२९ माघ, काठमाडौं । विमल घर्ती मगरको उत्कृष्ट प्रदर्शनमा लिग लिडर मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।
यस जितले मछिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दीमाथि ६ अंकको अग्रता बनाएको छ । हारपछि पुछारमा रहेको च्यासललाई भने रेलिगेसनको दबाव बढेको छ ।
दशरथ रंगशालामा भएको खेलमा विमलले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे । खेलको १७औं मिनेटमा रञ्जित धिमालको कर्नरमा विमलले ब्याक हेडरमार्फत पहिलो गोल गरेका थिए । उनकै सहयोगमा ३५औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरे ।
जारी लिगमा अपराजित रहेको मछिन्द्रले १० खेलबाट २६ अंक जोड्दै उपाधि रक्षा अभियानलाई अझ बलियो बनाएको छ ।
दोस्रो स्थानको मनाङ शनिबार थ्रीस्टार क्लबसँग १-१ को बराबरीमा रोकिएपछि मछिन्द्रले ६ अंकको अग्रता हासिल गरेको हो । च्यासल भने १० खेलबाट ५ अंकसहित पुछारमा रहेको छ ।
प्रतिक्रिया 4