+

किन सताउँदैछ मनरोगले ?

२०७८ माघ  २२ गते ८:३३ २०७८ माघ २२ गते ८:३३
किन सताउँदैछ मनरोगले ?

कलिला बालबालिका किन आत्महत्या गर्न उक्सिंदैछन् ? किशोर-किशोरीहरू किन लुकीछिपी लागूऔषधको लतमा फसिरहेका छन् ? दम्पतीहरू किन सम्बन्धविच्छेद गर्दैछन् ?

यी सबैको एउटै जवाफ हो, उनीहरुको मनोदशा ठीक छैन । के कारणले मनोदशा बिग्रिंदैछ त ? यसको पनि एउटै जवाफ छ, आपसी संवाद टुटेको छ । अर्थात् एकर्कासँग कुराकानी, भलाकुसारी गर्ने प्रवृत्ति हराएको छ । आफ्नो समस्या आफैंभित्र गुम्स्याएर बसेका छन् । यसैले उनीहरुको मूड खराब छ । मनस्थिति बिथोलिएको छ ।

बालबच्चाहरुसँग खेल्ने साथी छैनन् । बुढापाकाहरुसँग भलाकुसारी गर्ने आफन्त छैनन् । पढ्दै गरेका किशोर, करियरका खोजीमा लागेका युवा, पेशा-व्यवसाय गरिरहेका पुरुष, घरगृहस्थी सम्हालिरहेका गृहिणी सबै आ-आफ्नै दौडधूपमा छन् ।

कसलाई के समस्या छ, कसको मनमा के खेलिरहेको छ, को कस्ता अप्ठ्यारासँग जुधिरहेका छन् ? एकअर्कालाई थाहा पत्तो छैन । किनभने आपसमा संवाद गर्ने क्रम टुटेको छ ।

अहिले मोबाइल, टेलिभिजन जस्ता उपकरणले मान्छेको दूरी बढाइदिएको छ ।

एउटै ओछ्यानमा सुतेका दम्पती, एउटै सोफामा बसेका परिवारका सदस्य फेसबुक जस्ता सामाजिक सञ्जालमा यसरी लिप्त हुन्छन्, उनीहरुलाई हामी एकसाथ बसिरहेका छौं भन्ने कुरा पनि महसुस हुँदैन । सबै आ-आफ्नै दुनियाँमा हराइरहेका हुन्छन् ।

कसैलाई केही समस्या भएमा आपसमा सर-सल्लाह गर्दैनन् । बरु, गुगल सर्च गर्छन् । जबकि गुगलले दिने सबै नतिजा सही र तथ्यपरक हुँदैनन् ।

जस्तो, कसैलाई राम्ररी निद्रा लागिरहेको छैन । राति अचानक निद्रा बिथोलिन्छ । तब उनले आफैंसँग सुतेका श्रीमान् वा श्रीमतीलाई आफ्नो समस्या भन्दैनन् । आफ्नो समस्या गुगलमा खोज्न थाल्छन् । गुगलले त्यसको असंख्यौं जवाफ देखाइदिन्छ, जुन आफैंमा विश्वसनीय नहुन सक्छ । तर, गुगलको नतिजामा भर परेर उनीहरू आफैंमाथि मानसिक बोझ थपिरहेका हुन्छन् ।

जब हामी कुनै कुराले चिन्तित हुन्छौं, तब एक्लै बस्ने । घर वा कोठाबाट बाहिर ननिस्कने । काममा नजाने, जमघटमा नपुग्ने गर्छौं । जति-जति हामी एक्लिंदै जान्छौं, उत्ति नै हाम्रो समस्याको जरा गहिरिंदै जान्छ । सामान्य चिन्ता वा तनावले एन्जाइटी अनि डिप्रेसनको रुप लिन्छ । यो समस्या अरु बढ्दै जाँदा हामी कडा किसिमको मानसिक समस्याले ग्रसित हुन्छौं । यतिबेला हामी समाज, आफन्त, घरपरिवारबाट एक्लिएर बस्न थाल्छौं । हामीलाई आफ्नै जीवन बोझ लाग्न थाल्छ । आफ्नै जीवन निरर्थक लाग्न थाल्छ । आफ्नै जीवन महत्वहीन लाग्न थाल्छ । हामीमा उत्साह, उमंग, उर्जा रहँदैन । यही मोडमा पुगेपछि हामीलाई लाग्न थाल्छ, बाँचेर केही छैन ।

