+
+

अनलाइन नेटवर्किङ कारोबारका लागि गाउँ–गाउँमा नगद संकलन

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ माघ २० गते १८:२१

२० माघ, काठमाडौं । गत पुसको अन्तिम साता रोल्पा नगरपालिकाको कार्यालय नजिकैको गाउँमा आएका अपरिचित मानिसहरुको समूहले स्थानीयलाई रातिको समयमा भेला पारे ।

नेपाली रुपैयाँ डलरमा साटेर लगानी गर्दा छोटो समयमै धेरै नाफा कमाइने प्रलोभनसहित ती मानिसहरुले गाउँका मान्छेलाई लगानी गर्न उक्साए । लगानीको प्रलोभन बाँड्न मानिसहरु गाउँ पसेको कुरा वरपरका गाउँमा पनि फैलियो ।

आफूले यो खबर पाएपछि ठगी हुन सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको मेयर पूर्ण केसीले बताए । ‘नयाँ मानिसहरुले डलरमा लगानी गर्न गाउँ गाउँमा प्रशिक्षण गरेको कुरा मलाई खबर आएको थियो, यस्तो कार्य ठगी हो भनेर मैले प्रशासनमा जानकारी गराएँ,’ उनले भने ।

नेपाली रुपैयाँ संकलन गरेर त्यसलाई अमेरिकी डलरमा साटेर लगानी गर्दा छोटो समयमै प्रशस्त आम्दानी हुने प्रलोभन दिएको पाइएको मेयर केसीले बताए ।

ठगी हुनसक्ने भन्दै तिनीहरुलाई गाउँबाट धपाउन आफूले प्रशासनलाई भनेको मेयर केसीको भनाइ छ । ‘यसरी लगानी गर्न भन्दै मान्छे आएका पनि, भेला गरेका पनि हुन् तर लगानी गर्न पैसा उठाए वा उठाएनन् कोही मान्छे बोल्न मान्दैनन्,’ मेयर केसीले भने ।

दाङको घोराही उपमहानगरपालिकाका ग्रामीण बस्तीहरुमा यस्तो धन्दा व्यापक रुपमा फैलिएको कर्मचारीहरु बताउँछन् । झण्डै तीन महिना अघिदेखि गृहणीहरुलाई प्रलोभनमा पारेर रकम संकलन गरेको पाइएको उपमहानगरपालिकका प्रवक्ता भरत अर्यालले अनलाइनखबरलाई बताए ।

‘पछिल्लो एक महिनादेखि त यो व्यापक रुपमा फैलिएको देखियो, ग्रामीण क्षेत्रका महिलाहरुको आकर्षण बढी पाइयो, मजदुरी गर्नेदेखि राम्रो व्यापार व्यवसायमा लागेका र राजनीतिकर्मी पनि यसमा लागेको पाइयो,’ प्रवक्ता अर्याल भन्छन्, ‘गाउँका मानिसलाई एक लाख रुपैयाँ लगानी गर्दा मासिक १६ हजार रुपैयाँ खुत्रुक्क झर्छ भनिएको रहेछ, निश्चित महिनामा लगानी उठ्छ । त्यसपछि बसी बसी पैसा आउँछ भनिएको छ ।’

प्रलोभनमा परेर कतिपय मानिसहरुले लगानी गरेको तर उनीहरु खुल्न नचाहेको अर्यालको भनाइ छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले अनलाइन नेटवर्किङ गतिविधिमा संलग्नको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । होटल र व्यवसायको आवरणमा यस्तो नेटवर्किङ गर्ने गरेको सुराकीको आधारमा केही मानिस पक्राउ परेको जिल्ला प्रहरीका कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।

‘जिल्लाभर यस्तो नेटवर्क फैलिएको आशंकामा पक्राउ परेकाहरु माथिको अनुसन्धानसँगै थप निगरानी बढाइएको छ, यस्तोमा लगानी गरिसकेका सर्वसाधारण पनि खुल्न नचाहेका कारण अनुसन्धानमा समस्या छ,’ प्रहरी उपरीक्षक (एसपी) काफ्लेले भने ।

यस क्षेत्रमा अनलाइन नेटवर्किङ कारोबार हाइपरमा मासिक १५ देखि १८ हजार लगानी गर्दा पैसा दोब्बर हुने, घरमा बसेर धनी हुन पाइने प्रलोभन देखाएको पाइएको एसपी काफ्लेको भनाइ छ ।
प्रहरीले नेटवर्किङमा भर्खरै जोडिएका मान्छेलाई सम्पर्कमा आउन आग्रह गरेको छ । ‘हामी कडा कारबाही चलाउँदै छौं अहिल्यै सम्पर्कमा आउनुस्, डुबिसकेपछि प्रहरीले ठगीमा संलग्नलाई कारबाही गर्न टेक्ने र समाउने हाँगो दुवै नहुने अवस्था नआओस्,’ काफ्लेले भने ।

अर्थ मन्त्रीसम्मै गुनासो

लुम्बिनी प्रदेशका केही जिल्लामा हाइपरलगायतका नेटवर्किङका नाममा व्यापक रुपमा नगद संकलन भइरहेको सूचना अर्थमन्त्री जनार्दन शर्माले पनि पाएका छन् ।

डलरमा लगानी गरेर छिट्टै धनी हुन पैसा पठाउने भन्दै गाउँगाउँबाट रकम उठाएर ल्याइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । ‘विदेशबाट आउने रेमिट्यान्स घटेर चिन्ता बढिरहेका बेला स्वदेशको नगदसमेत डलर कमाउने नाममा गाउँ गाउँबाट उठाएर विदेश पठाउन लागिएको सूचना आयो,’ एक अधिकारीले भने ।

मंगलबार मन्त्रालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री शर्माले विदेश पठाउन भन्दै गाउँगाउँमा रकम संकलन भएको जानकारी पाएको बताएका अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

‘कुन ठाउँबाट कति रकम संकलन गरिएको भन्ने आकार त भन्नुभएन तर अनलाइन नेटवर्किङ कारोबारका लागि विदेश पठाउन गाउँ गाउँबाट नगद संकलन भइरहेको सूचना पाएको उहाँले बताउनुभयो,’ सचिव मरासिनीले अनलाइनखबरसँग भने ।

अर्थमन्त्रीकै निर्देशनपछि यस्ता गतिविधि रोक्न उच्चस्तरीय कार्यदल बनाउने गृहकार्य अघि बढेको सचिव मरासिनीले बताए ।

 

 

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?