सदरमुकाममा जनप्रदर्शन गर्ने कार्यक्रम ‘क्लियर’ थियो । यो प्रदेश सहित प्रदेश–५ मा पनि ज्ञापनपत्र बुझाइएको छ । अरू ठाउँमा पनि प्रदर्शन भएको छ । त्यो घोषित कार्यक्रम हो ।
मधेश प्रदेशमा यस्तो किन भयो भन्दाखेरि एक दिन पहिला मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिन समय माग्दा उहाँले ‘समय मिल्दैन’ भन्नुभयो । त्यो दिन मुख्यमन्त्रीलाई खोज्न केही यताउति भयो ।
माग त राज्यसँग गर्नुपर्ने हो तर यो मधेश प्रदेशमा जसपासँग बढी तनाव देखिन्छ नि ?
हामी त त्यो चाहँदैनौं । हामी आफ्नो काम गर्न चाहन्छौं । अहिले किसान आन्दोलन मार्फत सरकारसँग माग गरिरहेका छौं । प्रदेश सरकारलाई हामीले ‘टच’ पनि गरेका छैनौं । अरू पार्टीको कुरै छोडिदिऊँ । जबकि यो सबैको जिम्मेवारी हो । प्रदेश सरकारको पनि जिम्मेवारी हो । स्थानीय सरकारको पनि जिम्मेवारी हो । हामीले संघीय सरकारलाई ‘टार्गेट’ गरेर आन्दोलन गरेका हौं ।
तर, बारम्बार जसपा हामी विरुद्ध लागिपरेको छ । जनकपुरधाममा भ्रष्टाचारमा जनताले जनकारबाही गरेपछि त्यसको विरुद्ध विरोध जुलूस निकाल्ने, पार्टी कार्यालयमा हमला गर्ने काम जसपाले गर्यो । अहिले पनि किसानले जुलूस निकाल्दा सप्तरीको हनुमाननगरमा त्यसको विरुद्ध जुलूस निकाल्यो । जसपाको प्रदेश कमिटीले पनि आधिकारिक विज्ञप्ति जारी गरेको छ, पार्टीको नामै किटेर । बारम्बार उनीहरू आन्दोलन दमन गर्न लागिपर्छन् । यो उनीहरूको अहंकार हो । उनीहरू मधेशमा कुनै अर्काे पार्टी नआओस् भन्ने चाहन्छन् ।
जनमत पार्टीले जसपाको ‘स्पेस’ लिन खोजिरहेकोले यो तनाव भएको त हैन ?
राजनीतिक पार्टी कुनै ठेक्कापट्टा होइन । जसपा सधैं रहनुपर्छ अर्काे आउनुहुँदैन भनेर हुन्छ ? त्यस्तो त हुँदैन । जसले राम्रो काम गर्छ, जनताको माग सम्बोधन गर्छ ऊ न आउने हो । जसपाले लठैतको बलमा जंगलराज लादिरहनुहुँदैन नि ! आन्दोलन गर्ने सबैको अधिकार छ । माग राख्ने र राजनीति गर्ने अधिकार सबैको छ । ऊ मधेशमा म मात्रै रहन्छु अरू नआओस् भन्छ, त्यो कसरी हुन सक्छ ?
भन्नाले जनमत पार्टीले जसपाको ‘स्पेस’ लिन खोजेकै हो ?
होइन, जनमत पार्टीले जनताको मुद्दा उठाइरहेको छ । हामीलाई कसैको ‘स्पेस’ चाहिएन । उनीहरूले राम्रो काम गरिरहेका छैनन् । प्रदेश सरकार चलाएको चार वर्ष भयो । स्थानीय सरकार त झण्डै पाँच वर्ष भयो । जनताको मुद्दा सम्बोधन गरेनन् । अनि जनमत पार्टीले ती मुद्दा उठाउनुपरेको छ । मुद्दा सम्बोधन गरिसकेको भए, मलखाद उपलब्ध गराएको भए यो माग नै उठ्दैनथ्यो नि !
