+
+

उत्तरी गोरखाको माछिखोलासम्म पुग्यो बस, १०४ वर्षीया वृद्धाले गरिन् स्वागत

विकास मरहट्टा विकास मरहट्टा
२०७८ फागुन २ गते १०:४६

२ फागुन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका केन्द्र माछिखोलामा पहिलो पटक यात्रुबाहक बस पुगेको छ । आइतवार पुगेको ग १ ख ९४४० नम्बरको बसलाई स्थानीयले स्वागत गरे ।

१०४ वर्षीया स्थानीय पुर्नी गुरुङले चालक र सहचालकलाई खादा ओढाएर स्वागत गरिन् । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले रिबन काटेर माछाखोलामा बस सेवा शुरु भएको घोषणा गरे ।

जिल्लाको ग्रामिण भेगमा सेवा दिंदै आएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले माछिखोलासम्म बस सेवा शुरु गरेको हो । यसअघि प्रालिले आरुघाटको सोतीसम्म बस सन्चालन गर्दै आएको थियो । अब माछिखोलासम्म नियमित बस चल्ने प्रालिका आर्थिक संयोजक शरण गुरुङ (चुर्ण) ले बताए । ‘गाउँपालिकाले धेरै अनुरोध गरेपछि बस चलाउन सक्ने अवस्था छ कि छैन भनेर हामीले बाटोको निरीक्षण गरेका थियौं,’ उनले भने, ‘केही ठाउँमा मर्मत गर्नुपर्ने देखियो, पालिकाको समन्वयमा मर्मत गर्यौं अनि बस चलाउन थालेका हौं ।’

उनका अनुसार तत्कालका लागी माछिखोलाबाट दुई वटा बस छुट्ने व्यवस्था गरिएको छ । ‘एउटा बिहान छुट्छ, अर्काेले रात्रिकालीन सेवा दिन्छ, केही दिनपछि अरु गाडीहरु पनि थप्छौं,’ उनले भने । माछिखोलाबाट छुट्ने बस आरुघाट, गोरखा बजार हुँदै काठमाडौं जाने उनले जानकारी दिए ।

गाउँमा बस सेवा शुरु भएपछि स्थानीय खुशी छन् । आउजाउसँगै सामान ढुवानीमा पनि सहज हुने उनीहरुको अपेक्षा छ । यसअघि सोतीदेखि माछिखोलासम्म निजी जिपहरुले ट्राफिक नियम उल्लंघन गर्दै यात्रु ओसार पसार गर्दै आएका थिए । क्षमताभन्दा बढी यात्रु कोच्ने र मनपरी भाडा असुल्ने गर्दा स्थानीय हैरान थिए ।

सोतीदेखि माछिखोलासम्मको दुरी करिब १३ किलोमिटर मात्र भए पनि जीपहरुले प्रतियात्रु पाँच सय रुपैयाँ भाड लिने गर्दथे । तर बसको भाडा भने १५० रुपैयाँ मात्रै निर्धारण गरिएको छ ।।

बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक आयोजना अन्तरगत धार्चे गाउँपालिकाको हावाडाँडादेखि तिब्बत जोड्ने सडकको ट्रयाक खन्ने काम नेपाली सेनाले गरिरहेको छ । चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवाससम्म ट्रयाक पुगिसकेको छ । सोही आयोजना अन्तरगत नेपाली सेनाले सडक खनेपछि माछिखोला यातायात सञ्चालन हुन थालेको हो ।

अब सडक मर्मतका लागि सम्बन्धित निकायमा पहल गर्ने र ट्राफिक कार्यालयसँग समन्वय गरेर ठाउँठाउँमा ट्राफिक चिह्नहरु राखिने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?