१ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले न्यायपालिकामा देखिएको अवरोध हटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बताएको छ ।
आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रवक्ता डा. प्रकाशशरण महतले न्यायालयमा देखिएको अवरोध अड्चन हटाउन सांसदहरुले बाटो खोलिदिएको टिप्पणी गरे ।
‘लामो समयदेखि सर्वोच्च अदालत अवरुद्ध थियो । त्यसबाट जनताले न्याय पाउने कुरा पनि अवरुद्ध भएको थियो । बार, सर्वोच्च अदालतका न्यायाधीश, प्रधानन्यायाधीशबीचमा छलफल गरेर अवरुद्ध प्रक्रियालाई समाप्त गरी न्याय सम्पादन कानुन, संविधान अनुसार अगाडि बढोस् भन्ने समग्र चाहना थियो । … त्यो अनुसार अगाडि नबढेको अवस्थामा सांसद साथीहरुले यो अड्चन र अवरोधको बाटो खुल्नुपर्छ भन्ने मनसायबाट यो प्रस्ताव गएको भन्ने जानकारी आएको छ’ उनले भने ।
आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा नेताहरुले बोल्ने क्रम सकिएको छ । अब फागुन ३ गते बैठक बसेर निर्णय सार्वजनिक गर्ने प्रवक्ता डा. महतले बताए ।
प्रवक्ता महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा निर्णयार्थ पेश गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान सञ्चालन गर्ने निष्कर्षमा कांग्रेस पुगेको पनि बताए ।
‘एमसीसी पास गर्ने कुरामा त हाम्रो पार्टीमा कुनै विमति छैन । एमसीसीबारे भ्रमण चिर्न देशव्यापी अभियान चलाउने, संसदमा पनि यो प्रस्ताव लगेर पास गराउने अभियानमा पनि पार्टी पूर्ण रुपमा लाग्ने र हाम्रो संसदीय दलको बैठकमा पनि हुन्छ । त्यो नै निष्कर्ष पार्टीको हो’ उनले भने ।
आइतबारको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियारले धारणा राखेका थिए ।
त्यस्तै कार्यसम्पादन समितिका सदस्यहरु विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउदले पनि धारणा राखेका थिए ।
प्रतिक्रिया 4