
२० माघ, धनगढी । स्थानीय प्रशासनले कञ्चनपुरको गड्डाचौकी नाकाबाट आवतजावतमा रोक लगाएपछि भारतबाट साइकलमा सामान ओसार्नेहरू आन्दोलित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीका कारण देखाएर माघ १० गतेदेखि साइकलमा भारतीय बजारबाट सामान बोक्न रोक लगाएपछि उनीहरू आन्दोलित भएका हुन् ।
सीमावर्ती बजारबाट साइकलमा सामान ओसार्दै आएका महिलाहरूको समूहले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बाहिर प्रदर्शन गरेका छन् । उनीहरूले ठूला सवारी साधनले निर्वाध रुपमा सामान ल्याउन पाए पनि आफूलाई रोक लगाउँदा रोजीरोटीमा असर परेको बताएका छन् ।
भीमदत्त नगरपालिकाकी पार्वती ठकुराठीले प्रशासनले आफूहरूलाई विभेद गरेको गुनासो गरिन् । ‘२५ वर्षदेखि भारतीय बजारबाट साहुको समान ल्याएर घर खर्च चलाइरहेकी छु’, ठकुराठीले भनिन्, ‘तर, प्रशासनले कोरोनाको कारण देखाएर रोक्ने काम गरेपछि हामी ठूलो समस्यामा परेका छौं ।’
उनले आफूहरूले साइकलमा ओसारेको सामानको भन्सार कार्यालयलाई राजश्व तिर्ने गरेकाले रोक लगाउनु उचित नहुने बताइन् । ‘भारतबाट जुवातास खेल्न मानिसहरूलाई निर्वाध रुपमा आउन दिने प्रशासनले हामी मजदुरले सामान ल्याउँदा कोरोना आउँछ भन्छ । यो हामीमाथि गरिएको ठूलो अन्याय हो,’ उनले भनिन् ।
भारतबाट सामान ओसार्दै आएकी सरस्वती खुनाले पनि सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरूको मिलेमतोमा भारतबाट सामान तस्करी भए पनि आफूलाई भने रोक लगाइएको गुनासो गरिन् । आफूहरूले सरकारलाई राजश्व तिरे पनि मुख्य सीमा नाकाबाट साइकलमा सामान बोक्न रोक लगाएर विपन्न नागरिकलाई विभेद गरेको खुनाले बताइन् ।
तर, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने कोरोना महामारीको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सामान्य किनमेलका लागि सीमावर्ती बजार जान रोक लगाएको बताएको छ ।
‘मानिसहरू समान्य किनमेलका लागि दैनिक सीमावर्ती बजार जाँदा उनीहरूबाट अरूलाई कोरोना फैलिन्छ भन्ने कुरालाई ध्यानमा राखेर आवतजावत गर्न रोक लगाइएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भने ।
प्रतिक्रिया 4