योग, ध्यान, व्यायाम जस्ता विधि मानसिक स्वास्थ्यका लागि सर्वोत्तम मानिन्छ । त्यससँगै नियमित दिनचर्या, सुत्ने र उठ्ने नियमित तालिका, सन्तुलित खानपानले मानसिक रुपमा बलियो बनाउँछ ।

जब बाँच्नुको उत्साह नै सेलाउन थाल्छ, तब हामी आफैंलाई समाप्त गर्ने यत्न गर्छौं । गलामा पासो लगाउने, विष सेवन गर्ने, खोलामा हाम फाल्ने जस्ता कृत्य गर्न उक्सन्छौं ।

भनिन्छ, धेरैजसो अवस्थामा महिलाहरू आत्महत्याको लागि प्रयास गरिरहेका हुन्छन् । तर, आत्महत्याको आँकडाले पुरुषको संख्या बढी देखाउँछ । अर्थात् आत्महत्याको प्रयास गर्नेमा महिलाहरू बढी भए पनि आत्महत्या नै गर्नेमा पुरुष बढी छन् ।

अझ डरलाग्दो तथ्यांक त के पनि छ भने, बालबच्चाहरू समेत आत्महत्या गर्न उक्सिएका छन् । १८ वर्ष मुनिकाे आत्महत्या दर कहालीलाग्दो छ ।

मैले के पनि सुनिरहेको थिएँ भने, कोरोना कालमा कोरोना संक्रमणबाट जति मान्छेको मृत्यु भयो सो अवधिमा आत्महत्या गर्नेको संख्या पनि कम थिएन ।

मान्छेले आफ्नो जीवनलाई असाध्यै माया गर्छन् । हरतरहले बाँच्न खोज्छन् । तर, कहिलेकाहीं मान्छेको मनस्थिति यसरी बिग्रन्छ कि, आफ्नो प्राण आफैंले हत्याउने धृष्टता गर्छन् । कुनै पनि मान्छेले अनायासै वा अचानक आत्महत्या गर्ने निर्णय गर्दैनन् ।

आत्महत्या गर्नुअघि मान्छेले केही संकेत दिन्छन् । जस्तो कि, उनीहरूले ‘मलाई बाँच्न मन छैन’ भनिरहेका हुनसक्छन् । सुत्ने, उठ्ने, खाने तालिका गडबड भइरहेको हुन्छ । एकान्तमा बस्न रुचाउँछन् । तर, परिवारका सदस्यहरूलाई यस कुराको थाहा पत्तो हुँदैन । किनभने सबै जना आ-आफ्नै धुनमा हुन्छन् । आपसमा कुराकानी, छलफल गरिरहेकाे हुँदो हो त यस्ता संभावित दुर्घटनालाई धेरै हदसम्म टार्न सकिन्छ ।

हामी सबैमा कुनै न कुनै समस्या हुनसक्छ । अतः त्यो समस्यालाई हामीले कसरी लिन्छौं, त्यसबाट हामी भयभीत हुन्छौं वा त्यससँग जुध्छौं ? यो कुरा हाम्रो अवस्था, परिवार, छिमेक, साथीभाइ आदिमा पनि निर्भर हुने रहेछ । यदि कुनै पनि कुरामा सरसहयोग गर्ने, सकारात्मक सोच चिन्तन राख्ने, स्वस्थ जीवनयापन गर्नेहरूलाई यस्तो समस्याले खासै असर गर्दैन । उनीहरूले कुनै न कुनै रुपमा समस्याको हल खोज्छन् । र, जीवनलाई सुन्दर ढंगले व्यतित गर्छन् ।

हामी समाजमा विभिन्न खालका समस्यासँग जुधिरहेका हुन्छौं । तर, आफ्नो समस्यालाई, आफ्नो दुःखलाई, आफ्नो अप्ठ्यारोलाई कुन रुपमा लिने ? यो हामी स्वयंमा भर पर्ने कुरा हो ।

मानसिक रुपमा हामी तगडा, तन्दुरुस्त छौं भने हाम्रो जीवन पनि ठीकठाक हुन्छ । समस्याहरू त आउँछ, जान्छ । परिस्थिति ठूलो कुरो होइन, मनस्थिति सही हुनुपर्छ ।

तर, हाम्रो मनस्थिति ठीक छ त ?

