+
+

शिशुको हत्यामा गर्भ बोकाउने युवकलाई जन्मकैदको फैसला

रामहरि ओझा रामहरि ओझा
२०७८ माघ १८ गते १९:३०

१८ माघ, डोटी । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ ।

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायलले जानकारी दिएको छ । यसअघि यो मुद्दामा राजकुमारलाई बाजुरा जिल्ला अदालतले निर्दोष रहेको भनी सफाइ दिएको थियो ।

राजकुमारमाथि भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । राजकुमारले बच्चा जन्मिने बित्तिकै मारिदिनु भन्दै दबाव दिँदै आएको पीडित पक्षको आरोप थियो । कुनै समस्या आए आफू जवाफदेही हुने भन्दै पटक पटक राजकुमारले दबाव दिएपछि युवतीले जन्मेको ३४ दिनमा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन् ।

मंगलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतवहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । युवतीलाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ । मुद्दामा विषादी जडिबुटी ल्याई बालकलाई खुवाउन रिंकुलाई सहयोग गरेको आरोपमा एक महिलालाई ६ महिना कैद सजाय सुनाएको छ ।

भर्खरै जन्मेको शिशु हत्यामा गर्भ बोकाउने व्यक्तिलाई जन्मकैद हुने सजाय भएको यो सम्भवतः नौलो फैसला हो । शिशु हत्याका अधिकांश मुद्दाहरूमा बालक जन्माउने आमालाई मात्र दोषी ठहर गर्ने गरेकोमा उच्च अदालतले गर्भ बोकाउने व्यक्तिलाई मुख्य कसूरदार ठहराएको हो ।

लैङ्गिक न्यायको दृष्टिकोणबाट यस्तो अपराधमा जन्माउने आमाभन्दा शिशु मार्न बचन दिने बाबुको आपराधिक कार्यमा बढी जिम्मेवारी हुने अदालतको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?