
२३ माघ, बुटवल । कपिलवस्तुको कृष्णनगरका मेयर रजतप्रताप शाह नेपाली कांग्रेस प्रवेश गरेपछि जिल्ला पार्टीभित्र विवाद भएको छ । पार्टीको संस्थापन पक्षले पार्टीलाई जानकारी नै नदिई उनलाई प्रवेश गराएको भन्दै क्षेत्रीय समितिले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
जिल्लाको ३ नम्बर क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, प्रदेश सभापति ३ (ख) सभापति मुक्तेश्वर मिश्रा तथा कृष्णनगर नगर सभापति देवानन्द शुक्लाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शाहको पार्टी प्रवेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘क्षेत्रीय समिति, प्रदेश सभा ३ (ख) समिति र कृष्णनगर नगर समितिलाई जानकारी नगराई शाहको घरमा गई पार्टी प्रवेश गराउनु आपत्तिजनक मात्र नभई घोर निन्दनीय पनि रहेको छ । सिंगो पार्टीकै प्रतिष्ठामाथि आँच आउने गरी गरिएको यस कार्यको नेपाली कांग्रेस क्षेत्रीय, प्रदेश ३ (ख) र कृष्णनगर नगर समितिले घोर भत्र्सना गर्दछ’-विज्ञप्तिमा भनिएको छ ।
मेयर शाहलाई शनिबार उनकै निवास महाराजगन्जमा आयोजित कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, कपिलवस्तु-३ का प्रतिनिधिसभा सदस्य अभिषेकप्रताव शाह, जिल्ला सभापति अब्दुल कलाम, पूर्वपार्टी सभापति सुधाकर पाण्डे र नेता अतहर कमालले पार्टीमा प्रवेश गराएका थिए ।
शाहसँगै कृष्णनगर नगरपालिका-९ का वडाध्यक्ष राममिलन चौरीसहित एक हजारभन्दा बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । वडाध्यक्ष चौधरी स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट नपाएपछि शाह स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । यसअघि उनका भतिज अभिषेकप्रताप शाह पनि संघीय समाजवादी फोरम छाडेर नेपाली कांग्रेस प्रवेश गरेर गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मेयर शाहको क्षेत्रकै कांग्रेस नेता एवं लुम्बिनी प्रदेश सभामा संसदीय दलका नेता विरेन्द्र कनौडियासहित, क्षेत्रीय र नगर समितिका पदाधिकारीलाई जानकारी गराएर नै शाहलाई पार्टी प्रवेश गराएको बताए । उनले भने, ‘धेरै अगाडिदेखि संसदीय दलका नेता कनौडिया, क्षेत्रीय समिति र नगर समितिलाई कार्यक्रमको आयोजना गर्न भने पनि कुनै सुनुवाई नगरेपछि जिल्ला समितिले कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराएको हो ।’
प्रतिक्रिया 4