+
+

रचनाले गाएको ‘न बिर्सें तिमीलाई’लाई प्रतिक्रिया : कता-कता के नपुगेजस्तो !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १७:५२
गायिका रचना रिमाल

२१ माघ, काठमाडौं । झण्डै डेढ दशकअघि सार्वजनिक गजल हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ । यो गजल अञ्जु पन्त र जगदीश समाल दुवैको स्वरमा सार्वजनिक भएको थियो । गजललाई श्रोता-दर्शकले निकै रुचाए ।

विपिन किरणको शब्द रहेको सफल गजलमा महेश खड्काको संगीत छ । स्वर, शब्द एवं संगीत सबै पक्षबाट गजलले निकै प्रशंसा पायो । अहिलेसम्म पनि यो गजलको लोकप्रियता उत्तिकै छ ।

सोही गजललाई गीतकार विपिन किरणले पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गराएका छन् । रचनाको स्वरमा बिहीबार मात्रै यो गजल युट्युबमा सार्वजनिक गरिएको छ । गजललाई युट्युबमा मिश्रित प्रतिक्रिया आएको छ ।

केहीले अञ्जु पन्तको स्वरमा सुन्दै आएको गजललाई रचनाको स्वरमा सुन्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । तर, केही प्रतिक्रियाहरु नकारात्मक पनि छन् जुन मननयोग्य छन् । रचनाको स्वर राम्रो भएपनि अञ्जुले जस्तो न्याय गरेर गजल गाउन नसकेको श्रोता-दर्शकले प्रतिक्रिया दिएका छन् । केहीले यो गजल अहिलेसम्म नबिर्सिएको भन्दै पुनः रेकर्ड गर्ने बेला नभएको समेत बताएका छन् ।

भिडियोको कमेन्टबक्समा एउटा प्रतिक्रिया छ, ‘यो गीत रिमेक गरेको देख्दा रचनाकार वा संगीतकार आफू चर्चाबाट टाढा भएर चर्चामा आउन मात्र प्रयोग गरेको हो जस्तो लाग्यो । रचना रिमाल अब्बल गायिका हुन्, दुई मत छैन । तर यो गीतको रिमेक गर्ने बेला भएको थिएन जस्तो लाग्यो, किनभने यो गीत अझै पनि कसैले बिर्सिसकेका छैनन् र अञ्जु पन्त बिर्सिएका छन् जस्तो लागेन ।’

 

ज्याक एम नाम गरेका प्रयोगकर्ता लेख्छन्, ‘अञ्जु पन्तको आवाजमा भन्दा राम्रो गर्छु भन्नु पागलपन हो, जगदीश समालको पनि उत्तिकै राम्रो छ । पहिले नै चलेको गीत गजललाई फेरि-फेरि रेकर्ड गराउनुभन्दा योभन्दा अझ राम्रो गीत गजल ल्याउँछु भनेर लाग्नुस् ।’

केहीले भने रचनाको स्वरमा सार्वजनिक गजलको भिडियोमा अञ्जु र जगदीशको नाम उल्लेख नभएकोमा दुःख व्यक्त गरेका छन् । ‘रचनाको स्वर मीठो छ तर यो रिमेक साधारण लाग्यो । हुन त उसै पनि रचना हिट हुनुहुन्छ, तर यहाँ भने कता-कता के-के नपुगे जस्तो लाग्यो । अनि यो कालजयी गजलकी ओरिजनल गायिका अञ्जु पन्तको नाम कहीं कतै पनि लेखिएको देखिएन । अञ्जु पन्तलाई सम्झिनु पथ्र्यो कि ?’ राजेन्द्र उपाध्यायले प्रतिक्रिया दिएका छन् ।

पत्रकार समेत रहेका राजाराम फुयाँलको प्रतिक्रिया छ, ‘युग हाँकेको यो गीत यसरी रि-रेकर्ड गर्ने बेला अलि भएको थिएन कि ? यो सब गर्ने लगानी र श्रम नयाँ गीतमा लगाएको भए राम्रो हुन्थ्यो कि ? रचनाको स्वरमा कुनै कमी छैन, राम्रो गाएकी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?