उनीहरूले १५ वर्षदेखि राज गरिरहेका छन् । अहिले जनमत पार्टी आएको छ । त्यसपछि अरू पार्टी पनि आउँदैन भन्ने छैन । यो निरन्तर प्रक्रिया हो । भोलि जनमत पार्टीले पनि माग पूरा नगरे अरू पार्टी आउँछन् ।
हिजो केपी ओलीले दुई–दुई पटक संसद विघटन गर्दा, सिके राउतको पार्टीले बोलेन । अहिले मधेशमा राजनीतिक ‘स्पेस’ बनाउनकै लागि किसानको नाममा आन्दोलन गरिरहेको छ भन्ने आरोप छ नि ?
जनमत पार्टीले एकाएक आन्दोलन गरेको होइन । यसअघि केपी ओलीको सरकार हुँदा हाम्रो पार्टीबाट राममनोहर यादव किन शहादत भए ? त्यो बेला केपी ओली सरकारसँग १८ महीना यिनै उपेन्द्र यादव थिए । जनमत पार्टी केपी ओली सरकारसँग लडिरहेको थियो । कार्यकर्ताले ज्यान दिइरहेका थिए, सयौं कार्यकर्ता पक्राउ परेका थिए । त्यो समय जसपा ओली सरकारसँग नतमस्तक भएर आत्मसमर्पण गरी सत्ताको मोज लिइरहेको थियो । यो बिर्सन सकिंदैन ।
त्यही बेला केपी शर्मा ओलीले नागरिकता विधेयक जारी गर्दा हामीले दुई हप्ता आन्दोलन गर्यौं । र, नागरिकता विधेयक फिर्ता भयो । त्यसबेला केपीको पुत्ला हरेक जिल्लामा जलाइएको थियो । त्यसैले सत्ताको मज्जा उनीहरू लिन्छन् अनि आरोप अरूमाथि लगाउँछन् । तर, जनता अब त्यति मूर्ख छैनन् ।
आन्दोलन कहिलेसम्म चल्छ ?
माग पूरा नभएसम्म चल्नैपर्छ । किसानले धेरै मिहिनेत गरेका छन् । जसपाका कृषि मन्त्री काठमाडौंमा गएर सुतेका छन् । उनलाई कुनै मतलब छैन । अरू पार्टीको भए धेरै पहिला नै सम्बोधन भइसक्थ्यो । जसपा मधेशमा अरू कोही नआओस्, अरू कसैले क्रेडिट लिन नपाओस् भन्ने अहंकार पालेर बसेको छ ।
तपाईंहरूको अबको आन्दोलन कस्तो हुन्छ ? यही तोडफोडवाला कि शान्तिपूर्ण ?
आन्दोलनमा प्रहरीको अगाडि गएर गोली खाने इच्छा कसैको हुन्छ ? जब सरकारले सुन्दैन, बल प्रयोग गरिरहन्छ, झूटा मुद्दा लगाइरहन्छ तबसम्म आन्दोलन चलिरहन्छ । यो आन्दोलनको शुरुआत किसानलाई समातेर कुटपिट गर्दै मुद्दा लगाएपछि भएको हो । अबको आन्दोलनमा राज्यले कस्तो प्रतिक्रिया दिन्छ, अर्काे पार्टीले कस्तो प्रतिक्रिया दिन्छ त्यसमा भर पर्छ । आन्दोलन जुनसुकै हदसम्म जान सक्छ ।
आगामी चुनावमा एमालेसँग गठबन्धन बनाएर जाने चर्चा छ, खास कुरा के हो ?
चुनाव घोषणा भएको छैन । के हुन्छ त्यो केन्द्रीय समितिले निर्णय गर्छ । अहिलेसम्म हामीले कसैसँग गठबन्धनको कुरा गरेका छैनौं । त्यसैले यो निराधार कुरा विरोधी पार्टीले फैलाएको हल्ला मात्रै हो ।
प्रतिक्रिया 4