+
+

पार्टीमै रहेकी उपमेयर मायालाई जब एमालेले ‘निस्कासन’ गर्‍यो …

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ माघ २० गते २२:५६

२० माघ, दाङ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मा आचार्य कोरोना संक्रमण भएर होम आइसोलेसनमा थिइन् । बुधबार नेकपा एमालेको पदाधिकारी बैठकले भने एकीकृत समाजवादी प्रवेश गरेको भन्दै उनलाई निस्कासनको निर्णय गरेको सार्वजनिक भयो । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नै निर्णय सुनाउने क्रममा तुलसीपुरकी उपप्रमुखलाई निस्कासन गरेको भनिएको छ ।

माया भने फोन अफ गरेर सुतेकी थिइन् । ‘त्यो दिन अलि बढी विरामी भएर मोबाइल अफ गरेर दिनभर सुतेकी थिएँ । त्यसैले निस्कासनबारे बेखबर थिएँ,’ भन्छिन् ।

साँझ एमाले महासचिव शंकर पोखरेलले मायाको छोरालाई फोन गरेपछि उनले थाहा पाइन् । निस्कासन गरिएको सूचना भूलबस भएको भन्दै पोखरेलले मायाका छोरालाई, आमालाई नआत्तिनू भनेर सम्झाउन आग्रह गरेका थिए ।

‘निर्णय सार्वजनिक भएलगतै महासचिवजीले मलाई निर्णय सुनाउँदा त्रुटिपूर्ण भयो भनेर फोन गर्न खोज्नु भएको रहेछ’ उनले भनिन्, मेरो फोन दिनभर अफ भएकाले सम्पर्क हुन सकेन छ ।’

छोराले महासचिवकै फोन आएको सुनाएपछि उनले चित्त बुझाइन् । तर यत्तिसम्म त्रुटि त नहुनु पर्ने हो भन्ने लाग्यो । फोन अन गरेपछि पार्टीका नेताहरुको फोन आइरहृयो, यसले झन् मनमा एक किसिमको दुविधा उत्पन्न भएको उनले सुनाइन् ।

‘बेलुकी आठ बजेतिर महासचिवज्यूले फोन गरेर निर्णय सुनाउँदा गल्ती भएकाले नआत्तिन भनेर सम्झाउनु भयो,’ उनले भनिन्, ‘त्यसपछि मात्र केही हलुका महसुस गरेँ ।’

भएको के रहेछ ?

पार्टी विभाजन पछि पनि एमालेमै रहेकी आचार्य एकीकृत समाजवादीमा गएको भनेर कसरी कारबाही भयो त ? एमालेका दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतका अनुसार जिल्लाबाट गलत रिपोर्टिङ भएको थिएन । ‘जिल्लाबाट सही नाम नै गएको हो, म आफैंले त्यो रिपोर्ट पठाएको हुँ,’ उनले भने, ‘बैठकमा निर्णय पनि सही भएको हो । (पृथ्वीसुब्बा गुरुङले) वाचन गर्दा नाम फरक पर्न गएको हो ।’

लगत्तै आफूले पार्टीका नेताहरुले निर्णय सार्वजनिक गर्दा त्रुटि भएको जानकारी गराएको उनले सुनाए । उनका अनुसार कार्यपालिका सदस्य जानका रेग्मीसहित तीन जनालाई निस्कासन गर्ने निर्णय भएको थियो, जसले हालै मात्र एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

त्यहीकारण बिहीबार जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै उपमेयर आचार्यलाई पार्टीबाट निस्कासन गरेको भन्ने खबर भूलबस भएको भन्दै स्पस्टीकरण दिएको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?