२० माघ, गोरखा । गोरखा नगरपालिकाको शुक्रबार हुने नवौं नगरसभाको लागि बिहीबार बसेको तयारी बैठक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेका छन् ।
आफूहरुसँग समन्वय नगरी पूर्वाग्रही ढंगले वडाका योजना छनोट गरी बजेट विनियोजन गरेको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् ।
‘एक त कोभिडका कारण भन्दै यसअघि वडामा परेका केही योजनाको बजेट पनि रकमान्तरण गरे,’ वडा नम्वर १३ का अध्यक्ष हरि खनालले भने, ‘अहिले वडामा नयाँ योजना छनोट गर्दा पनि हामीसँग सरसल्लाह नगरी मनपरी ढंगले गरेपछि हामीले विरोध गरेका हौ ।’
आवश्यकताको आधारमा भन्दा राजनीतिक पूर्वाग्रह प्रेरित भएर बजेट बाँडफाँट गरिएको भन्दै उनले आपत्ति जनाए ।
वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्काले नगर कार्यपालिकाको बैठक बसेर आवश्यक छलफल गरी योजना छनोट गर्नुपर्नेमा त्यसो नगरिएको बताए ।
‘वडामा योजना छनोट गर्दा सम्बन्धित वडाध्यक्षहरुसँग समन्वय गर्नुपथ्र्याे, हामीसँग छलफल गरेर कहाँ कुन योजना आवश्यक छ त्यही अनुसार पो योजना छनोट गर्नुपर्ने हो तर, हामीसँग एकपटक पनि छलफल गरेनन्,’ उनले भने ।
एकलौटी ढंगले साना योजनामा रकम बाँडफाँट गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘हाम्रो पार्टीमा आउने भए योजना पारिदिन्छु भन्दै फकाएको भन्ने पनि सुनेका छौं, यसरी राजनीतिक हिसाबले चुनाव लक्षित गरी योजना छनोट गर्नु उपयुक्त हुन्छ ?’ खड्काले प्रश्न गरे ।
शुक्रबार हुने नगर सभामा सहभागी हुने तर आफ्नो माग पूरा नभएसम्म सभा चल्न नदिने उनीहरुले बताएका छन् । वडा नम्वर ३, ७, १०, ११, १३ र १४ का अध्यक्षहरुले बैठक बहिस्कार गरेका हुन् । यस बारेमा थप बुझ्न खोज्दा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया 4