+
+

वीपी प्रतिष्ठान सम्हाल्न पुगेका डा‍. यादवलाई कर्मचारीको असहयोग, काठमाडौं फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १७:४३

२५ माघ, काठमाडौं । आर्थिक तथा प्रशासनिक अधिकारसहित धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्हाल्न पुगेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव काठमाडौं फर्किएका छन् ।

प्रतिष्ठानका कर्मचारीले काममा हस्तक्षेप गरेको भन्दै उनी काठमाडौं फर्किएका हुन् । प्रतिष्ठानको नियमावलीमा आर्थिक अधिकार उपकुलपति प्रमुखलाई मात्रै हुने भन्दै कर्मचारीको असहयोग भएपछि थप छलफलका लागि स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्रीलाई भेट गर्न आफू सोमबार काठमाडौं आएको उनले बताए ।

‘प्रतिष्ठानको नियमावलीमा आर्थिक अधिकार उपकुलपति प्रमुखलाई मात्रै हुने भन्दै असहयोग भयो । प्रतिष्ठानको ऐनले नचिन्ने भन्दै बैंक खाता खोल्न समेत अवरुद्ध भयो,’ डा. यादवले अनलाइखबरसँग भने ।

मन्त्रिपरिषद्को निर्णयले यादवलाई प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक क्षेत्र सम्हाल्ने गरी जिम्मेवारी दिएको थियो । तत्काल उपकुलपति डा. ज्ञानेन्द्र गिरी लगायतका अन्य पदाधिकारीलाई काममा रोक लगाएको छ । ‘उहाँहरुले प्रतिष्ठानको ऐन र नियमावलीले विपरीत काम नहुने भन्दै काममा असहयोग गर्नुभयो,’ डा. यादवले भने, ‘ थप स्पष्टता हुनका लागि स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्रीलाई भेट्न आएको हुँ ।’

यसविषयमा स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा आवश्यक सल्लाह गर्ने उनको भनाइ ।
‘आर्थिक अधिकार नपाएपछि काम गर्न धेरै समस्या भयो । त्यसैले मन्त्रालयबाट तथा प्रधानमन्त्रीका कार्यलयबाट के निर्देशन आउँछ त्यही अनुरुप चल्छु,’ डा. यादव भन्छन् ।

सरकारले वीपीको बेथेती सुधारलाई निकास दिन डा.यादवलाई ३० पुसमा आर्थिक, प्रशासनिक कार्य सञ्चालन गर्न डा.यादवलाई पठाउने निर्णय गरेको थियो । उनीसँगै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एकजना उपसचिव पठाउने पनि उक्त निर्णय भएको थियो । उक्त निर्णय बमोजिम डा.यादव र महालेखाले खटाएका कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवी अधिकारी माघ १० गते प्रतिष्ठान पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?