हामी अधिकांश मानसिक रुपमा कमजोर र शिथिल भइरहेका छौं । किनभने हामीकहाँ मानसिक स्वास्थ्यप्रति खास चासो र सरोकार राखिएको छैन । अध्ययनको सिलसिलामा लन्डन पुगेको बेला एउटा चाखलाग्दो कुरा थाहा पाएँ, त्यहाँ मानसिक स्वास्थ्यप्रति सबैलाई जागरुक बनाइने रहेछ ।

हाम्रो समाजमा भने भित्रभित्रै मानसिक समस्याले विकराल रुप लिइरहेको छ । हरेकजसो मान्छे कुनै न कुनै किसिमको मानसिक समस्याबाट गुज्रिरहेका छन् । चिन्ता, तनाव, एन्जाइटी, डिप्रेसनको चक्रव्यूहमा फँस्दैछन् । किन यस्तो हुँदैछ ? यसको एउटा मात्र जवाफ छैन ।

मान्छे, उमेर, भूगोल अनुसार आ-आफ्नै किसिमको समस्या छ । गृहिणीहरू एकनासको दैनिकीबाट दिक्क छन् । घर-व्यवहार चलाउनेहरू आर्थिक असुरक्षाले चिन्तित छन् । बालबच्चाहरू एक्लोपनले सताइएका छन् । किशोरहरू पुस्ता-अन्तरको चपेटामा छन् ।

हाम्रो सोच चिन्तन, दिनचर्या, खानपान, साथी-संगत, पारिवारिक अवस्था धेरै कुराले मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ ।

सुन्दा अनौठो लाग्छ, हावापानीले समेत मानसिक स्वास्थ्यमा असर गर्छ । प्राय: धुम्म हुने, घाम नलाग्ने ठाउँको मान्छेहरुमा मानसिक समस्या बढी हुन्छ । यसो हुनुमा घामको प्रत्यक्ष सम्पर्कमा नरहनु पनि हो । खासगरी भिटामिन डीको अभावले समेत मानसिक स्वास्थ्य ठीक हुँदैन ।

मानसिक रुपमा स्वस्थ कसरी हुने त ? यसबाट मुक्त हुन कुनै औषधि वा उपचारको जरुरत छ त ? खासमा मानसिक समस्याको समाधान भनेको आफू स्वयम् मानसिक रुपमा तन्दुरुस्त हुनु हो । आफूलाई सकारात्मक राख्ने, उत्साहित र आशावादी राख्ने बानीको विकास गर्नुपर्छ । कुनै चिन्ता वा तनावबाट तुरुन्त मुक्त हुन गहिरो सास लिने, छाड्ने विधि पनि प्रभावकारी हुन्छ । योग, ध्यान, व्यायाम जस्ता विधि मानसिक स्वास्थ्यका लागि सर्वोत्तम मानिन्छ ।

त्यससँगै नियमित दिनचर्या, सुत्ने र उठ्ने नियमित तालिका, सन्तुलित खानपानले मानसिक रुपमा बलियो बनाउँछ । त्यससँगै हामीले अपनाउनुपर्ने पर्ने मुख्य कुरा भनेको, आपसी संवाद हो । श्रीमान् र श्रीमती खुलेर कुराकानी गरौं, आमाबुवा र बालबच्चा निर्धक्क कुराकानी गरौं । साथीभाइ, सहकर्मी, छिमेकी, आफन्तसँग निष्फिक्री कुराकानी गरौं ।

कुनै कुराले तनाव भएमा कोठाभित्र एक्लै नबसौं । बाहिर हिंडडुल गरौं, साथीभाइसँग भेटौं, गफ गरौं, खेतीपातीको काम गरौं ।हामीले अहिले मानसिक स्वास्थ्यलाई लक्षित गरेर केही अभियान पनि सञ्चालन गरिरहेका छौं । यस अन्तर्गत तपाईंहरू जो कोहीले हामीसँग जोडिएर आफ्नो समस्याको हल खोज्न सक्नुहुन्छ । ‘ह्याप्पी माइन्ड डट हेल्थ’ अन्तर्गत तपाईंहरुको समस्या सुन्ने र त्यसका लागि आवश्यक परामर्श दिन हामी हरदम तयार छौं ।

तस्वीर/भिडियो : शंकर गिरी

डिप्रेसन मनोरोग
लेखक
श्रेय गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?