
१९ माघ, बुटवल । रुपन्देहीमा ९० प्रतिशत काम पूरा भइसकेको रोहिणी सिँचाइ आयोजनाको काम बीचैमा छाडेर नयाँ मोडलमा बनाउने तयारी भएको छ ।
देवदह र तिलोत्तमा नगरपालिकाका १५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुुविधा पुर्याउने लक्ष्यसहित २०७४ सालमा शुरु भएको ४७ करोड २४ लाख ८६ हजार रुपैयाँ लागतको आयोजनाको म्याद यही चैत मशान्तसम्म छ । तर निर्माण अन्तिम चरणमा पुगेका बेला सिँचाइ डिभिजन कार्यालयले पुनः सर्भे गरेर डिजाइन फेर्ने तयारी गरेको छ ।
वर्षायाममा बाँध नाघेर देवदह र तिलोत्तमा दुबैतर्फ डुबानको समस्या आएपछि यसको डिजाइन फेर्नुपर्ने स्थिति आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन रुपन्देहीका डिभिजन प्रमुख टंकबहादुर केसीले बताए । बाढीले बस्तीमा क्षति गराएकाले डिजाइन बदल्नुपर्ने आवश्यकता परेको उनको भनाइ छ । डिजाइन बदल्नको लागि ड्रोन सर्बे गरिएको उनले बताए ।
लुम्बिनी प्रदेश योजना आयोग समेत यो आयोजना परिमार्जन गर्नुपर्ने निचोडमा पुगेको छ । एकातिर स्थानीय तहहरुले तालका रुपमा अघि बढाउन छुट्टै गुरुयोजना बनाउँदै छन् भने अर्कोतर्फ सिँचाइ डिभिजनले छुुट्टै सर्भे गर्न लागेको छ ।
प्रदेश योजना आयोगका एक पदाधिकारीले आयोजनाको डिजाइन नै गलत भएकोले समस्या आएको बताए । उनले सिँचाइसंगै यो आयोजनालाई जल पर्यटनसंग जोडेर विकास गर्न सकेमा लाभ लिन सकिने बताए ।
‘जुन ठाउँमा सिँचाइ सुविधा पुर्याउने भनेर आधा अर्बको आयोजना अघि बढाइयो ती ठाउँमा डीप बोरिङमार्फत सिँचाइ भइरहेको छ’ उनले भने, ‘अब यसलाई मिनी फेवातालको रुपमा डिजाइन गरेर सिँचाइ र जल पर्यटनमार्फत लाभ लिने बनाउनुपर्छ ।’
राज्यको ठूलो रकम लगानी भइसकेकाले यसलाई पुनः डिजाइन गरेर भएपनि सम्पन्न गर्नुपर्ने देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले बताए ।
डिभिजन कार्यालय प्रदेश सरकार मातहतमा आएपनि पुरानो आयोजना भएकाले यसको वित्तीय व्यवस्थापन भने संघीय सरकारले नै गर्दै आएको छ । सिँचाइ आयोजनाका रुपमा मात्रै अघि बढाइएको यो आयोजनालाई पर्यटनसँग जोडेर अघि बढाउन सुुझाव आएपछि तिलोत्तमा र देवदह नगरपालिकाले बाँधलाई तालकै रुपमा अघि बढाउन गुरुयोजना निर्माणका लागि २५÷२५ लाख रुपैयाँ छुुट्याएका छन् ।
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले आयोजना अन्तर्गत अग्लो बाँध बनाएर डुंगा शयर, फिसिङ, रिसोर्ट, होटेल, रेष्टुराँजस्ता पूर्वाधारमार्फत लुम्बिनी आउने पर्यटकलाई समेत आकर्षित गर्ने गरी आयोजनाको डिजाइन हुनुपर्ने बताए ।
प्रतिक्रिया 4