+

टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित

२०७८ माघ  २९ गते १५:०४ २०७८ माघ २९ गते १५:०४
टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित

२९ माघ, काठमाडौं । चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।

ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए । राष्ट्रिय टिममा डेब्यू गरेका बमले भने ३३ रन बनाउँदै सुखद संकेत देखाए ।

नियमित ओपनर कुशल भुर्तेललाई लगातार दोस्रो खेलमा आराम दिँदा नेपालले शनिबार ओपनिङ जोडीमा परिवर्तन गर्दै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ सेखलाई ल्याएको थियो ।

पहिलो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । तर त्यसपछि भने नेपालको रन गति कम भयो । ज्ञानेन्द्र १९ बलमा २२ रन बनाएर आउट भए । दोस्रो विकेटको रुपमा दशौँ ओभरमा आउट भएका आसिफले २९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे ।

शुक्रबार ओमानविरुद्धको खेलमा अविजित ७३ रन बनाएर नेपाललाई जिताएका दीपेन्द्रले शनिबारको खेलमा ३३ बल खेल्दै ५ चौका मद्दतमा ४१ रन बनाए ।

युएईका लागि रोहन मुस्ताफा र कासिफ दाउदले २-२ तथा जुनैद सिद्दिकीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरुप खेलिएको चार देशीय सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । अब नेपालले यो सिरिजको अन्तिम खेल सोमबार आयरल्याण्डसंग खेल्नेछ ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय