२६ माघ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् ।
सरकारले फागुन १ गतेदेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भन्दै नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले सबै क्षेत्र खुला हुँदा विद्यालय मात्रै बन्द गरेर बालबालिकालाई सिकाइबाट वञ्चित गराउनुहुँदैन भनेर खोल्ने निर्णय भएको बताउँछिन् । उनले भनिन्, ‘पार्टी प्यालेस, सार्वजनिक यातायात, बिहे, भोज सबै खुला छ । विद्यालय मात्रै बन्द गरेर बालबालिकालाई पढ्नबाट वञ्चित गराउनुहुँदैन भनेर खोल्न निर्णय गरेका हौं ।’
नगरपालिकामा अनलाइन कक्षाको पहुँचमा भएका बालबालिकाको संख्या न्यून भएको र पहुँचमा भएकाहरु पनि पढाइमा भन्दा अन्य कुरामा भुलिएको अभिभावकको गुनासो आएपछि अभिभावकको सहमतिमा विद्यालय खोल्ने निर्णय भएको उनले बताइन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिरहेको नगरपालिकाले दाबी गरेको छ ।
बालबालिकालाई दोस्रो डोजको खोप पनि नगरपालिकाले लगाउन थालेको छ ।
तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4