+
+

कमल थापाले गरे नयाँ पार्टी घोषणाको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १४:०३
राप्रपाका पूर्वअध्यक्ष कमल थापा/फाइल तस्वीर

२४ माघ, काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको संकेत गरेका छन् ।

पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् ।

शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उनले स्थानीय तहको निर्वाचन घोषणा गर्दा समेत आफ्ना मुद्दा संवोधन नभए विकल्प खोज्ने बताए ।

उनले भने, ‘मैले उठाएका सैद्दान्तिक, सांगठनिक र वैचारिक पक्षहरु सम्बोधन भएन भने विकल्प खोज्नुपर्ने हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस् ।’

आफूले विकल्प खोजेको अवस्थामा साथ दिन समेत उनले नेताहरुलाई आग्रह गरे । उनले अघि भने, ‘म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’

यद्यपि आफूले उठाएका विषयहरु संवोधन भए राप्रपामै बस्न तयार रहेको समेत उनले बताएका छन् । भेलामा सहभागी राप्रपा पदाधिकारीहरुले भने अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् ।

थापासँगको भेटपछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै राप्रपाका उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गरे । उपाध्यक्ष प्रधानले थापा पार्टी एकताकै पक्षमा रहेको बताए ।

पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको दावी गरिन् । उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने बताइन् ।

थापा निकटवर्तीहरुका अनुसार उनले नयाँ पार्टी खोल्ने तयारी गरिसकेका छन् । कोरोनाको तेस्रो लहरका समयमा उनले विधान, राजनीतिक प्रस्ताव लगायतका काम गरेका छन् । सोमबार नै गृहजिल्ला मकवानपुर हिँडेका उनले जिल्लाका नेता कार्यकर्तासँग सम्वाद गर्ने छन् । त्यसपछि निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?