+
+

बाटोको गुणस्तरमा प्रश्न गर्दा कानुन मन्त्रीकै सामुन्ने हातपात

अमृत सुवेदी अमृत सुवेदी
२०७८ माघ १७ गते २१:२९

१७ माघ, पोखरा । न्युरोडको बुद्धमार्गमा ४ सय २० मिटर सडक ढलान गर्ने काम भइरहेको छ । आफ्नो पोखरा ट्रेड मलको दक्षिणी गेट जोडिएको सडकको नाली बनाउन प्रदेशसभा सदस्य विन्दुकुमार थापाले अघिल्लो साल निर्वाचन पूर्वाधार कार्यक्रमबाट २५ लाख रुपैयाँ हालेका थिए । अहिले पोखरा महानगरपालिकाको २५ लाख रुपैयाँ छुट्टएिपछि सडक ढलानको काम भइरहेको छ ।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभामन्त्री थापाले सोमबार दिउँसो उपभोक्ता समितिमार्फत भइरहेको ढलानको काम निरीक्षण गर्न वुद्धमार्ग पुगे ।

उपभोक्ता समितिका अध्यक्ष ऐनकुमार साइको नेतृत्वको टोलीले ढलानबारे मन्त्रीलाई ब्रिफिङ गरिरहेको थियो । वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका वन संरक्षण तथा व्यवस्थापन महाशाखा प्रमुख समेत रहेका स्थानीय रामकाजी श्रेष्ठले ढलानको लेबल नमिलेको र इन्चसमेत थोरै भएको भन्दै प्रश्न गरे ।

मन्त्रीलाई ब्रिफिङ गरिरहेका उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठ (हिरामान प्रधान)ले श्रेष्ठलाई चुप लाग्न दबाव दिए । रामकाजी चुप नलापछि उनले धक्का दिएर सडकमै लडाइदिए । कोषाध्यक्ष नारायणले मन्त्रीकै अगाडि चुप लाग्न भन्दै धकेल्दा भर्खरै ढलान भएको सडकमै श्रेष्ठ पछारिए ।

श्रेष्ठले आफूमाथि हातपात भएको भन्दै मन्त्री थापामाथि प्रश्न गरे । मन्त्री त्यहाँबाट हिँडिहाले । ‘ढलानको गुणस्तरमाथि प्रश्न उठाउँदा ममाथि हमला भयो,’ कास्कीका पूर्व डिभिजनल वन अधिकृत समेत रहेका श्रेष्ठले भने, ‘तर मन्त्री चुपचाप निस्कनुभयो । किन हात हालेको भनेर पनि सोध्नुभएन ।’

श्रेष्ठलाई धकेल्दा ढलानमा पछारिएको सिसिटिभी फुटेजमा पनि प्रस्टसँग देखिएको छ । आफूले प्रहरीलाई जानकारी गराएको र लिखित निवेदन दिन भनेको श्रेष्ठले बताए । ‘भोलि म लिखित उजुरी दिन्छु । अदालतसम्म पुगेर म कानुनी उपचार खोज्छु । मन्त्रीकै अघि ममाथि हातपात भएको छ,’ श्रेष्ठले भने ।

उपभोक्ता समितिका अध्यक्ष साइले भने श्रेष्ठले व्यक्तिगत रिसिइबी साँध्दै औंला उठाउँदा धकेलाधकेल भएको बताएका छन् । ‘उहाँले आँखैअघि औंला ठड्याउँदै तँ चुप लाग भन्दै हुनुहुन्थ्यो, नारायणजीले पनि धकेल्नुभयो,’ साइले भने ।

उपभोक्ता समितिका कोषाध्यक्ष श्रेष्ठले पनि तपाईं चुप लाग्नुस् भन्दै विस्तारै धकेल्दा श्रेष्ठ पछारिएको दाबी गरेका छन् । ‘मैले व्यक्तिगत काम गरेको होइन, इन्जिनियरले पनि गुणस्तर हेरिरहेका छन् । तर उहाँले आरोपमात्र लगानुभयो,’ नारायणले भने, ‘ मैले विस्तारै धकेलेको हो, उहाँ लड्नुभयो ।’

कानुनमन्त्री विन्दुकुमार थापाले भने आफू कामको निरीक्षण गर्न जाँदा अचानक घटना घटेको बताए । ‘अचानक घटना घट्दा के गर्ने, के नगर्ने भयो । सुरक्षा गार्डले त्यहाँबाट हिँड्न भनेपछि म हिँडे,’ उनले भने, ‘उहाँ पूर्व डीएफओ साप पनि हुनुहुन्छ । पुरानै रिसिइबी रहेछ । पछि मैले हात हाल्नु हुँदैनथ्यो भनेर सम्झाएँ ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?