+
+

सम्झनामा लता मंगेशकर : ३६ भाषामा ५० हजार गीत रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ११:३८

२३ माघ, काठमाडौं । भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएको हो ।

लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको  थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । करिब पाँच दिनअघि उनको स्वास्थ्यमा सुधार आएको खबर पनि सार्वजनिक भएको थियो ।

लतालाई भारतमा ‘स्वर कोकिला, दिदी र ताई’ जस्ता उपनामले पनि बोलाइन्छ । विश्वभरका उनका लाखौं फ्यानले उनको स्वास्थ्यमा सुधार आओस् भन्दै कामना गरे । तर, विश्वकै लोकप्रिय गायिकाले सरस्वती पूजाको दिनमा यो धर्तीलाई छाडेर बिदा भइन् ।

लता दुई वर्षसम्म घरबाट बाहिर निस्किएकी थिइनन् । उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यानसँग अन्तरक्रिया त गर्थिन्, तर कोरोना कहर सुरु भएपछि उनी घरभित्र आराम गरिरहेकी थिइन् । उनको घरमा काम गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि लतालाई ८ तारिखमा महामारीले छोएको थियो ।

३६ भाषामा ५० हजार गीत रेकर्ड

लताले ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन् । सन् १९६० देखि सन् २००० को कालखण्डमा निर्माण भएका अधिकांश चलचित्रमा लताको स्वर समावेश हुन्थ्यो । उनको स्वर विनाका चलचित्रका गीत अपूरो हुन्थे ।

उनले सन् २०१५ मा रिलिज भएको ‘डुन्नो वाय’मा अन्तिम गीत गाएकी थिइन् । लता मंगेशकर ८० वर्षसम्म गीतसंगीतमा सक्रिय रुपमा लागेकी थिइन् । सन् १९२९ सेप्टेम्बर २९ तारिखमा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले १३ सालबाटै गीत गाउन थालेकी थिइन् । लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर हुन् ।

लताको सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो । उनी ‘पद्म विभूषण, पद्म भूषण, दादा साहेब फाल्के’लगायतबाट सम्मानित भएकी थिइन् । लतालाई ६१ वर्षको उमेरमा चलचित्र ‘लेकिन’बाट ‘राष्ट्रिय अवार्ड’ समेत मिलेको थियो ।

कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ । भारतका प्रधानमन्त्री, रक्षा मन्त्रीसँगै विभिन्न दलका नेता, बलिउडकर्मी, संगीतकर्मी र उनका शुभचिन्तकले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?