+
+

डोटीको ट्रायल सेन्टर ६ महिनादेखि अलपत्र

रामहरि ओझा रामहरि ओझा
२०७८ माघ १७ गते १६:४७

१७ माघ, डोटी । सुदूरपश्चिम प्रदेशमा सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सवारी चालक अनुमतिपत्रको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन ।

तीन महिनाभित्र सञ्चालनमा ल्याउने भनिएको ट्रायल सेन्टर झण्डै अढाई बर्ष लगाएर निर्माण गरियो । तर सम्वन्धित निकायले समयमै निरीक्षण नगर्दा सञ्चालनमा आउन नसकेको हो ।

सुदूरपश्चिमका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते डोटीको राजपुरमा ट्रायल सेन्टरको शिलान्यास गरेका थिए । २०७६ जेठ मसान्तभित्र भौतिक संरचना निर्माण गरिसक्ने र असार महिनादेखि ट्रायल सेन्टर सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।

‘जेठ मसान्तभित्रै ट्रायल सेन्टरको निर्माण कार्य सम्पन्न हुन्छ, अनि लगत्तै हामी असारदेखि सवारी चालक ईजाजत पत्रका लागि डोटीबाटै ट्रायल लिने अनुमति दिन्छौं । बाजुरा, अछाम र डोटीबासीले चालक अनुमति पत्र लिन कैलाली धाउनुपर्दैन’ ट्रायल सेन्टर शिलान्यास गर्दै मन्त्री बोहराले भनेका थिए ।

३७ लाख ८१ हजार रुपैयाँको लागतमा निर्धारित समयभन्दा दुई बर्ष ढिला गरी ट्रायल सेन्टर गत असारमा तयार भएको छ । तर भौतिक पूर्वाधार मन्त्रालयले समयमा निरीक्षण गरेर निर्णय नदिँदा यो छ महिनादेखि अलपत्र छ ।

डोटीको राजपुरस्थित यातायात व्यवस्था कार्यालयले निर्माण भइसकेको भन्दै निरीक्षण गरिदिन गत साउन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएको छ ।

‘हामीले काम सम्पन्न भयो, अब निरीक्षण गरिदिन आग्रह गर्दै पत्र पठाएको छ महिना भयो’ कार्यालयका निमित्त प्रमुख भरत नेपालीले भने ‘त्यसपछि पनि पटक पटक फोनमा आग्रह गरियो, निरीक्षण भएको छैन ।’

उनले भौतिक संरचनाको निरीक्षण भएपछि मात्रै ट्रायल लिने अनुमति प्राप्त हुने बताए । ‘यदि ट्रायलको अनुमति प्राप्त भयो भने अहिले कार्यालयमा भएको जनशक्ति परिचालन गरेरै पनि सवारी चालक अनुमति पत्रको प्रक्रिया शुरु गर्न सक्छौं’ निमित्त प्रमुख नेपालीले भने ‘जनशक्ति कम छ तर पनि काम हुन्छ ।’

मन्त्रालय भन्छ : कामको लोड बढी छ

निरीक्षणका लागि पत्र पठाएको छ महिना भइसक्दासमेत किन निरीक्षण हुन सकेन त ? प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात क्षेत्र हेर्ने शाखा अधिकृत मोहनचन्द्र जोशी भन्छन् ‘अलि कामको लोड भएर हो, मन्त्रालयले बेवास्ता गरेको होइन ।’

उनले निरीक्षणपछि अनुमति दिनुपर्ने तर ट्रायल सेन्टर सञ्चालनका लागि कर्मचारी नभएकाले ढिलो गरेको पनि बताए । ‘अहिले भएको जनशक्तिले ट्रायल लिन सक्ने अवस्था छैन’ जोशीले भने ।

उचित समयमा डोटी र डडेल्धुरामा एउटै ट्रायल सेन्टर शुरु गर्ने पनि उनी बताउँछन् । जोशी भन्छन् ‘यो आर्थिक बर्षभित्र भरसक ट्रायल सेन्टर सञ्चालनमा आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?