+
+

प्रदेश १ मा फेरि फुटाइयो मन्त्रालय, आज शपथ

हरि अधिकारी हरि अधिकारी
२०७८ माघ २३ गते ९:०७

२३ माघ, विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्‍याइएको छ ।

आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री कार्यालयले स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई मुख्यमन्त्री राजेन्द्र राईले चार वटा मन्त्रालय दिने तयारी गरेका थिए । तर नेपाली कांग्रेसले पाँच वटा पाउनुपर्ने दाबी नछाडेपछि मन्त्रालयको संख्या बढाएको हो । यद्यपि सरकारले मन्त्रालय विभाजन गरेको निर्णय औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

को-को बन्दैछन् मन्त्री ?

गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका राईले सोही दिन पाँच सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । प्रदेशमा रहेका सात वटा मन्त्रालय विभाजन गरी १३ बनाएपछि आज थप ८ जना नियुक्ती गर्ने तयारी गरेका छन् ।

शपथग्रहण अघि गठबन्धनको बैठक बस्दैछ । आइतबार नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन-तीन र माओवादी केन्द्रबाट दुई जनाले मन्त्रीको शपथ ग्रहण गर्नेछन् ।

माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्ने निश्चित भएको छ । नेकपा एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु, उपेन्द्र घिमिरेको नाम फाइनल भएको छ ।

नेपाली कांग्रेसले प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापाको नाम अघि सारेको छ । तीन जना सभापति शेरबहादुर देउवा निकट हुन् । मन्त्री बन्नेको नाम लगभग फाइनल भएको कांग्रेसका एक नेताले बताए । ‘केन्द्रबाट आएको लिष्ट हो यो,’ ती नेताले भने, ‘डाक्टर शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरिरहेको छ ।’

नेकपा एकीकृत समाजवादीका नेता राईले नेतृत्व गरेको सरकारमा हाल नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्र र जसपाबाट एक-एक जना मन्त्री छन् । एक जना राज्यमन्त्री छन् । मन्त्रिपरिषद् विस्तारपछि कांग्रेसका पाँच, नेकपा एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका तीन र जसपाका एक जना मन्त्री रहने छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन् ।

कुन-कुन मन्त्रालय ?

प्रदेश १ मा यसअघि सात मन्त्रालय थिए । सात मन्त्रालय विभाजन गरी प्रदेश सरकारले गत आइतबार १२ बनाएको थियो । भागबण्डा पुर्याउनका लागि पुनः मन्त्रालय थपिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको क्षेत्रभित्र रहेको सञ्चारलाई अलग गरिएको छ । यसैगरी भूमि, सहकारी तथा यातायात व्यवस्था मन्त्रालयको सहकारीलाई अलग गरिएको छ र ‘सञ्चार तथा सहकारी’ भनेर नयाँ मन्त्रालय बनाइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । यद्यपि यो निर्णय भने सार्वजनिक भएको छैन ।

प्रदेश १ को मन्त्रिपरिषद् यस्तो छ:

१. राजेन्द्रकुमार राई – मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२. ईन्द्रबहादुर आङ्बो -आर्थिक मामिला तथा योजना मन्त्रालय
३. केदार कार्की -आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. हिमाल कार्की – सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
५. रामकुमार राई- खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय
६. राजन राई – सामाजिक विकास मन्त्रालय
७. जयराम यादव -स्वास्थ्य मन्त्रालय
८. ओमप्रकाश सरावागी-उद्योग, श्रम तथा रोजगार मन्त्रालय
९. शेखरचन्द्र थापा – वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय
१०. खिनु लङ्वा(लिम्बु) पर्यटन तथा संस्कृति मन्त्रालय
११. झलकबहादुर मगर – कृषि मन्त्रालय
१२. प्रतापप्रकाश हाङगाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण व्यवस्था मन्त्रालय
१३. उपेन्द्रप्रसाद घिमिरे – यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय
१४. विष्णु तुम्बाहाम्फे (राज्यमन्त्री)- सामाजिक विकास मन्त्रालय

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?